खोटाङ । खोटाङको साकेला गाउँपालिकाले दशैंको मुखमा वडा–वडामा शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । गाँउपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को प्रथम चौमासिक भत्ता वितरण सुरु गरेको हो ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईका अनुसार, विशेषगरी वृद्ध, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएको हो । अध्यक्ष राईले भने, “लक्षित वर्गलाई दुःख नहोस् भनेर घर पायक पर्ने गरी शिविर राखेर भत्ता वितरण गरिएको हो ।”
शिविरमा गाउँपालिका र नेपाल एसबिआई बैंकका कर्मचारीहरूको संयुक्त टोली खटिएका छन् । साकेला गाउँपालिकामा यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा १ हजार ३३३ जना लाभग्राही भत्ता प्राप्त गर्न योग्य रहेको सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले जानकारी दिए ।
संयोजक चाम्लिङका अनुसार गाउँपालिकाले रु. १ करोड ३४ लाख २० हजार ४२५ रुपैयाँ निकासा गरेको बताए । भत्ता वितरण प्रक्रिया वडा नं. २ स्थित रतन्छाको वडा कार्यालयबाट सुरु भएको छ । उत्त वडामा ११७ जना लाभग्राहीलाई रु. १७ लाख ३६ हजार वितरण गरिएको नेपाल एसबिआई बैंकका प्रबन्धक मेदानी प्रसाद रिजालले बताए ।
लगातार छ दिनसम्म चल्ने शिविरमा ५ नम्बर वडा कार्यालय मात्तिमबिर्तामा भत्ता वितरण सकिएको संयोजक राईको भनाई छ । असोज १५ गते ३ नम्बर वडा कार्यालय खिदिमा, असोज १६ गते ४ नम्बर वडा कार्यालय मात्तिम, असोज १८ गते १ नम्बर वडा कार्यालय बाँझेच्यानडाँडा र असोज २० गते चण्डेश्वरी आधारभूत विद्यालय १ नम्बर वडामा पुगेर शिविर टुङ्गिने गाउँपालिकाले जनाएको छ । हिँडडुल गर्नै नसक्ने कतिपय अशक्तहरूलाई भने बैंक र गाउँपालिका कर्मचारीलाई घरघर खटाएर समेत बैङ्किङ सुविधा प्रदान गरिने व्यवस्था गरिएको साकेला गाँउपालिका उपाध्यक्ष विर्सिका राईले बताए ।
यसले गाउँपालिकाको नागरिक प्रति उत्तरदायी प्रशासनको प्रतिबद्धता देखाउँछ । यद्यपि, शिविरस्थलमा उपस्थित हुन नसक्ने लाभग्राहीहरूका लागि पनि विकल्प राखिएको छ । उनीहरूले देशभरका जुनसुकै बैंक शाखाबाट आफ्नो भत्ता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । पालिकाले संञ्चालन गरेको शिविरले विशेषगरी वृद्ध, अशक्त र अपाङ्गता भएका व्यक्तिहरूलाई आफ्नो अधिकार र सुविधा प्राप्त गर्न सहज बनाएको छ ।