पोखरा । सूर्यदर्शन बचत तथा सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटी वा जमानतमा छाड्ने कानुनी व्यवस्था रहेको भन्दै सर्वोच्च अदालतले प्रहरीको ध्यानाकर्षण गराएको छ ।
न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुलअजिज मुसलमानको संयुक्त इजासले गोर्खा मिडिया नेटवर्क प्रालिका संस्थापक सेयरहोल्डर तथा सञ्चालकसमेत रहेका जोशीका सम्बन्धमा बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीको ध्यानाकर्षण गराएको हो ।
आदेशमा भनिएको छ, ‘…उल्लिखित कसुरमा हालसम्मको अनुसन्धानको अवस्था र आउँदो दसैं बिदाको अवधिसमेतलाई विचार गर्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५(१) मा अनुसन्धान अधिकारीले हिरासतमा रहेको व्यक्तिबाट धरौट वा जमानत लिई तारेखमा राख्नसक्ने व्यवस्था रहेको सन्दर्भमा सो व्यवस्थाको प्रयोगतर्फ ध्यानाकर्षणका लागि विपक्षी जिल्ला प्रहरी कार्यालय कास्कीको नामा लेखी पठाइ नियमानुसार गर्नू ।’
जोशी पक्राउ परेपछि उनको परिवारका तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको थियो । सो रिटको सुनुवाइ गर्दै सर्वोच्चले जोशीलाई गैरकानुनी रूपमा हिरासतमा राखेको भन्न भने नमिल्ने ठहर गरेको छ ।
अनुसन्धानका लागि दोस्रोपटक गत ११ असोजमा ७ दिनको म्याद थपेर हिरासतमा राखिएका जोशीका सम्बन्धमा सर्वोच्चले भनेको छ, ‘हालसम्मका प्राप्त कागजातहरू हेर्दा २ असार २०७७ को सहकारीको गोर्खा फाइनान्समा रहेको चेकबाट १० लाख यी निवेदकले भुक्तानी लिएको भनी उल्लेख भएकामा सोही दिन निज निवेदकले गीतेन्द्रबाबु राईको नाममा बैंक चेकमार्फत सो १० लाख फिर्ता गरेको भन्ने देखिएको छ, २३ असोज २०७८ देखि यी निवेदक गोर्खा मिडिया नेटवर्क प्रालिबाट अलग भइसकेको देखिन्छ ।’ अदालतले १७ असोज (आज)देखि बडादसैंको लामो बिदा अवधि प्रारम्भ हुने उल्लेख गरेको छ ।
जोशीलाई काठमाडौंमा ६ असोजमा पक्राउ गरी सो दिन हवाईजहाजमार्फत पोखरा ल्याइएको थियो । त्यसको भोलिपल्ट उनलाई कास्की जिल्ला अदालतले पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको थियो । दोस्रोपटक थपिएको ७ दिनको म्याद १७ असोज (आज घटस्थापना)देखि सकिँदै छ ।
सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले सूर्यदर्शन सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुनअनुसार कारबाही गर्न सिफारिस गरेकामा गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा अनुसन्धानका लागि काठमाडौं महानगरपालिका–१ नक्साल घर भएका ५९ वर्षीय जोशी पक्राउ परेका हुन् ।
देशका विभिन्न पाँच सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ लगिएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ । जोशी सञ्चालक हुँदा पोखराको सूर्यदर्शन, चितवनको साहारा, बुटवलको सुप्रिम र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट सो रकम लगिएको उल्लेख छ । गोर्खा मिडियामा सूर्यदर्शनको मात्रै ५ करोड रुपैयाँ गएको देखाइएको छ ।
यता, कास्की प्रहरीले सरकारी वकिलको कार्यालयसमक्ष बयान लिएर अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले बताए ।