नेपाल आफैंमा पर्यटनमैत्री देश हो । यहाँको प्राकृतिक भूबनोट, मानिसको व्यवहार, सांस्कृतिक विविधता, साहसिक यात्राका लागि सम्भावना तथा मनोरम दृश्य यसका आधार हुन् ।
नेपालले बेलाबेलामा पर्यटन व्यवसाय प्रवर्धनका लागि नीति तथा कार्यक्रम पनि बनाइरहेको छ । कार्यक्रम कार्यान्वयनमा आएका पनि छन् । तर, पर्याप्त भने छैनन् ।
विभिन्न योजनाहरूले केही न केही प्रतिफल दिएका पनि छन् । १६औं योजना अनुसार पर्यटन क्षेत्र विकास र सुदृढीकरणका लागि पर्यटन उपजहरूको विकासमा जोड दिइएको छ । त्यसैगरी, प्रचारप्रसार एवं आतिथ्यता व्यवस्थापनमा पनि सुधारको नीति लिइएको छ । पर्यटन प्रवर्धनमार्फत देशमा विकास हुने कुरा पनि प्राथमिकतामा राखिएको छ ।
पर्यटक आगमन संख्यामा वृद्धि गरी नेपाल बसाइको अवधि लम्ब्याउने कार्यक्रम पनि एक राम्रो उपाय बनिरहेको छ । पर्यटकको दैनिक खर्च रकममा कसरी वृद्धि गर्न लगाउने भनेर विशिष्टतामा पनि ध्यान दिइएको छ । रोजगारीको अवसरमा वृद्धिका लगि यसो गर्ने भनी सोच्न थालिएको छ । तर, यी सबै कुरा हुँदाहुँदै पनि पर्यटक संख्यामा वृद्धि हुन सकिरहेको छैन, कारण नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन नहुनु हो ।
यसका लागि नेपालले अरू देशसँग पनि हातेमालो गर्नुपर्छ । पर्यटनमा स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गर्न सक्नुपर्छ । पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटकीय पूर्वाधारको विकास निकै महत्वपूर्ण छ । हामीले धार्मिक, सांस्कृतिक सम्पदाको संरक्षण तथा सम्बद्र्धन गरी थप आकर्षक गन्तव्यको विकास गर्नुपर्छ ।
पर्यटकलाई सांस्कृतिक सम्पदासँग जोड्ने आकर्षक कार्यक्रम बनाइनुपर्छ । हाम्रा छिमेकी देश भारत, चीनलगायत अन्य मुलुकका पर्यटकलाई लक्षित गरी यस्ता कार्यक्रम सञ्चालनमा ल्याएका छन् । यसका साथै, स्थानीय उत्पादनलाई पर्यटकीय उपजका रूपमा प्रवर्धन गरी अग्र र पृष्ठ सम्बन्ध विकासमा जोड दिनुपर्छ । नेपालमा त ग्रामीण पर्यटनको निकै सम्भावना छ । यसका लागि पर्यटनबाट भएको आम्दानी यथोचित सुव्यवस्था, बाँडफाँट तथा वितरण गर्न सरकारले नीति तथा कार्यक्रम बनाउनुपर्छ ।
यसका साथै, पर्यटन उद्योगमा पिछडिएका समुदाय, महिला, दलित तथा आदिवासी, जो प्रकृतिसँग प्रत्यक्ष जोडिएका छन्, तिनीहरूको संलग्नतालाई प्रोत्साहन गर्नुपर्छ । यसका लागि क्षमता विकासका कार्यक्रम ल्याइनुपर्छ । यसरी पर्यटनका माध्यमबाट काम वा रोजगारी सिर्जना गरी गरिबी न्यूनीकरण गर्न मद्दत पुग्छ ।