बजारमा बढे यसपालीका दशैंगीत, धमाधम युट्युव ट्रेन्डिङमा

काठमाडौं । घटस्थापनासँगै बिहिबारबाट यो वर्षको औपचारिक दशैं सुरु भएको छ । तर सांगीतिक हिसावले यो वर्षको दशैं तीन साता अघिबाटै सुरु भएको देखिन्छ । किनकी तिज सकिएको लगत्तै दशैंलाई लक्षित गरेर नेपाली गायक गायिकाहरुले तीन साता अघिबाटै यो वर्षको दशैंगीत बजारमा ल्याएका हुन् । यसमा पनि यतिबेला सबैभन्दा बढी लोक तथा लोकदोहोरी विधाका दशैंगीतहरु बजारमा आएका छन् । यी मध्य केही गीतहरु त युट्युवको नेपाल ट्रेन्डिङमा यतिबेला छाईरहेका छन् । केही गीत ट्रेन्डिङमा माथि उक्लने तयारीमा छन् ।

यस्तै यो दशैंलाई लक्षित गरेर दुई साता अघि गायक हेमन्त शर्माले आफ्नो शब्द संगीत र स्वरमा लोक आधुनिक भाकाको उल्लासमय दशैंगीत ‘आउँथ्यो दशैं…’ बजारमा ल्याए । २२ लाख पटक युट्युव च्यानलमा हेरिसकिएको यो गीत यतिबेला नेपालको युट्युव ट्रेन्डिङमा पहिलो स्थानमा छ । दशैं गीतले पाएको यो सफलता प्रति हेमन्त खुसी छन् ।

यसपटक उनलाई यो गीतमा गायिक मेलिना राईले युगल गायनमा साथ दिएकी छिन् । बिगतमा पनि दशैंगीत ल्याएका हेमन्त वर्षमा एकपटक आउने महान चाडमा उल्लाह थप्न दर्शकको चाहना अनुसार बिगत झै यसपटक पनि दशैं गीत ल्याएको बताउँछन् । दशैं गीत नै ट्रेन्डिङमा पहिलो स्थानमा आएपछि गीतको लोकप्रियताले उनी अहिले दँग छन् ।

यस्तै दशैंको अबसरमा बजारमा आएको गीतहरुमा अहिले गायक उर्गेन दोङको गीतलाई पनि दर्शकले निकै मन पराएको छन् । उर्गेनको दशैं लाग्यो….गीत पनि युट्युवको नेपाल ट्रेन्डिङमा तेश्रो स्थानमा छ । गीतमा उनले दशैंको रमाईलो संस्कृतिलाई प्रस्तुत गरेका छन् । चार दिन अघि रिलिज भएको यो गीतले हालसम्म ५ लाख ६० हजार भ्युज पाईसकेको छ । मुलुकमा बाढी पहिरो जस्ता बिपक्ति आए पनि आफ्नो गीतलाई दर्शकले मनपराएर साथ दिएकोमा गायक उर्गेनले आभार जनाएका छन् ।

यस्तै यतिबेला चर्चामा रहेको अर्को दशैं गीत आयो है दशैं आयो…हो । यो लोक दोहोरी भाकाको यो दशैंगीत पुरुषोत्तम पौडेल र सुनिता बुढाको स्वरमा रहेको छ । दुईसाता अघि रिलिज भएको यो गीत अहिले नेपालको युट्युव ट्रेन्डिङमा पाँचौ स्थानमा पुगेको छ । विमल अधिकारीको अभिनय रहेको यो गीत पनि हर्षउल्लास भावको छ । दुई सातामा १३ लाख पटक युट्युव च्यानलमा हेरिएको यो गीतको सफलताप्रति पुरुषोत्तम र सुनिता पनि त्यत्तिकै खुसी छन् ।

यस्तै राजेश पायल राई र मेलिना राईको स्वर एवम् दीपक शर्माको संगीतमा रहेको यो वर्षको दशैं गीत दशैं रमाईलो… पनि यतिबेला युट्युब नेपाल ट्रेन्डिङमा परेको छ । दानबहादुर कार्कीले लेखेको यो गीत युट्युव ट्रेन्डिङमा यतिबेला २० औं स्थानमा छ । एक साता अघि रिलिज भएको यो गीत ट्रेन्डिङमा माथि चढ्ने क्रममा छ ।

प्रियँका कार्की, दीपाश्री निरौला, सरोज ओलीको अभिनय रहेको यो गीतलाई दर्शकले मनपराएकोमा संगीतकार दीपक शर्मा खुसले खुसी व्यक्त गर्दै राजधानीसँग भने,‘पर्वगीतहरु थोरै समयको लागि भए पनि यसले दर्शकमा उत्साह र हर्सोल्लास थप्ने गर्छ । सोही कारण हामीले यो दशैंगीत बजारमा ल्याएका हौं र दर्शकले यसलाई यतिबेला निकै मनपराउनुमा खुसी लागेको छ ।’ यस्ता अरु पनि थुप्रै दशैं गीतहरु तीन साता यताबाट बजारमा आईरहेका छन् ।

यस्तै गायक बद्री पँगेनी र गायिका प्रिती आलेको यसपटकको दशैंगीत मेरो मन गाउँमै हो…, पशुपति शर्मा र सुनिता बुढाको लोक दोहोरी गीत दशैं तिहार आउँदा…., सागर आले र अस्मिता अधिकारीको स्वरमा रहेको ससस्त्र प्रहरी बलको दशैंगीत लाहुरे म त सोल्टिनी २…, बिक्रम परियार र अस्मिता डल्लाकोटीको लोकदोहोरी दशैंगीत यो सालसँगै दशैं मनाउँला…, राजु परियारको यसपालीको दशैं तिहार, दुर्गेश थापाको दशैं हाम्रो गाउँमा… जस्ता थुप्रै दशैंगीत पनि यतिबेला चर्चामा छन् । यो वर्षको दशैंलाई लक्षित गरेर तीन साता यता पाँच दर्जन भन्दा बढी नेपाली दशैंगीतहरु बजारमा आईसकेका छन् ।

दशैंगीत हाम्रो गाउँमा हाम्रो ठाउँमा…बुधबारमात्र रिलिज गरेका गायक दुर्गेश थापाले भने,‘दशैंमा सबै नेपालीहरुमा उल्लास थप्नको लागि यो गीत सार्वजनिक गरेका हुँ । रिलिज भएको २४ घन्टामै ५० हजार भन्दा बढी दर्शकले मेरो गीत हेर्नु भएकोमा खुसी छु बिगतका दशैं गीतमा झैं यसपटक पनि दर्शकको मायाँ पाईरहेको छु ।’

केबल हर्षको मान हैन, दशैंलाई लक्षित गरेर परदेशमा रहेका नेपालीहरुको पीडा समेटिएका दशैंगीत पनि यतिबेला बजारमा आएका छन. । जसमध्य पशुपति शर्मा, शान्तिश्री परियार, खुमन अधिकारी, रामजी खाँड, रमेशराज भट्टराई, अर्जुन सापकोटालगायतका कलाकारको सँयुक्त स्वरमा आएको शुन्य भयो मेरो घर…दशैंगीत पनि परदेशिएकाहरुको बियोग समेटिएको छ । यस्ता अरु पनि थुप्रै कलाकारले वियोग भावको दशैंगीत यतिबेला बजारमा ल्याएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सिक्रेटारमा ‘नागरिक साझेदारी स्वास्थ्य विमा कार्यक्रम’ सुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एमाले–विप्लव गठबन्धन गृहकार्य