काठमाडौं । यो दशैंलाई लक्षित गरेर २४ असोज फुलपातिको दिन एकसाथ तीन नेपाली चलचित्र छक्का पञ्जा ५, ज्वाईं साब र १२ गाउँ रिलिज हुँदैछन् । जसमध्य १२ गाउँ र ज्वाईं साबको ट्रेलर यस अघि नै रिलिज भईसकेको छ भने छक्का पञ्जा ५ को ट्रेलर शनिबार बेलुका मात्र रिलिज भयो ।
ओएसआर डिजिटल च्यानलबाट रिलिज भएको छक्कापञ्जा ५ को ट्रेलरले रिलिजको २३ घन्टामा ६ लाख भन्दा बढी भ्युज युट्युव च्यानलमा पाईसकेको छ । यसपटक चलचित्र छक्का पञ्जा ५ पूर्ण रुपमा भ्रष्टाचार बिरुद्धको कथामा बनेको ट्रेलरमा उल्लेख छ ।
करिब ४ मिनटको यो ट्रेलरमा आधा त भ्रस्टाचार बिरुद्धको बिषय नै प्रस्तुत गरिएको छ । जसमा राजा बनेका दीपक सरकारी कर्मचारी भएको र अहिलेसम्म आफुले कत्ति पनि घुस नलिएको भन्दै उनी घुष अभियान बिरुद्ध उत्रिएको देखिन्छ । भ्रष्टाचार बिरुद्धको अभियानमा लागेकै कारण जेल जीवन भोग्नु परेपछि उनी अमेरिका पलायन हुन लागेको पनि ट्रेलरमा देखाईएको छ ।
यो चलचित्रमा मिलन, बिछोड, हाँसो, रोदन, आक्रोस जस्ता विभिन्न भावलाई समेटिएको छ । यस अघि रिलिज भएका दुई वटा गीतका कारण छक्का पञ्जा ५ ले चर्चा कमाएको बेला अहिले ट्रेलर रिलिज भएको हो । केही दर्शकले ट्रेलर फित्तलो भएको पनि टिप्पणी गरेका छन् । बहुसँख्यकले ट्रेलरको प्रसँसा गरेका छन् ।
यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेका हुन्,‘चलचित्रमा हामीले भ्रष्टाचार र बिदेश पलायनको मुद्दालाई यसपटक उठाएका छौं ।’ दीपाश्रीले राजधानीसँग भनिन्,‘चलचित्र सामाजिक कथामा केन्द्रिय भए पनि यसले मुलुकका अहिलेको धेरैवटा समस्यालाई उठान गरेको छ ।’
यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, दीपाश्री निरौला, वर्षा सिवाकोटी, प्रकाश घिमिरे, राजाराम पौडेल, लोकेन्द्र लेखक, ब्रजेश खनाल, रमेश बुढाथोकी, तेज गिरी, दमन रुपाखेती, निर्मल शर्मा, रामेश्वर केसीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रलाई दीपक, दीपा, केदार घिमिरे, निर्मल शर्मासँगै केशव न्यौपाने, दीपेन्द्र खनियाँले निर्माण गरेका हुन् ।