बाढीपहिरोको डरलाग्दो चपेटा

नेपालको खासगरी पहाड, मध्यपहाडी क्षेत्रमा जाने बाढीपहिरो र तराईमा अविरल वर्षापछि हुने डुबान मुलुकका लागि प्रमुख समस्याका रूपमा रहेको छ । गत शुक्रबार (११ असोज)देखि शनिबारसम्म परेको भीषण वर्षाका कारण देशका अधिकांश स्थानमा सडक भत्किएका छन् । जुन साना सडकदेखि मुख्य लोकमार्गसमेत विभिन्न ठाउँमा अवरुद्ध छन् । जसरी वर्षाका कारण अवरुद्ध भएको सडकखण्ड अझै सुचारु हुन सकेको छैन । वस्तुतः १३ असोजसम्मको अपडेटनुसार देशभर ३६ लोकमार्ग पुरै बन्द छन् । जसमा चार सडकमा एकतर्फी रूपमा यातायात सञ्चालन भएको छ भने बीपी लोकमार्ग, पृथ्वी लोकमार्ग, सिस्नेरी सडकखण्ड, मध्यपहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छन् । प्रत्येक वर्ष नेपालमा मनसुन प्रवेशसँगै विपद्को सामना गर्नुपर्ने हुन्छ ।

यो देश पहाडैपहाडले घेरिएको र साना–ठूला गरी करिब ६ हजार नदीनाला उत्तर–दक्षिण बगिरहेका छन् । हाम्रो देशमा सामान्यतया १० जुनदेखि २३ सेप्टेम्बरसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ । किनकि, यसै अवधिमा मनसुनको प्रभाव रहन्छ । यस अवधिमा वर्षा हुन्छ र हाम्रो खासगरी प्रमुख बाली धान, जसलाई बढी पानी चाहिन्छ, यही अवधिमा रोपिन्छ र फल्न पनि थाल्छ । मनसुन मौसमी वायु हो, जसले हामीकहाँ वर्षा गराउँछ । तसर्थ, बंगालको खाडीबाट पूर्वी नेपाल हुँदै प्रवेश गर्ने मनसुनले झन्डै १ सय १० दिनसम्म मुलुकमा वर्षा गराउने गर्छ । खासगरीकन जेठ, असार, साउन र भदौ महिना नेपालमा पानी पर्ने महिना हुन् । तर, जलवायु परिवर्तनजस्ता कारणले यो क्रम बिस्तारै पछि धकेलिँदै गएको छ । यसलाई नै बाढीपहिरोको मूल कारक मानिन्छ र वर्षभरिमा औसत १ हजार ६ सय मिलिमिटर वर्षा हुने गरेको छ । यहाँ औसत ८० प्रतिशत वर्षा बर्खायाममै हुन्छ ।

राजधानी उपत्यकामा ५४ वर्षयताकै उच्च वर्षा भएको छ । यसको अर्थ वर्षाको अभिलेख राख्न थालिएको सन् १९७० यताकै उच्च वर्षा मापन भएको थियो । यसमा नेपालभरि करिब अढाई सय जनाको ज्यान गएको छ । यसमा भौतिक सम्पत्ति पनि अर्बौं नै नोक्सान भएको छ । यसअघि २२ वर्ष अगाडि सन् २००२ मा उच्च वर्षा भएको थियो । राजधानी रहेको उपत्यकामा वर्षाबाट ३४ जनाभन्दा बढीको मृत्यु भयो भने अझै कति बेपत्ता छन् । १ हजार ४ सय ५७ जनाको सकुशल उद्धार गरिएकामा १५ जना घाइते छन् । यसरी नै विभिन्न खोलामा २ हजारबढी घर डुबान हुँदा ४ हजारबढी जनशक्ति परिचालन भएर उद्धार कार्य गरिएको थियो ।

मुलुकमा विपद्ले च्यापेपछि मात्रै हतारमा तयारी गर्ने बानीमा सुधार ल्याउनुपर्ने देखिन्छ

ठूलो संख्यामा उद्धार कार्य हुँदा पनि बाढीले बगाएर बेपत्ता भएका दृश्य सामाजिक सञ्जालभर देखिए । जुन उपत्यकाबाहिरबाट काठमाडौं उपत्यका आउने लोकमार्गहरू पहिरोका कारण अवरुद्ध भइरहेका छन् । जसमा बीच बाटोमै कतिपय गाडीहरू रोकिएका छन् । यात्रीहरू बाटाबाटामै अलपत्र पर्नुपर्ने अवस्था सिर्जना भएको छ । सरकारले लामो यात्रा नगर्न नागरिकलाई आग्रहसमेत गरेको थियो । सरकारले जरुरी काम परेको अवस्थामाबाहेक यात्रामा ननिस्कन र केही दिनसम्म लामो दूरीका गाडीहरू नचलाउन पनि आग्रह गरेको थियो । यसबाट जलउत्पन्न प्रकोप भयग्रस्त अवस्थामै उत्पन्न भएको कुरा स्पष्ट हुन आउँछ ।

हाम्रो देशमा विभिन्न प्रकारका विपद् घटनाहरू मनसुन सुरु भएपछि हुने गरेको पाइन्छ । अधिल्लो सालको यसै समयलाई अवलोकन गर्ने हो भने पनि सो अवधिमा धेरै धनजनको नोक्सान हुनुका साथै ५ हजार ४ चार ६५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्राधिकरणले जनाएको थियो । त्यसरी नै नेपाल विपद् प्रतिवेदन–२०७४ ले नेपालको कुल जनसंख्याको झन्डै ८० प्रतिशत मानिस प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको कुरा सार्वजनिक गरिएको थियो । त्यसैगरी, विश्वव्यापी रूपमा हेर्ने हो भने पनि नेपाल विपद्को उच्च जोखिममा छ । यसर्थ, प्राकृतिक प्रकोपका कारण बर्सेनि सयौं मानिसको मृत्यु हुनुका साथै हजारौं नागरिक बेपत्ता र घरबारविहीन भई विस्थापित भएका छन् । यसरी खर्बौं मूल्यबराबरको आर्थिक क्षति हुने गरेको छ । देशको तथ्यांकीय हिसाबले सबै कुरा यकिन गर्न गाह्रो भए तापनि समग्रमा प्राकृतिक प्रकोप र विपद्बाट नेपालले बर्सेनि ठूलो क्षति बेहोर्नुपरेको छ ।

एक तथ्यांकनुसार नेपाल बाढीपहिरो जोखिमका दृष्टिले विश्वमा ३०औं, जलवायु परिवर्तन जोखिममा चौथो, भूकम्पीय जोखिममा ११औं र बहुप्रकोपीय विपद् जोखिमका हिसाबले बीसौँ स्थानमा छ ।

मुलुकमा तत्काल विपद् परेकाको उद्धार, सबै प्रदेशमा आपत्कालीन सामग्री ५०औं वर्षदेखि नेपालमा विपद् कम गर्न प्रयास भइरहेका छन् । यसका नाममा हुने खर्च बर्सेनि अर्बाैंको आँकडामा देखापर्ने गरेका छन् । आज यहाँ टाल्यो, भोलि अर्को ठाउँ भत्किनसक्छ । जसले गर्दा बालुवामा पानी हालेजस्तो भएको छ । स्मरण रहोस् २०११ सालमा नेपालमा ठूलो बाढी आएको थियो । त्यो हाम्रा पिताहरूले भोगेका कुरा हुन् । अहिले पनि गाउँठाउँमा ११ सालको बाढीपहिरोको कुरा कोट्याइयो भने त्यसबेलामा भूस्वरूपमै परिवर्तन गर्नेगरी बाढीपहिरो आएको थियो भत्रे बुझ्न र थाहा पाउन सकिन्छ ।

त्यसबेला अहिलेको तुलनामा जनसंख्या निकै कम हुँदा पनि करिब ३ सय ५० मानिसको मृत्यु भएको थियो । गाईबस्तु र धनसम्पत्तिको पनि उत्तिकै क्षति भएको थियो । तत्कालीन सयमा ३ हजार घर क्षतिग्रस्त भएका थिए भने १०औं लाख मानिस घरबारविहीन भएका थिए । त्यतिखेर बाढीपीडितलाई सहयोग गर्न राष्ट्रिय दुःख निवारण कोषको स्थापना गरी सहयोग संकलन गरिएको थियो । नेपाल प्राकृतिक प्रकोपका दृष्टिले अत्यन्त जोखिममा रहेको छ ।

प्राकृतिक प्रकोपले हरेक वर्ष मानवीय र भौतिक क्षति पु-याउँदै आएको छ । यसैले हामी सधैं नै सजग र होसियार हुनुपर्छ । यसमा वन विनाश र प्राकृतिक दोहन नै यस विपत्तिको प्रमुख कारक हो । जसरी हिमालदेखि तराईसम्मै हामीले सचेतनामूलक अभियान सञ्चालन गर्नसकेमा र सबैले अनुशासित भई प्रकृतिको संरक्षण गर्न लागिपरेमा मात्र यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरण सम्भव हुन्छ । किनकि, सरकारी प्रयासले मात्र यो सम्भव हुँदैन ।

समग्रमा भन्नुपर्दा जनतालाई बाढीपहिरोसम्बन्धी पूर्वसूचना दिने कार्य बेलैमा सचेत गराउन सकियो भने बेला बखतमा हुने प्राकृतिक विपद्बाट हुने ठूलो जनधनको क्षतिमा कमी ल्याउन सकिने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी छ । मूलतः नेपाल सरकारले विपद्अधि गर्नुपर्ने पूर्वतयारीमा ध्यान नदिँदा ठूलो जनधनको क्षति हुने गरेको छ । यसरी प्रत्येक वर्ष विपद्को सामना गर्नुपर्ने देशले पूर्वतयारीमा ध्यान दिन नसक्नुलाई विडम्बना मान्नुपर्छ । अतः देशमा विपद्ले च्यापेपछि मात्रै हतारमा तयारी गर्ने नेपालको बानीमा सुधार ल्याउनुपर्ने देखिन्छ ।

विकासका नाममा मुलुकभरि गरिएको अवैज्ञानिक तवरबाट खनिएका सडक हाल पहाड, मध्यपहाड, हिमाल, तराई क्षेत्रमा बसोबास गर्ने मानिसका लागि कालस्वरूप बन्दै गएको प्रमाण एकातिर छ । हाम्रो मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको देखिन्छ । मनसुनकै पानीले हाम्रो जीवन र अर्थ व्यवस्था चल्छ । मनसुन राम्रो भएको वर्ष हाम्रो आर्थिक वृद्धिदर र उत्पादन पनि राम्रो हुन्छ । जुन बेला मौसम गडबड हुन्छ, पहिरो जान्छ अनि आर्थिक वृद्धिदर पनि तल झर्छ । आखिर मनसुन नभए घाटा हुन्छ । पछिल्ला वर्षमा मनसुनले किन क्षति गरिरहेको छ ? गम्भीर हुन जरुरी छ । पछिल्ला केही दिनमा मुलुकभर भएको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ठूलो जनधनको क्षति भएको, कयौं घरबारविहीन भएका र कतिपय अझै पनि जोखिमयुक्त स्थानमा बस्न बाध्य छन् ।

जुन आवश्यकतानुसारको राहत, पुनस्र्थापना र स्थानान्तरणको व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्छ । फलतः विपद्को सामना गर्न राज्यको एकल प्रयास मात्रैले सम्भव हुँदैन । हामी जो जहाँ छौं, त्यहाँबाट सकेको सहयोग गर्नु आवश्यक छ । मानवीय संवेदनालाई सम्झेर एक–अर्काको सहारा बन्न सकेको खण्डमा विपद्सँग जुध्न सकिन्छ । तसर्थ, विपद्लाई सदाका लागि बिदाइ गर्न जरुरी छ ।

विपद् व्यवस्थापनका लागि सार्वजनिक–निजी साझेदारीको विकास गरी सबै संयन्त्र परिचालन गर्नसके विपद्बाट हुने क्षति कम गर्न सकिन्छ । यसर्थ, घटना हुनुभन्दा अगाडि केही सचेत भए धेरै जनधनको क्षति हुन पाउने थिएन । यसकारण विगत वर्षहरूबाट विपद् व्यवस्थापनको पाठ सिकेर बेलैमा तीनै तहका सरकारले चनाखो भई मनसुनजन्यलगायत अन्य विपद्लाई घटाउन सकिने कुरामा कसैको पनि दुईमत नहोला ।

तपाइको प्रतिक्रिया
(Visited 78 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लम्जुङको कारागारमा कैदी र बन्दीबीचको झडप, ३ घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी उम्मेदवार, जसलाई आफूबाहेक कसैले पनि पत्याएनन्