गत साता राष्ट्रिय शिक्षक दिवस मुलुकभरका शिक्षकले आफ्नै तरिकाले मनाए । अनौपचारिक रूपमा शिक्षक दिवसका अवसरमा धेरैले शिक्षकको वृत्तिविकास र पेसागत उन्नयनको कामना गरे । यसैकारण आजको आलेख शैक्षिक सन्दर्भमा केन्द्रित रहेको छ ।
यतिबेला शिक्षकलाई मासिक रूपमा तलब निकासा दिने कुरा निकै चर्चामा छ । आजपर्यन्त एकाध अपवादबाहेक शिक्षकको तलब निकासा चौमासिक रूपमा हुने गरेको छ । महिनावारी खानलाई सधंै महिनापारि कुर्नुपर्ने शिक्षकको नियति निकै पुरानो हो । महिनाभरिको ज्याला महिना मरेपछि दिने निर्णय गर्दा पनि सरकार सामुु नतमस्तक भई खुसी मनाउनुपर्ने विडम्बना आजपर्यन्त उस्तै छ । जबकि, अन्य सरकारी निकायमा एउटा महिनाको तलब भत्ता पाउनका लागि अर्को महिना कुुर्नुपर्ने अवस्था कतै पनि छैन । शिक्षक मात्र अपवादमा छन् । हालै शिक्षा मन्त्रालयले अब उप्रान्त महिना सकिएपछि तलब, भत्ता भुक्तानीको प्रबन्ध मिलाउने व्यवस्थाका लागि गरेको परिपत्रसँगै आमशिक्षकमा उत्साह थपिएको छ ।
प्रतिफल बढेन
शिक्षामा आज पनि कुल राष्ट्रिय बजेटको ११ प्रतिशतकै हाराहारीमा राष्ट्रिय लगानी भइरहेको छ । विगतमा कुनै समयमा १७ प्रतिशतसम्म लगानी भएको क्षेत्र भएकाले शिक्षामा भएको यो लगानी कम भयो भनेर शिक्षाविद्हरू विरोध गरिरहेका पनि छन् । तर, के साँच्चै लगानीअनुसारको प्रतिफल प्राप्त भएको छ त ? यस’boutमा भने ‘तैं चुप,मै चुप’को स्थिति छ । हामीसँग शैक्षिक योजना के छ ? कति जना डाक्टर, कति जना इन्जिनियर वा कति जना पाइलट, वकिल, प्राध्यापक हामीलाई चाहिएको हो ? ती जनशक्ति उत्पादनका लागि हामीले के कति लगानी गरेका छौं ? त्यसको कुनै हिसाबकिताब नगरीकन गरिएको लगानीको के अर्थ ? शिक्षाको सिकाउ र बिकाउ पक्ष किन कमजोर भइरहेको छ ? दिनहुँ हजारौंको संख्यामा खाडी मुलुक धकेल्ने जनशक्ति उत्पादनकै लागि यो लगानी अपर्याप्त भएकै हो त ? एकपटक सोच्न जरुरी छ । होइन भने दिशाविहीन गतिमा शैक्षिक लगानी यही पनि धेरै भएको त होइन ? विचारणीय छ । ’cause, लगानीको निश्चित लक्ष्य हुनुपर्छ र त्यसको समीक्षा पनि हुनुपर्छ ।
मुलुकमा आज डाक्टर बेरोजगार भएको अवस्था छ भने केही वर्षपछि नर्सको अभाव हुने आँकलन चिकित्सा क्षेत्रले गरेको छ । यसको अर्थ डाक्टरभन्दा नर्स उत्पादन गर्ने नीति राज्यले अख्तियार गर्नुपर्ने होइन र ? शिक्षकतिर हे¥यो भने आज पनि माध्यमिक तहमा विज्ञान विषयका शिक्षकको अभाव छ भने समाजशास्त्रको संख्या अधिक छ । राज्यले यहाँनेर शैक्षिक नीतिमार्फत् हस्तक्षेप गर्न जरुरी छ । तर, राज्यसँग शैक्षिक नीतिको अभावका कारण नागरिकलाई उसको रुचिअनुसार पठनपाठन खुला छोडिदिएको छ । यसले गर्दा कतै विषयको अभाव त कतै बेरोजगारका चाङ देखिन्छन् ।
सिद्धान्त होइन सीप देऊ
चीनमा एउटा उखान छ– ‘मलाई एक किलो माछा उपहार होइन माछा मार्नका लागि सीप देऊ, ताकि म आफैंले मन लागेका बेला माछा मारेर खान सकूँ ।’ तर, आजकल हाम्रो पठनपाठनमा सैद्धान्तिक कुरा मात्र छ, सीप छैन । व्यावहारिक पक्ष उपेक्षित नै छ । कोरा ज्ञान, घोकन्ते विद्यामा नै हाम्रो शैक्षिक प्रणाली आजसम्म चलिरहेको छ । के सिक्यो होइन, कति अंक ल्यायो भन्ने नतिजाको पर्खाइमा रहेका अभिभावकलाई सन्तुष्ट पार्ने बाहेक गरिखाने शिक्षा पटक्कै दिन सकिएको छैन । यो आजको विडम्बना नै हो । कोरा किताबी ज्ञानले आज कसैको पनि गुजारा हुने अवस्था छैन । गर्जो टार्न नसक्ने शिक्षा, शिक्षा नै होइन ।
शैक्षिक मूल्यांकनले पनि व्यक्तिको सर्वांगीर्ण मापन गर्न सकिरहेको छैन । शिक्षाविद्हरू मूल्यांकनका दुई तरिका अघि सार्छन् । पहिलो व्यक्तिसँग भएको ज्ञान कति छ ? दोस्रो ऊ केमा कमजोर छ र सिस्टमले कहाँनेर सपोर्ट गर्न आवश्यक छ ? पहिलो तरिका निर्णयात्मक हो भने दोस्रो निर्माणात्मक । शिक्षा आर्जन गर्नु भनेको घोक्नु मात्र होइन, सिकाइ हुनुु पनि हो । सिकाइ हुनु भनेको व्यवहारमा आएको स्थायी सकारात्मक परिवर्तन हो । यो परिवर्तन मापनीय हुनुपर्छ र यसका लागि व्यावहारिक शिक्षा नै चाहिन्छ । अमेरिका, युरोप, जापान, चीनलगायतका मुलकहरूको उन्नति र प्रगति व्यावहारिक शिक्षाको विकासका कारणले गर्दा नै भएको हो । शिक्षाले व्यक्तिलाई सत्य कुराको ज्ञान प्रदान गरेर मात्र पुुग्दैन, कुनै पनि काम गर्नसक्ने सीप अर्थात् खुबी प्रदान गर्न सक्नुपर्छ । हामीकहाँ विद्यालय शिक्षाको सन्दर्भमा होस् वा विश्वविद्यालयको सन्दर्भमा, संख्यात्मक हिसाबमा शिक्षाको विकास धेरै नै भएको छ । तर, गुणस्तरको पाटो कमजोर छ । पढेर देश नै छोड्नुपर्ने शिक्षाको कुनै काम हुँदैन । शिक्षाले त देशमा टिकाउन सक्नुपर्छ । बजारमा बिकाउन सक्नुुपर्छ । तर, जति पढ्यो त्यति बेरोजगार हुने शिक्षा राष्ट्रका पक्षमा हुनैसक्दैन । शैक्षिक नीति दर्बिलो नहुँदाको परिणाम अन्ततः यस्तै हुने हो, जसलाई हामीले भोगिरहेका छौं ।
के सिक्ने ?
एक जना विद्वान्ले भनेका छन्, मान्छेले कति पढ्ने भन्ने कुरा जानेका छन्, तर के पढ्ने कुरा जानेकै छैनन् । आजको हाम्रो अवस्था यस्तै छ । अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनले आफ्नो छोरा पढ्ने विद्यालयका प्रधानाध्यापकलाई पत्र लेख्दै भनेका छन्– ‘मेरो छोराले सबै मानिस एकै किसिमका हुँदैनन् भन्ने कुरा सिकोस् । समाजमा दुष्ट मानिस छन् र सज्जन पनि छन् । स्वार्थी राजनीतिज्ञ पनि छन् भने समर्पित निष्ठावान् नेता पनि छन् । त्यस्तै, शत्रु पनि छन्, मित्र पनि छन् । उसलाई सित्तैमा पाएको हजारौं डलरभन्दा परिश्रम गरी कमाएको १ डलर बढी मूल्यवान् हुन्छ भन्ने कुरा बताइदिनुहोस् ।’
आजको आवश्यकता प्राविधिक शिक्षा हो, कक्षा ९ देखि १२ को प्राविधिक धारले मात्र यो आवश्यकता पूरा हुदैन
लिंकनले अगाडि लेखेका छन्– ‘मेरो छोरो जतातिर हुल छ, त्यतातिर लाग्ने प्रवृत्तिको नहोस् । उसलाई कहिले काहीँ आँखाबाट आँसु झार्नु लाजमर्दो कुरो होइन भनिदिनुहोस् । ऊ आफ्नो बाहुबल, बुद्धि र सामथ्र्यमा विश्वास गरोस् । सम्झनुहोस्, आगोको लप्काबाट नै फलाम खारिन्छ । उसभित्र साहस र सधैं केही गरौं भन्ने भावना भइरहोस् । मेरो छोरो स्वयं निर्भीक, साहसी र उत्साही बन्न प्रेरित भइरहोस् अनि मात्र ऊ मानवताप्रति नरम र आस्थावान हुनसक्छ ।’
मानवता हराउँदै गएको अनि पढेर पनि अनपढ व्यवहार गर्ने वर्तमान युवापुस्ताका लागि लिंकनको सो सन्देश निकै मार्मिक र आजका सन्दर्भमा उपयुक्त पनि देखिन्छ । आजको पठनपाठनले न सीप दिएको छ, न व्यवहार । तसर्थ, व्यावहारिक पक्षमा लिंकनको सो आकांक्षाले आमनेपाली अभिभावकको प्रतिनिधित्व गर्छ । हामीले खोजेको एकथरी शिक्षा यस्तै पनि हो ।
करले होइन, रहरले पढाइ
कवि हरिभक्त कटुवाल रहर कवितामार्फत भन्छन्– ‘बा, पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।’ आज पनि हाम्रो शिक्षा पद्धति घोकन्ते छ, सैद्धान्तिक छ । हाम्रा बालबालिकाहरूको चाहना र हाम्रो शिक्षा पद्धतिबीच सामीप्यता छँदै छैन । महेन्द्र मरेको इतिहास घोकेर आजका विद्यार्थीले के पाउने ? प्रजातन्त्र आएको कुरा ७ फागुन २००७ को सट्टा कसैले ६ फागुन वा ८ फागुन भन्यो भने के नै बिग्रिएला ? बढीमा यस्तो सामान्य कुरा पनि जानेन भनिएला, कुरा यत्ति हो । यो जान्नुु र नजान्नुसँग बच्चाको दैनिकी गुजारामा ताŒिवक अन्तर आउँदैन । बरु आजका विद्यार्थीले प्रजातन्त्र आएको कुरा, तिथि, बार र समय घोकेर भन्दा गुुुुगलमा सर्च गरेर पत्ता लगाउन चाहन्छन् । आज उनीहरूलाई गुुुुगल हेरेर यो चाहना पूरा गरिदिने शिक्षा चाहिएको छ । आजका बालबालिकालाई तयारी हालतको भन्दा सिर्जनशील बनाउने शिक्षा चाहिएको छ । कति पढ्ने भन्दा पनि के पढ्ने भन्ने सवाल नै आजको शिक्षाको मुख्य मुद्दा हो । यसका लागि विद्यार्थीलाई विद्यालय जाउँजाउँ लाग्नुपर्छ । करले होइन, रहरले विद्यालय जाने वातावरण बनाउनुपर्छ र यसका लागि उसको रुचि, इच्छा र चाहनाअनुसारको विषय पढ्न पाउनुपर्छ । स्वतःस्फूर्त सिकाइ वातावरण हुनुपर्छ ।
प्रजातन्त्रको उदयताका २००७ सालमा हामीसँग २ प्रतिशत साक्षरता दर थियो । आज संघीय गणतान्त्रिक व्यवस्थाको अभ्यासमा जुट्दैगर्दा यो दर बढेर ७० प्रतिशतभन्दा माथि पुुगेको सरकारको दाबी छ । यो सन्तोषको विषय हो । तर, पढेका जनशक्तिमध्ये कतिजना रोजगारीमा लागे भन्ने कुरा पनि महŒवपूर्ण हो । बजारमा बिकाउ नहुने र ज्ञानमा टिकाउ नहुने शिक्षा प्रदान गरेर बर्सेनि बेरोजगार उत्पादन गर्ने शिक्षा कुन हदसम्म जारी राख्ने भन्ने कुरा आजको मुख्य समस्या हो । यसैकारण व्यावसायिक शिक्षा आजको मुख्य आवश्यकता थियो । तर, हामीले विगतमा भएको पूर्वव्यावसायिक विषयलाई पनि पाठ्क्रमबाट हटायौं । भएको अलिकति सीप सिक्ने प्रयोगात्मक पक्ष पनि हटायौं । विगतमा ८ कक्षाबाट ऐच्छिक विषयका रूपमा वागवानी लिन सकिन्थ्यो । त्यो अवसर पनि आजका विद्यार्थीलाई दिएनौं । जसले गर्दा गरिखाने शिक्षाको अभावमा प्रमाणपत्रहरू खोस्टोसरह हुनथाले । दराजभरि प्रमाणपत्रहरू थन्किएका छन्, तर ती प्रमाणपत्रको बजार भाउ शून्य छ । आजको मूल समस्या नै यही हो ।
बेरोजगार पनि उस्तै
स्वदेशमा काम पाउन नसक्दा कयौं संख्यामा युवाहरू विदेश पलायन भएका छन् । युवा भनेको शारीरिक र मानसिक विकासका दृष्टिले किशोर र वयस्क अवस्थाबीचको उमेर समूह हो । युवा सर्वाधिक सक्रिय, ऊर्जावान् र गतिशील समूह पनि हो । राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षको उमेर समूहभित्रको जनशक्तिलाई युवा मान्ने गरेको छ । कुल जनसंख्याका हिसाबले हेर्दा ४० दशमलव ३५ प्रतिशत यस समूहमा पर्छन् । युवा विकास सूचकांकमा नेपाल विश्वमा ७७औं स्थानमा छ । १९ दशमलव २ प्रतिशत युवा आज पनि पूर्ण बेरोजगार छन् । कृषिमा संलग्न युवाहरू ५० दशमलव २ प्रतिशत छन् । २६ दशमलव १ प्रतिशत युवा स्नातक भईकन पनि बेरोजगार छन् । प्रतिवर्ष ५ लाख ३८ हजार युवा बिदेसिने गरेको पाइन्छ । यसरी बिदेसिनेहरूमध्ये ७४ प्रतिशत युवा अदक्ष छन् । उनीहरू विदेशमा गएर यही काम गर्ने भन्ने कुनै टुंगो छैन । जे पायो त्यही गर्ने सर्तमा विदेश गएका हुन्छन् । २४ प्रतिशत अर्धदक्षसम्म छन् । २ प्रतिशत मात्र दक्ष छन् । दुःखको कुरो स्वदेशमा काम नपाएर खाडी मुलुकसमेत जान बाध्य यिनै युवामध्ये प्रतिदिन सरदर तीनदेखि चारवटा बाकसमा उनीहरूको लास नेपाल फर्कने गर्छ । यो अवस्था आउनका पछाडि हाम्रै गलत शिक्षानीति दोषी छ । न गरिखाने न मरिजाने शिक्षा दिएर हामीले युवालाई घरको न घाटको बनाएकै हौं । आजको आवश्यकता भनेको प्राविधिक शिक्षा हो । ९ देखि १२ कक्षाको प्राविधिक धारले मात्र यो आवश्यकता पूरा गर्नसक्दैन । आधारभूत ज्ञान ८ कक्षासम्म दिइए पनि ९ कक्षाबाट पुरै श्रम र सीपमा आधारित प्राविधिक शिक्षा नै दिनुपर्छ । कलेजस्तरमा प्रदान गरिने सैद्धान्तिक ज्ञानलाई पुरै भत्काएर प्रविधिमा आधारित शिक्षा प्रदान गर्न जरुरी छ । तर, आज पनि हाम्रा अधिकांश विश्वविद्यालयहरू सामान्य धारकै शिक्षा दिन रुचाउँछन् ।