काठमाडौं । निजी तथा सरकारी अस्पतालले अत्यावश्यक स्वास्थ्य सेवा सहज तरिकाले प्रवाह नगर्दा विभिन्न रोगले प्रताडित बिरामी थप जोखिममा पर्ने सम्भावना बढेको छ । अधिकांश अस्पतालले कोरोना भाइरस (कोभिड–१९) को जोखिम भन्दै स्वास्थ्य सेवा सहज र सरल तरिकाले प्रवाह नगर्दा बिरामी अस्पताल पुगे पनि उपचारबिनै फर्किन बाध्य भइरहेका छन् ।
प्रसूति सेवाका लागि दाङको तुलसीपुर प्रादेशिक अस्पताल पुगेकी २१ वर्षीया रविना बस्नेत सेवा नपाई फर्किइन् । उनले भनिन्, ‘चेकजाँचका लागि अस्पताल पुगेकी थिएँ । तर, अस्पतालले सेवा नदिएपछि फर्किएँ ।’
अहिले जटिल प्रकृतिका बिरामीलाई औषधि लिन जान समेत अप्ठेरो परेको छ । ज्वरो आएका बिरामीलाई अस्पतालले चेकजाँच गर्नै मान्दैनन् । फार्मेसी बन्द हुँदा र अस्पतालले अहिले उपचार हुन नसक्ने भन्दै फिर्ता गरेपछि बिरामी थप जोखिम मोल्न बाध्य छन् ।
अत्यावश्यक स्वास्थ्य सेवा सकस बन्दै
अत्यावश्यक सेवा बन्द नगर्नू : स्वास्थ्य मन्त्रालय
क्यान्सर, डायलायसिस गर्नुपर्ने अवस्था, मुटु रोग, प्रसूतिसम्बन्धी जटिल र सुत्केरीसम्बन्धी सेवाहरू, दमलगायत दीर्घरोगीलाई सकस भएको छ । तीबाट प्रभावितका लागि निजी अस्पतालबाट सहज सेवाप्रवाह हुन सकेको छैन ।
सरकारले भने अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न पटक–पटक आग्रह गर्दै आएको छ । केही अस्पतालमा ल्याब सेवा ठप्प छ । यस्तै, गाउँमा रहेका फार्मेसी÷औषधि पसल बन्द हुँदा बिरामीले नियमित खाने औषधि पाउन अप्ठेरो भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अत्यावश्यक स्वास्थ्य सेवा बन्द नगर्न आग्रह गरे । उनले भने, ‘अस्पतालले इमरजेन्सी सेवा बन्द गर्नुहुँदैन । बिरामीलाई थप जोखिम सिर्जना नगर्न सम्बन्धित अस्पताललाई अनुरोध गर्छु ।’
उनले विशिष्टीकृत अस्पताल, अति विशिष्टीकृत अस्पतालहरूले इमरजेन्सी सेवा बन्द गर्न नमिल्ने बताए । अस्पताल सञ्चालक र चिकित्सकले भने उपचारका क्रममा आवश्यक पर्ने स्वास्थ्यजन्य सामग्री अभाव हुँदा समस्या भएको प्रतिक्रिया दिने गरेका छन् ।
यसैबीच, हालसम्म ३३ हजार ५ सय ६२ जनाको कोरोना परीक्षण गरीएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअन्तर्गत आरटी–पीसीआर प्रविधिबाट ८ हजार ४ सय १४ र आरडीटी विधिबाट २५ हजार १ सय ४८ जनाको कोरोना परीक्षण भएको छ ।
२४ घण्टामा आरटी–पीसीआर विधिमार्फत गरिएका ३ सय २४ जनाको कोभिड–१९ परीक्षणमा नयाँ पोजिटिभ रिपोर्ट नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । जसमध्ये चार जना निको भइसकेका छन् । बाँकी २७ जनाको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको स्वास्थ्य स्थिति सामान्य रहेको प्रवक्ता डा. देवकोटाले बताए ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ को कोसी अस्पतालमा १३, प्रदेश २ को नारायणी प्रादेशिक अस्पतालमा चार, सुदूरपश्चिम प्रदेशमा ३, बाग्मती प्रदेशको टेकु अस्पतालमा १ र चितवनमा २ जनाको उपचार भइरहेको छ । सरकारले देशका सबै जिल्लामा आरडीटी प्रविधिबाट परीक्षण सुरु गरिएको जनाएको छ ।