गुल्मीका शक्तिपिठमा सराँयको रौनक

गुल्मी । बडादसैँको एकादशीदेखि पूर्णिमासम्म नाचिने ऐतिहासिक सराँय नाचले गुल्मीका शक्तिपिठ भरिएका छन् । जिल्लाका विभिन्न स्थानमा पाँच दिनसम्म सराँय नाच हुने गर्दछ । रोजगारीका शिलशिलामा देशका विभिन्न स्थान एवं विदेशमा रहेकाहरु दसैँ मान्न घर आएका हुन्छन् । जसले गर्दा पनि गुल्मीका शक्तिपिठहरुमा भीड बढेको हो ।

‘गत बर्षको भन्दा निकै राम्रो सराँय भयो, मानिसको उपस्थिति पनि बाक्लो देखियो ।’ धुर्कोट गाउँपालिका–४ जैसिथोकको सम्भिर कुँवरले भने, ‘पछिल्लो समय सराँय व्यवस्थित हुँदै गएको छ ।’ जैसिथोकको बाहुनगाउँमा त्रायोदशिका दिनमा सराँय हुने गर्दछ । दुई बर्ष कोरोना र एक बर्ष बर्षाले, त्यसपछिका तीन बर्ष खासै राम्रो सराँय बाहुनगाउँमा भएको थिएन । तर यसपाली भने गत बर्षभन्दा निकै राम्रो भएको उनले बताए ।

गुल्मी, अर्घाखाँची लगायतका पहाडी जिल्लाहरुमा सराँय नाच निकै पुरानो तथा ऐतिहासिक नाँच हो । यसबर्ष अष्टमी र नवमी एकैदिन परेकोले बली दिने बेला मन्दिरहरुमा कम मात्रै उपस्थिति भयो । तर सराँयमा भने उल्लेख्य सहभागिता रहेको छ । एकादेशीदेखि पूर्णिमासम्म गुल्मीका सय भन्दा बढी शक्तिपिठहरुमा सराँय हुने गर्दछ ।

पूर्णमाको दिन धुर्कोट कोट लगायतका कोतहरुमा हुने सराँय झनै महत्वपूर्ण मानिन्छ । ‘धुर्कोट कोटमा प्रत्येक बर्ष उल्लेख्य मात्रामा नागरिकको उपस्थिति रहने गर्दछ, पछिल्लो समय स्थानीय सरकारले समेत केही संरचना निर्माण गरेको छ ।’ धुर्कोट गाउँपालिका–६ का युवा हरी बहादुर केसील भने, ‘गाउँमा रौनक बढेको छ ।’ पूर्णिमा सकिएलगत्तै गाउँ आएका मानिसहरु शहर फर्किने क्रम बढी हुने भएकाले गाउँ फेरी रित्तै हुने उनले बताए ।

हतियार प्रदर्शनमा रोक, संस्कृति लोप
मन्दिरमा भक्तजनले चढाएका पौराणिक युद्धमा प्रयोग हुने खुकुरी, तरवार, खु“डा, खड्ग आदि हतियार एक आपसमा ठोक्याउ“दै ‘वाख्खै वा’ को भाषामा सराय“ खेलिन्छ । ‘खड्गछत्र देवताले रक्षा गरुन्’, ‘बाँचे आइसल’ जस्ता भाषा सराँय नाचमा प्रयोग हुन्छन् । केहि समय पहिले हतियारनै नचाएर सराँय खेलिन्थ्यो । पछिल्लो सयम त्यो छैन् । हतियार प्रर्दशन गर्दा दुर्घटना हुने डर बढि हुने भएकाले यो पछिल्लो समय छोडिएको छ ।

अहिले प्रशासनले पनि सकेसम्म हतियार प्रदर्शन नगर्न भनेको छ । पहिले पहिले राति अबेरसम्म हुने सरायँ नाच पनि अहिले बेलुका बढीमा ५ या छ बजेसम्म मात्रै हुन्छ । यो कुराले बुढापाका भने सन्तुष्ट छैनन् । ‘हतियारबिना त सरायँ नै खल्लो लाग्यो, साँझ पनि अबेरसम्म खेल्न नपाइने’ इस्मा गाउँपालिका मैदानमा सराँय खेल्न पुगेका नारायण कुँवरले भने, ‘यस्ता कुराले मनमा नरमाइलो लाग्दो रहेछ ।’ सोहि ठाउँकै गोविन्द महतले पनि सुरक्षा ब्यवस्थामा ध्यान दिदैँ सरायँका आधारभूत हतियारहरुलाई प्रदर्शन गर्न दिइनुपर्ने बताए । ‘हतियार बर्षमा एकदिन देखाउने हो, यो हाम्रो सँस्कृति हो ।’ उनले भने, ‘निश्चित मापदण्ड बनाएर भएपनि प्रदर्शन गर्दा राम्रो हुन्थ्यो ।’

सरायँ नाचँ : राष्ट्रकै गहना, पर्यटन पर्वधनमा सहयोग
सरायँ नाच नेपालका केहि पश्चिमि जिल्लामा मात्र नाच्ने गरिन्छ । सरायँ हेर्नकै लागि बसाई सरेकाहरु समेत केहि दिनको लागि आफ्नो घर फर्कन्छन् । सरायँ नाच्ने शक्तिपिठमा हेर्ने र नाच्नेले आनन्द मात्र लिदैँनन्, धेरैले ब्यापार गर्ने अवसरसमेत पाँउछन् । सरायँ नाच्ने शक्तिपिठमा विशेषगरी जेरीको ब्यापार धेरै हुने गर्दछ ।

त्यस्तै चना–चटपटे, अम्बा, किराना, बालबालिकाका खेलाउना, लगायतका सामाग्रीहरुको राम्रो ब्यापार हुन्छ । दसैँमा पाइने यस्ता खानेकुरा र शक्तिपिठको महत्व अरुलाई पनि बुझाउन सके पर्यटक पर्वधनमा ठूलो सहयोग पुग्ने रेसुङ्गा बहुमुखी क्याम्पसका उप–प्रध्यापक रामप्रसाद खनालले ।

‘सरायँ र शक्तिपिठको महत्व विभिन्न माध्यमबाट प्रचार गर्नु जरुरी छ ।’ उनले भने, ‘यसबाट ठूलो मात्रामा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिन्छ ।’ सँरायले गर्दा पर्यटक भित्राउन सके रोजगारी समेत सिर्जना हुने र आम्दानीको स्रोत बढ्ने उपप्रध्यापक खनालले बताए ।

यसरी सुरु भयो सरायँ
घटस्थापनादेखि नौ दिनसम्म देवीको पुजा गर्दा महाकाली उत्पति भइन । पछि महाकाली ठूली हुँदै गइन् । र राक्षसलाई मारिन पनि । त्यसपछि रामचन्द्रले राउण्डेलाई मारे । नौ दिनसम्म पुजा गरी राक्षसलाई मारेको उत्सवस्वरुप दसैँको टिका लगाउने प्रचलन बस्यो । भने राउण्डेलाई मारेको उत्सवमा हजारौँ बर्ष अघि द्धापरयुगमा सरायँ खेल्न थालिएको इतिहास छ ।

एकादशीका दिन गुल्मीको इश्मा मैदान र धुर्कोट वस्तुमा सरायँ नाच्ने गरिन्छ । द्धादशिको दिन बुल्म, त्रायोदशिको दिन जैसिथोकको बाहुनगाँउ, चर्तुदशीको दिन छिलिम्टे तथा पूर्णिमाको दिन धुर्कोट कोत, चोयघा, अर्जै लगायतका क्षेत्रमा सरायँ नाच्ने गरिन्छ ।

संरक्षण गर्ने प्रयासमा स्थानीय तह
अहिले गाउँगाउँमा स्थानीय सरकार छन् । त्यसैले पनि सरयँ जस्ता मौलिक धर्म सँस्कृतिलाई जोगाउने दायित्व अब सरकारले पनि बहन गर्नुपर्छ । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले आफुहरुले धुर्कोट कोट लगायतका मन्दिरहरुमा संरचना थप गर्ने, मर्मत गर्ने लगायतका काम गरेर सराँय नाचलाई व्यवस्थित गर्न लागिपरेको बताए । ‘बसाइसराईले गर्दा गाउँमा नागरिकको संख्या कम छ ।’ उनले भने, ‘दसैँमा घर आउने भएकाले सराँयमा उल्लेख्य सहभागिता देखिन्छ ।’

त्यस्तै इस्मा गाउँपालिकाका प्रमुख भगत सिंह खड्काले गाउँपालिका भित्रका विभिन्न कला संस्कृति र परम्परा जोगाउन आफुहरु योजनाबद्ध रुपमा लागेको बताए । उनले अहिले तीज गीत प्रतियोगीता, पञ्चेवाजा संरक्षण, मठ मन्दिरहरुको संरक्षण लगायतका कामहरु भैरहेकाले अब बिस्तारै एतिहासिक कला संस्कृतिहरुको प्रचार प्रसार र जर्गेना गर्नुपर्नेमा जोड दिए ।

तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रपतिदेखि सभामुखसम्मलाई बाँसको कुर्सी उपहार

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको मौलापुरको कार्यपालिका सदस्यमा आठै जना निर्विराेध