मूल्यवृद्धि ६ दशमलव ७० प्रतिशत

काठमाडौं ।गत फागुनमा ६ दशमलव ७० प्रतिशत मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही महिनाको तुलनामा मूल्यवृद्धि साढे २ प्रतिशतले बढी हो । अघिल्लो वर्षको फागुनमा यस्तो मुद्रास्फीति ४.२० प्रतिशत रहेको थियो ।

फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ९.३३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.६९ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी, मसला, दाल, गेडागुडी, मासु तथा माछा उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत शिक्षा, स्वास्थ्य, लुगा र जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।

भारतमा ४.२०, काठमाडौंमा ७.६१ प्रतिशत

फागुनमा काठमाडौं उपत्यकामा ७.६१ प्रतिशत, तराईमा ६.८४ प्रतिशत, पहाडमा ५.५३ प्रतिशत र हिमालमा ५.४२ प्रतिशत मूल्य वृद्धि भएको छ । गत वर्षको फागुनमा काठमाडौंमा ४.६१ प्रतिशत, तराईमा ३.६१ प्रतिशत, पहाडमा ४.६४ प्रतिशत र हिमालमा ५.४७ प्रतिशत मुद्रास्फीति रहेको थियो । यो तथ्यांकले काठमाडौं र तराईमा तुलनात्मक रूपमा मूल्यवृद्धि भएको देखाएको छ ।

नेपालमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ६.७० प्रतिशत रहँदा भारतमा भने यस्तो मुद्रास्फीति ५.९१ प्रतिशत मात्र रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपाल र भारतको मुद्रास्फीति क्रमशः ४.२० प्रतिशत र २.८६ प्रतिशत रहेको थियो । फागुनमा निर्माण सामग्रीको थोक मूल्य ३.८१ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक चालू आर्थिक वर्ष २०७६÷७७ का ८ महिनामा मुलुकको आर्थिक तथा वित्तीय स्थितिअनुसार विदेशमा काम गर्ने नेपाली विदेशबाट ५ खर्ब ९२ अर्ब रुपैयाँ रेमिट्यान्सबापत भित्रिएको छ ।

राष्ट्र बैंकको अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.४ प्रतिशतले वृद्धि भई ६७१ अर्ब ८९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा चालू खाता घाटा १ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९१ अर्ब ४९ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको आठ महिनामा १ अर्ब ६८ करोड रहेको चालू खाता घाटा समीक्षा अवधिमा १ अर्ब १० करोड रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर .११ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ६१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ११ अर्ब ५६ करोड र प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३७ अर्ब ८४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको आठ महिनासम्ममा ५१ करोड ७० लाखले घाटामा रहेकामा समीक्षा अवधिमा ३३ करोड १२ लाख रुपैयाँले बचतमा रहेको छ ।

२०७६ असार मसान्तमा १०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भई २०७६ फागुन मसान्तमा ११३६ अर्ब ५१ करोड रुपैयाँबराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ फागुन मसान्तमा ९ अर्ब ६० करोड पुगेको छ ।

समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ४.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ फागुन मसान्तमा यस्तो कर्जा १२.६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११.३ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १५.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ फागुन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १४.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १६.१ प्रतिशतले बढेको छ ।

२०७६ फागुन मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः ८.३ प्रतिशत, ३१.४ प्रतिशत र ४९.९ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३३.५ प्रतिशत र ४७.५ प्रतिशत रहेको थियो ।

फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.९ प्रतिशत रहेको छ । २०७५ फागुन मसान्तमा यस्तो निक्षेपको अंश ४५ प्रतिशत रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 476 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्याङ्जामा २८ मध्ये २० वडामा कांग्रेस विजयी