हारको बदला लिँदै पहिलोपटक उपाधि जित्ने नेपालको लक्ष्य

ललितपुर । सातौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज (बुधबार) नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरु हुनेछ ।

उपाधि डबल्याउने बंगाली धुन

नेपाल सेमिफाइनलमा भारतलाई ट्राइब्रेकरमा ४–२ ले हराउँदै तथा बंगलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेका हुन् । सेमिफाइनलमा १० खेलाडीमा सीमित नेपालले भारतलाई टाइब्रेकरमा ४–२ ले हराएको हो । निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

नेपालका लागि सावित्रा भण्डारी, गीता राना, सविता रानामगर र अमिशा कार्कीले गोल गरे भने भारतकी मनीषा कल्याण र पुरुषेत्तम श्रीभोइकरको मात्र गोल हुन सक्यो । आशालता देवीले प्रहार गरेको बल पोस्टमा लागेर फर्कियो भने छानुको प्रहारलाई गोलकिपर अञ्जना रानामगरले रोकिदिइन् ।

निर्धारित समयमा भारतकी संगीता बासफोरेले १ तथा नेपालकी सावित्रा भण्डारी (साम्बा)ले १ गोल गरेका थिए ।

पाँचपटक फाइनल पुगेर पनि उपविजेतामै सीमित बनेको नेपाल पहिलोपटक उपाधि जित्ने लक्ष्यमा छ भने एकपटक उपाधिको स्वाद चाखिसकेको बंगलादेश फेरि पनि उपाधि आफ्नै घरमा लैजाने धुनमा छ ।

अघिल्लो संस्करणको फाइनलमा पनि यिनै दुई टिमबीच दशरथ रंगशालास्थित यही मैदानमा प्रतिस्पर्धा भएको थियो । त्यसबेला पनि नेपालले भारतलाई र बंगलादेशले भुटानलाई नै हराएर फाइनलमा स्थान बनाएका थिए ।

अघिल्लो संस्करणको हारको बदला लिएर उपाधिको प्यास मेटाउने नेपालका लागि यो एउटा राम्रो मौका रहेको छ ।

पहिलो संस्करणदेखि पाँचौं संस्करणसम्म लगातार विजेता बन्दै आएको भारतलाई अघिल्लो संस्करणमा जस्तै यस संस्करणमा पनि नेपालले सेमिफाइनलमै रोक्न सफल भएको छ ।

एकपटक सेमिफाइनलसम्म पुगेको र पाँचपटक उपविजेता बनेको नेपालसामु फेरि अर्कोपटक उपाधि जित्ने अवसर सिर्जना भएको छ । नेपाल पाँचपटक उपविजेता बन्दा भारत चारपटक र बंगलादेश एकपटक विजेता बनेका छन् ।

नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले घरेलु दर्शकको साथ सहयोगसँगै नेपाली टिम फाइनलका लागि तयार रहेको बताए । उनले नेपाली दर्शकको विश्वास, आशा र भरोसालाई खेर जान नदिन नेपालले जित्नका लागि खेल्ने बताए । ‘हामी फाइनल जित्छौं भन्ने सोचका साथ खेल्छौं,’ मुख्य प्रशिक्षक तामाङले भने, ‘अघिल्लो संस्करणको फाइनललाई सुधारेर खेल्दै जित्नेछौं ।’

कप्तान एञ्जिला सुब्बाले बंगलादेश पनि बलियो टोली भएकाले सहज रूपमा नलिने बताइन् । ‘हाम्रो बलियो पक्ष भनेको हाम्रो टिम गेम हो,’ उनले भनिन्, ‘टिमका साथीहरूमा आत्मविश्वास छ, एकजुट रहेकाले हामीले राम्रो खेल्छौं र जित्छौं पनि ।’

सन् २०१० को पहिलो संस्करण र सन् २०१४ को तेस्रो संस्करणमा नेपालले बंगलादेशलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो । सन् २०१९ को पाँचौं संस्करणमा नेपालले बंगलादेशलाई ३–० गोलले हराएको थियो । तर, सन् २०२२ देखि बंगलादेश बलियो बन्दै आएको छ ।

रंगशालामा यी सामान लैजान पाइँदैन
सुरक्षालाई ध्यानमा राख्दै एन्फाले फाइनल खेलमा केही वस्तु खेल मैदान दशरथ रंगशालाभित्र लान निषेध गरेको छ । एन्फाले हातहतियार, चुरोट, सलाई, लाइटर, मदिरा र अन्य नशालु पदार्थहरू, झोला र ठूला ब्यागहरू निषेध गरिएको जनाएको छ ।

यस्तै हेल्मेट, पानीका बोतल, क्यान, पत्थर र धातुका मुद्रा, लेजर लाइट लैजान निषेध गरिएको छ । छाता, लिपस्टिक, नेल कटर, कैंची, काइँयो पनि लैजान प्रतिबन्ध गरिएको एन्फाले जनाएको छ ।

टिकट बिक्री आज बिहान ८ बजेबाट मात्रै
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिप फुटबल २०२४ को फाइनल खेलको टिकट आफैंले बिक्री गर्ने भएको छ ।

नेपाल र भारतबीचको सेमिफाइनल खेलका दौरान दर्शक क्षमताभन्दा बढी टिकट बिक्री भएपछि आलोचना भएको थियो । सो दिन दर्शकबाट बोतल, कागजलगायतका वस्तु मैदानमै फ्याँकेपछि केहीबेर खेल नै रोकिएको थियो ।

टेन्डर प्रक्रियामार्फत ८० लाख रुपैयाँमा साफ च्याम्पियनसिपको टिकेटिङ अधिकार पाएको माउन्ट एभरेस्ट स्पोटर््स एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै एन्फाले आफैं टिकट बिक्री गर्ने जनाएको हो ।

फाइनल खेलको टिकट एन्फाले जावलाखेलस्थित खेल मैदान, एन्फा मुख्यालय सातदोबाटो र भद्रकालीस्थित आर्मी हेडक्वार्टरको गेटबाहिरबाट बिक्री वितरण गर्ने मंगलबार पत्रकार सम्मेलनका क्रममा एन्फा उपाध्यक्ष एवं प्रतियोगिता संयोजक दीपक खतिवडाले जानकारी दिए ।

बुधबार (आज) बिहान ८ बजेबाट टिकट बिक्री सुरु हुने पनि उनले बताए । एन्फाले साधारणतर्फ ११ हजार र भीआईपी हजारवटा मात्र टिकट बिक्री गर्ने बताएको छ ।

साधारणतर्फको टिकट दर ५ सय र भीआइपीतर्फको टिकट दर हजार रुपैयाँ तोकिएको छ । टिकट काट्ने क्रममा भीआईपीतर्फ एक जनाले दुईवटा मात्रै टिकट लिन पाउने व्यवस्था गरिएको छ । दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

epaper

ताजा समाचार

पेट्रोलियम अन्वेषण : चीनमा अन्तिम रिपोर्ट तयार हुँदै, मागियो नेपाल सरकारसँग सुझाव