देशमा नागरिकले आफ्ना नागरिक हकहरू प्राप्त गर्नेदेखि देशको समृद्धिसम्मको चाहना राखेका हुन्छन् । जब नागरिकहरूको बलिदानीबाट लोकतन्त्र प्राप्त हुन्छ तब यसका नेतृत्व गर्नेहरू अल्पअवधिमा गलत दिशातर्फ अभिमुख भई राष्ट्रलाई विकृत र विसंगतिमा फसाइराखेको अवस्था धेरैतिर देख्न सकिन्छ । यस्तो परिस्थितिमा आदर्श संस्थाका रूपमा आफ्नो पहिचान कायम गर्न सफल नागरिक समाजले देशको अग्रगमनका लागि महत्वपूर्ण योगदान दिनसक्छ । लोकतान्त्रिक आन्दोलनदेखि सरकारलाई ठीक दिशामा निर्देशित गर्न नागरिक समाज विभिन्न मुलुकमा क्रियाशील रहेका पाइन्छन् । कतिपय समाजमा उल्लेखनीय योगदान यस समाजबाट भएको पनि छ । यसैगरी, केही देशहरूमा विशेषगरी विकास उन्मुख र जनताको चेतनाको स्तर कमजोर बनेका ठाउँहरूमा यी नागरिक समाजका पात्रहरू पनि स्वार्थलोलुप झुण्डका रूपमा प्रतीत भएका छन् । राजनीतिक दलहरूमा आबद्धता दिएका छन् । पूर्वाग्रही पूर्ण तरिकाले आफ्ना क्रियाकलाप हरूलाई केन्द्रित गरिराखेका छन् ।
यस्ता वर्गलाई नागरिक समाजको कोटिमा किमार्थ राख्न सकिँदैन । नागरिक समाज आफैंमा स्वार्थरहित निष्पक्ष पूर्वाग्रहरहित आदर्श व्यक्तित्वहरूको समूह वा संगठन हो । उनीहरूले सार्वजनिक हित, राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका पक्षमा आफूलाई उभ्याउने गर्छन् । त्यसैले, नागरिक समाजहरूको प्रायः सबै लोकतान्त्रिक देशहरूमा उच्च मूल्यांकन गरिन्छ सम्मानको दृष्टिले हेर्ने गरिन्छ ।
प्रतिस्पर्धात्मक र सचेत नागरिक रहेको समाजमा नागरिक समाजले आफ्नो प्रभाव र पकड जमाइराखेको पाइन्छ । लोकतान्त्रिक मूल्य र मान्यताको कडाइका साथ पालना भएका देशहरूमा नागरिक समाजको कल्पना सहजै गर्न सकिन्छ । यस्ता लोकतान्त्रिक संस्थाहरूको राम्ररी विकास हुन सकेका देशहरूमा यस्ता समाजले आफ्नो प्रभावकारिता प्रमाणित गरी आएका छन् । कुनै पनि देशमा सरकारी प्रयासले मात्र देशको विकास र लोकतन्त्रको सुदृढीकरण हुनसक्दैन । यसका लागि सरकारले निजी क्षेत्रसँग प्रभावकारी र सौहार्दताका साथ हातेमालो गर्नुपर्छ । यदि, सरकार नागरिक समाजलगायत निजी क्षेत्रसँग खुला हिसाबले हातेमालो गर्दै वा साझेदारी गर्दै अघि बढेमा त्यस देशमा राजनीतिक स्थिरता र आर्थिक समृद्धि दुवै प्राप्त गर्न सहज हुन्छ ।
अर्को अर्थमा सुशासन कायम गर्न नागरिक समाजको योगदान अत्यन्त महत्वपूर्ण हुने गर्छ । सुसंस्कृत र सुसभ्य समाज भएका ठाउँमा नागरिक समाजले आफ्नो अस्तित्व बचाउन र प्रभावकारिताका साथ कार्यसम्पादन गर्न सहज बन्छ । त्यसैले, यस्ता सुसभ्य, सुसंस्कृत, सुशिक्षित र सचेत नागरिकहरू आफंैमा नागरिक समाजका अभिन्न अंकका रूपमा रहने गर्छन् । नागरिक समाजका पूर्वआवश्यकताका रूपमा आफ्नो उपस्थिति दिने गर्छन् । विशेषगरी नागरिक समाजले देशको कमजोर क्षेत्र, सीमान्तकृत वर्ग, आर्थिक हिसाबले विपन्न समूह आदिका पक्षमा सरकारलाई नीतिहरू, कार्यक्रमहरू, योजनाहरू अघि बढाउन सुझावहरू दिने गर्छन् । ती सुझावको कार्यान्वयनको स्तरका ’boutमा सूक्ष्म प्रकारले अनुगमन गर्दै समयसमयमा सरकारलाई घच्घच्याउने काम गर्छ । नागरिक समाजले प्राप्त गर्ने वैधता, मान्यता र यसको सफलता त्यस देशका नागरिकहरूको प्रकृतिमा नै विशेषगरी निर्भर गर्छ । सरकारसँग नागरिक समाजले कतिपय मामिलाहरूमा साझेदारी गर्छ । साझेदारीकै आधारमा सरकारलाई कल्याणकारी राज्य निर्माण गर्न सहयोग पु¥याउँछ ।
नेपालमा नागरिक समाज अपेक्षाकृत प्रभावकारी हुन नसक्दा लोकतन्त्र सुदृढीकरण हुन सकेको छैन । नागरिक समाजले देश तथा जनहितमा दिएको सुझाव कार्यान्वयनको सूक्ष्म अनुगमन गर्दै समयसमयमा सरकारलाई घच्घच्याउने काम गर्नुपर्छ
नागरिक समाजको कार्यक्षेत्र अत्यन्त व्यापक छ । देश र जनताको पक्षमा गरिने सम्पूर्ण कार्यमा यस समाजले निगरानी गर्छ, सुझाव दिन्छ, अध्ययन गर्छ, विभिन्न ठाउँमा प्रयोगमा आएका असल अभ्यासलाई कार्यान्वयनमा ल्याउन सरकारलाई दबाब दिन्छ । यी सबै काम गरिरहँदा सरकार र सार्वजनिक जिम्मेवारीमा रहेकाहरूको वास्तविक मूल्यांकन यिनै नागरिक समाजबाट हुने गर्छ । नागरिक समाजले सरकारमा रहनेहरूलाई दबाब मात्र सिर्जना गर्ने होइन, सकारात्मक सुझावसहित सहयोग र सहजीकरणसमेत गर्नुपर्छ । यदि, उपयुक्त प्रकारले सहयोग प्रदान गर्दा र सुझाव दिँदा पनि सरकार गम्भीर नभएको अवस्थामा दबाब दिने गर्छ, दिनु पनि पर्छ । विशेषगरी, विविधतामूलक समाज वा बहुलवादी समाजमा नागरिक समाजको भूमिका अत्यन्त ज्यादा देखिन्छ । विभिन्न प्रकारका धार्मिक, सांस्कृतिक, वर्गीय, जातीय आधारमा नागरिकका बीच हुने द्वन्द्वको अवस्थालाई यथा समयमा उपचार गर्ने काम पनि नागरिक समाजको हो ।
यस्ता समाजको उपादेयता र महत्वलाई तानाशाहीतन्त्र, सर्वसत्तावाद, साम्यवादजस्ता गैरलोकतान्त्रिक शासन प्रणाली अवलम्बन गरी आएका देशहरूले अस्वीकार गरिरहेका हुन्छन् । किनकि, नागरिक समाजले स्वेच्छाचारी सरकारको सधैं विपक्षमा उपस्थिति दिने गर्छ । उल्लिखित वर्गका सरकारहरू आफूखुसी शासन सञ्चालन गर्न अभ्यस्त बनेका हुन्छन् । जुनसुकै पनि समाजमा स्रोत र साधन केही तरमारा वर्गहरूको नियन्त्रणमा रहेको हुन्छ । उनीहरूले नै यसको अत्यधिक प्रतिफल लिने गर्छन् । यो विभेदपूर्ण अवस्थाको निराकरण गर्न नागरिक समाजले आफ्नो क्रियाशीलता देखाउनुपर्छ । स्रोत साधनको उपयुक्त र न्यायपूर्ण वितरण गर्न सरकारलाई दिशा निर्देश गर्न सक्नुपर्छ । देशमा भ्रष्टाचारमा लिप्त भएकाहरूले अवैध रूपमा आर्जन गरेको सम्पत्तिको मुद्रा निर्मलीकरण गरी वैध बनाउन प्रयास गर्छन् । तिनै भ्रष्टहरू समाजमा प्रतिष्ठित र सम्मानका साथ बाँचिराखेका हुन्छन् ।
यस अवस्थामा यथार्थ र वास्तविकतालाई पारदर्शी हिसाबले प्रस्तुत गरी कारबाही गराउने काममा सम्बन्धित निकायको ध्यानाकर्षण नागरिक समाजले गराउनुपर्छ । कानुन निर्माण गर्दा छिद्रहरू राखी छिद्रहरूका हिसाबमा कानुन निर्माताहरू फाइदामा रहने अवस्था धेरै देशमा देखिएको छ । सार्वजनिक नीतिहरू पनि तरमारा वर्गलाई नै फाइदा पुग्नेगरी तर्जुमा भएका र यसरी वर्ग विशेषलाई फाइदा पुग्नेगरी तर्जुमा गरिएका नीतिहरू बनाइएका कानुनहरू अत्यन्त प्रभावकारी तवरले कार्यान्वयन भइजाने अवस्था धेरैतिर अनुभूति गरिएको छ । यसलाई अनुगमन गरी यथासमयमा सुधार गराउने काममा नागरिक समाज लाग्नुपर्छ ।
अब विभिन्न देशमा नागरिक समाजले निर्वाह गरेका महत्वपूर्ण भूमिकाहरूका ’boutमा विश्लेषण गरौं । विभिन्न देशहरूका भ्रष्ट शासकहरू देशको स्रोत साधन गैरकानुनी तवरले संग्रह गर्दै ती सम्पूर्ण रकमसमेत लिई विभिन्न देशमा गई सुरक्षित तवरले बस्ने गरेका पाइन्छ । यस्ता शासकको सूची लामो छ । ती शासकलाई यथा समयमा नागरिक समाजहरूले रोक्न नसकेता पनि पछि कारबाही गराएका उदाहरणसमेत पाइएको छ । हङ्कङमा सन् १९६० को दशकमा अत्यन्त ज्यादा भ्रष्टाचार थियो । ह्ङकङका बासिन्दाहरू भ्रष्टाचारमा मूल प्रवाहीकरण हुन बाध्य थिए । उनीहरू अभ्यस्त थिए । त्यहाँका प्रहरी प्रमुखले ठूलो मात्रामा भ्रष्टाचारबाट सम्पत्ति आर्जन गरी आफ्ना परिवार र नजिकका नातागोतासहित लिई एक निजी जेटबाट उडान भर्दै संयुक्त अधिराज्यमा सरण लिन पुगे ।
तत्पश्चात त्यहाँको नागरिक समाजले यस घटनाको खुलेर विरोध ग¥यो र नागरिक समाजलाई समग्र नागरिकको सशक्त सहयोग र साथ रह्यो । नागरिकले त्यहाँका गभर्नरलाई घेराबन्दीमा राखी शीघ्र नियन्त्रण निकाय गठन गर्ने, संयुक्त अधिराज्यमा सरण लिन पुगेका प्रहरी प्रमुख र अन्य सबै व्यक्तिलाई शीघ्र फिर्ता गर्ने, सम्पत्तिसमेत स्वदेशमै ल्याउने र उनीहरूमाथि कारबाही गर्ने, यसका लागि गभर्नरले अभिलम्ब कूटनीतिक वार्ता प्रारम्भ गर्नुपर्नेगरी दबाब सिर्जना ग¥यो । संयुक्त अधिराज्यले हङ्कङका गभर्नरको अनुरोधलाई स्वीकार गरी उनीहरूको देशमा पुगेका प्रहरी प्रमुखलगायतको समूह र स्रोत साधन सबै उनीहरू गएकै जेटबाटै फिर्ता गरिदियो । प्रहरी प्रमुखलाई आजन्म कारावासको दण्ड मिल्यो । उनको सम्पत्ति सबै राष्ट्रियकरण भयो र उनका परिवारको जिम्मेवारी सरकारले लियो । प्रहरी प्रमुखको कारागारमै निधन भयो । यस घटनापश्चात् हङ्कङमा प्रहरी सेवा नागरिकको अत्यन्त नजिकको मित्र बनेको छ ।
त्यस सेवामा भ्रष्टाचार नगन्य छ । प्रहरी सेवा सम्मानित बनेको छ । हङ्कङ अहिले भ्रष्टाचार कम हुने देशहरूको वर्गमा पर्छ । विभिन्न देशमा भएका लोकतन्त्र प्राप्तिका आन्दोलनमा नागरिक समाजले अद्वितीय भूमिका निर्वाह गरेका छन् । नेपालमा पनि २०४६ साल र २०६३ सालका आन्दोलनमा नागरिक समाजको भूमिका कदर गर्नलायक थियो । केही देशमा नागरिक समाजले ठूलाठूला मात्राका रकम प्रवाह हुने सार्वजनिक खरिदसम्बन्धी विषयहरूमा आफ्नो चासो राखी यस प्रक्रियालाई अत्यन्त निष्पक्ष बनाइराखेका पनि पाइन्छ । दक्षिण अफ्रिकामा नागरिक समाजको क्रियाशीलतामा केही उल्लेखनीय कामहरू सन् १९९० को दशकमा भएका छन् । बुँदागत रूपमा उल्लेख गर्नुपर्दा त्यहाँको शासन र शासकीय प्रक्रियाको नजिकबाट अनुगमन गर्ने काम निरन्तर रूपमा नागरिक समाजले गरिरहेको छ । दुईवटा राष्ट्रपतिलाई दण्डित गराउन नागरिक समाज सफल भएको छ । ७ सय ५ जना भ्रष्ट उम्मेदवारहरूलाई निर्वाचनमा नागरिक समाजकै क्रियाशीलतामा पराजित गराइएको थियो । दुईवटा अफ्रिकन मन्त्रीहरूका विरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको थियो ।
ट्रान्सपरेन्सी इन्टरनेसनलका प्रयासहरू पनि अफ्रिकामा उल्लेखनीय पाइएको छ । यस संस्थाले त्यहाँका राजनीतिज्ञहरूका लागि आचारसंहिताको मस्यौदा तयार गरी त्यसलाई कार्यान्वयनमा ल्याउन बाध्य बनाएको छ । भ्रष्टाचारसम्बन्धी मामिलाहरूको अनुसन्धान तहकीकात गरी मुद्दा दायर गर्नेसम्मको काम संसदीय समितिमार्फत निष्पक्ष रूपले गराउने कामको थालनी मलेसियामा नागरिक समाजले गराएको छ । सरकारी क्रियाकलापहरूको स्वस्थ आलोचना गर्ने शैलीको विकास गरिदिएको छ । विपन्न समूहका मानिसहरूको संरक्षकका रूपमा यो संस्था उभिएको छ । जनताको राज्यका क्रियाकलापहरूमा अर्थपूर्ण र उपलब्धिमूलक सहभागिता दिलाउने प्रक्रियाले निरन्तरता पाइरहेको छ ।
जिम्बावेमा त्यहाँका कानुनी निर्माताहरूले नयाँ संविधानको मस्यौदा गरिराखेका थिए । ती मस्यौदामा धेरै प्रकारका कमी कमजोरी रहेकाले ती कमी कमजोरीहरूलाई सुधार गर्न विज्ञहरूको समूहले संविधान बनाउने व्यवस्था मिलाउन कानुन निर्माताहरूलाई सुझाव दिई कार्यान्वयनमा लैजान बाध्य पारेको थियो । नागरिक समाजको विचारमा कानुन निर्माताहरूले सरकार चलाउने र कानुन बनाउने मात्र हो । संविधानजस्तो दूरगामी प्रभाव पार्ने दस्तावेजको मस्यौदा विज्ञहरूले गर्नुपर्छ ।
यसप्रकार नागरिक समाजको महत्व अत्यन्तै ज्यादा भएकै कारण दात्री संस्थाहरूलगायत युरोपियन र अमेरिकन देशहरूले नागरिक समाजलाई परिचालन गर्न महत्व दिइराखेका छन् । उनीहरूले प्रदान गर्ने अनुदानहरूसमेत नागरिक समाजमुखी हुने गर्छ । विभिन्न देशका असल अभ्यासहरूको पालना र कार्यान्वयन विभिन्न समाजमा र देशमा गराउन उत्प्रेरित गर्ने काम पनि नागरिक समाजले विभिन्न ठाउँमा गरिराखेको छ । नागरिक समाजको अभावमा कुनै पनि देशमा लोकतन्त्रको सुदृढीकरण सम्भव हुँदैन । यस अर्थमा पनि नागरिक समाजलाई अत्यन्त आदर्श संस्थाका रूपमा विकास गर्न सबै देशले प्राथमिकतामा राख्नुपर्ने हुन्छ । विकसित र स्रोत साधन सम्पन्न देशहरूमा यही प्रक्रियाले निरन्तरता पाइराखेको छ र उपलब्धिमूलक कार्यहरू सफलतापूर्वक अघि बढिराखेका छन् । नेपालमा भने भिन्न अवस्था छ । यहाँका नागरिक समाजका पात्रहरू कुनै राजनीतिक दलको नजिक नरहेकाहरू पाउने अवस्था छैन । उनीहरू राजनीतिक दलहरूसँग आफ्नो परिचय गाँसिन पाउँदा गौरवान्वित हुने गर्छन् । यथार्थमा नागरिक समाजको मूल्य र मान्यतानुसारका यस्ता समाजहरूको नेपालमा भने अभाव रहेको छ । यही कारणले गर्दा पनि नेपालका नागरिक समाजहरू अपेक्षित रूपमा प्रभावकारी बन्न सकिरहेका छैनन् । यही कारणले गर्दा पनि नेपालमा लोकतन्त्रको सुदृढीकरण र संस्थागत विकास हुन सकेको छैन । सुशासन कायम हुन सकेको छैन । देश धेरै पछि परेको छ ।