काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएका अन्य चारवटा सहकारी संस्थाको रकम अपचलनमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा लामिछानेसँगै उनका व्यावसायिक साझेदार छविलाल बन्जाडे जोशी पनि कास्की प्रहरीकै हिरासतमा छन् ।
लामिछानेमाथि पाँचवटै सहकारीको रकम अपचलनमा अनुसन्धान गर्दै प्रहरी
पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय ५० जना सर्वसाधारणले बचत गरेर राखेको रकम हिनामिना भएपछि जिल्ला अदालत कास्कीले १४ जनाविरुद्ध पक्राउ पुर्जीको अनुमति दिएको थियो । जसमध्ये गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने पनि एक हुन् । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु राई, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, सञ्चालक जोशी र कुमार रम्तेलले हिनामिना गरेको प्रहरीले निष्कर्ष निकालेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र कास्की प्रहरीले गरेको अनुसन्धानमा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले सहकारीको ऋण प्रयोग गरिरहेको गोरखा मिडिया प्रालिले कम्पनी कानुनका आधारभूत मूल्यमान्यतासमेत पालना नगरेको भेटिएको छ । कुनै पनि कम्पनीले आफ्नो योजना देखाएर त्यसैलाई धितो मानी बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिने चलन हुन्छ, जसलाई प्रोजेक्ट लोन(परियोजना ऋण) भनिन्छ ।
तर, गोर्खा मिडिया कम्पनीले कम्पनी ऐनकै उल्लंघन गरेको भेटिन्छ । सहकारीको रकम स्विकार्ने क्रममा गोर्खा मिडियाका सञ्चालकहरूले कुनै पनि प्रक्रिया पूरा नगरेको भेटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतले जनायो ।
बुटवलको सुप्रिम सहकारी र चितवनको सहारापछि अब वीरगन्जको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अनुसन्धान पनि प्रहरीले अगाडि बढाएको हो । बुटवलको सुप्रिम सहकारी ठगीमा पहिलो चरणको अनुसन्धानमा जीबी राई भनिने गीतेन्द्रबाबु राईसमेतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको भए पनि लामिछानेविरुद्ध मुद्दा दायर भएको थिएन ।
दोस्रो चरणमा लामिछानेविरुद्ध पूरक अभियोगपत्र लैजाने तयारीमा प्रहरी छ । प्रहरीले सो सहकारीको ठगीमा लामिछानेमाथि अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी लिइसकेको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको अनुसन्धान पूरा भएपछि लामिछानेलाई पक्राउ गरेर बुटवलको सुप्रिम सहकारी ठगीमा अनुसन्धान हुनेछ ।
यसअघि पहिलो चरणको अभियोगपत्रमा रविका नाममा २ करोड रुपैयाँ गैरकानुनी रूपमा रकम प्रवाह भएको खुलाइए पनि प्रतिवादी बनाइएको थिएन । त्यतिखेर लामिछाने गृहमन्त्री भएका कारण प्रहरीले दबाबमा परेर मुद्दा दर्ता गर्न सकेको थिएन ।
बुटवलको सुप्रिम सहकारीमा पनि ठगी, कीर्ते, संगठित अपराधमा अनुसन्धान गर्ने तयारीमा प्रहरी छ । सो सहकारीमा रास्वपाकै सहमहामन्त्री विपीन आचार्यपत्नी सुरक्षा अधिकारीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा अनुसन्धान पूरा भएपछि वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलनमा अनुसन्धान गर्ने तयारीमा प्रहरी छ । साना पाइला सहकारीबाट ८ करोडबढी गोर्खा मिडिया नेटवर्कमा गएको संसदीय छानबिनले देखाएको छ । यस प्रकरणमा दोस्रो चरणको अनुसन्धानमार्फत अब लामिछाने, जोशीसहितलाई प्रतिवादी बनाउने प्रहरीको तयारी छ ।
देशका प्रमुख सहरहरूमा खोलिएका जीबी राई नेतृत्वका पाँच सहकारीबाट लामिछाने सेयरधनी तथा प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ गैरकानुनी रूपमा परिचालन भएको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा देखाइएको छ ।
पर्साको वीरगन्जमा रहेको सानो पाइला सहकारीको अनुसन्धान पूरा भएपछि लामिछानेमाथि चितवनको सहारा बहुउद्देश्यीय सहकारी संस्था ठगीको रकमका विषयमा अनुसन्धान हुनेछ । यसअघि पहिलो चरणमा अभियोगपत्र दर्ता गर्दा लामिछानेको नाम थिएन । अब सो सहकारी ठगीमा लामिाछानेमाथि अनुसन्धान गरेर अदालतमा पूरक अभियोग दर्ता हुनसक्नेछ ।
सो सहकारीबाट गोर्खा मिडियाका नाममा ४७ करोडबराबरको रकम कारोबार भएको देखिएको यसअघि नै संसदीय विशेष समितिले उल्लेख गरिसकेको छ । सरकारी वकिल कार्यालयले सहारा चितवन सहकारीबाट गोर्खा मिडियामा गएको ४७ करोड रुपैयाँको हिसाबकिताब प्रहरीले प्राप्त गर्न नसकेको भन्दै दोस्रो चरणको अनुसन्धान गर्नुपर्ने औंल्याएको थियो ।
यसअघि चितवनको भरतपुर महानगरपलिका–३ स्थित केन्द्रीय कार्यालय रहेको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी प्रकरणमा पहिलो चरणमा जीबी भन्ने गितेन्द्रबाबु राईसहित १७ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
लामिछानेमाथि कुन–कुन कसुरमा अनुसन्धान हुँदै छ ?
लामिछानेमाथि सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुर र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि प्रहरीले म्याद माग गर्दै छ । सूर्यदर्शन सरकारीमा संगठित रूपमा ठगी गरेकाले ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनेछ ।
सहकारी ठगी र संगठित अपराध गरी ६० दिनसम्म लामिछानेलाई यसरी थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न सक्नेछ । ६० दिन पूरा हुनुअगावै प्रहरीले अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा बुझाउनेछ । सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धान गर्न ९० दिनसम्म म्याद थपको माग प्रहरीले गर्न पाउनेछ । प्रहरीले सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।