पाल्पा । तिहारमा पाल्पाली झिनियाँ रोटीको माग बढेसंँगै व्यापार पनि फस्टाएको छ । तिहारका खानेकुरामा अन्य परिकारसँगै झिनियाँ रोटी मिसाउने चलनले माग र व्यापार दुवै बढेको हो । रङ्गी विरङ्गी झिनियाँ रोटी धेरैले मनपराउने गर्दछन् ।
बजारमा एक सय देखि ५ सयसम्ममा प्रतिदर्जन झिनियाँ रोटी बिक्री भएको छ । जिल्लाको तानसेन, रामपुर, हार्थाेक, ताँहु र सराई लगायतका अधिकांश नेवारी बस्तीमा झिनियाँ रोटी बनाउने घरेलु उद्योगहरु रहेका छन् ।
धेरै घरपरिवारको प्रमुख आयश्रोत झिनियाँ रोटी बनाउने पेशा बनेको छ । झिनियाँ रोटी बनाउन सकेमा बजारको समस्या नभएको तानसेनका उद्योगी सुरेन्द्र श्रेष्ठले बताए ।
जिल्लामा करिब २ सय घरपरिवारले झिनियाँ रोटी बनाएर घरबाटै राम्रो आम्दानी गरेका छन् । एक परिवारले बार्षिक २ लाख भन्दा बढी आम्दानी गर्न सफल भएका छन् । नेवारी समुदायमा बढि चलन चल्तीमा रहेको झिनियाँ रोटी अन्य समुदायमा पनि लोकप्रिय बनेको छ ।
देख्दा राम्रो, पकाउन पनि सजिलो र सबैले रुचाउने भएकोले झिनियाँ रोटी किनेको तानसेन नगरपालिका वडा नंं ४ का ध्रुव कालिकोटाले बताए । पाल्पाको झिनियाँ रोटी बुटवल, नारायणगढ, पोखरा र काठमाडौसम्म बिक्री हुने गरेको छ ।