कपिलवस्तु । कपिलवस्तु जिल्ला फुटबल लिगको उपाधिगोल्डेन स्टार युवा क्लबले हात पारेको छ । बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा शुक्रवार भएको लिगको फाइनल खेलमा शान्ति सिर्जनालाई टाई ब्रेकरमा हराउँदै गोल्डेनले उपाधि जितेको हो ।
गोलरहित बराबरीमा सकिएको पहिलो हाफपछि दोस्रो हाफमा सुजन खत्रीको गोलमा शान्ति सिर्जनाले अग्रता लिएको थियो । गोल्डेनका लागि मिलन राना मगरले दोस्रो हाफको अन्तिम समयमा गोल गरेपछि खेल टाई ब्रेकरमा गएको थियो ।
टाई ब्रेकरमा शान्ति सिर्जनालाई गोल्डेनले ४–३ गोलले हराउँदै उपाधि हात पारेको हो । बिहीबार दोस्रो सेमिफाइनल खेलमा मुहान एफसीलाई स्तब्ध पार्दै गोल्डेनले शान्ति सिर्जनासँगको फाइनल भेट पक्का गरेको थियो ।
उपाधि हात पारेसँगै गोल्डेनले ५५ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उपविजेता बनेको शान्ति सिर्जनाले ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।
कपिलवस्तु जिल्ला फुटबल सङ्घको आयोजनामा कार्तिक ७ गतेदेखि सुरु भएको खेलमा जिल्ला भित्रका १० टोलीको सहभागिता रहेको थियो ।