पोखरा । पोखरा घुम्न आएका विदेशी पर्यटकले नेपाली दिदीबहिनीसँग भाइटीका लगाएका छन् । होटल संघ पोखरा आयोजनामा हिजो आइतबार १७ औं संस्करणको भाइटीका महोत्सव भएको हो । १२ देशका करिब ६० जना पर्यटकले नेपाली दिदीबहिनीसँग सामूहिक भाइटीका लगाएको संघ अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
नेपाली संस्कृति संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको महोत्सव संयोजकसमेत रहेका सुवेदीले जानकारी दिए । लेकसाइडको होटल ल्याण्डमार्कमा भएको महोत्सवका सहभागी पर्यटकलाई रेन्वो चिल्ड्रन होम नेपालका छात्राहरुले टीका लगाइदिएका थिए ।
सप्तरंगी टीका ग्रहण गरेका पर्यटकलाई छात्राहरुले ढाका टोपी लगाइदिएर सेलरोटीलगायतका परिकार पस्किएका थिए । सँगै देउसीभैलो र नाचगान कार्यक्रम पनि देखाए । सहभागी पर्यटक पनि नाचगानमा साथ दिंदै रमाए ।
आफ्नो नेपाली नाम लिला राखेकी चिनियाँ एक पर्यटकले भाइटीका लगाउन पाउँदा प्रफुल्लित भएको र पोखरा शहर पनि आफूलाई उत्तिकै सुन्दर लागेको प्रतिक्रिया दिइन् ।
महोत्सवमा भारत, चीन, स्पेन, जापान, भियतनाम, मंगोलिया, अष्ट्रेलिया, बेलायत लगायतका पर्यटकले भाग लिएका हुन् । यहाँको संस्कृति र रहनसहन’bout जान्ने मौका पाएकोमा पर्यटकले खुसी ब्यक्त गरे ।
घरमा जसरी दिदीबहिनीबाट टीका ग्रहण गरिन्छ, त्यही तरिकाले पर्यटकलाई टीका लगाइदिने र तिहार’bout जानकारी दिंदै पर्यटकलाई दोहोर्याएर पोखरा आउने वातावरण बनाउन महोत्सवले सघाउने विश्वास संघ अध्यक्ष सुवेदीले व्यक्त गरे । संघ महासचिव ढकालका अनुसार पर्यटकको उपस्थिति बढेपछि तीन चरण गरेर टीका लगाउनुपरेको थियो।
उता, ह्वाइट कोरल स्पा एकेडेमीले पनि भाइटीका अवसरमा पोखरामा फेस्टिभल अफ लाइट आयोजना गरेको संचालक कमला गिरीले बताइन् । कार्यक्रममा करिब १५ जना विदेशी पर्यटकलाई एकेडेमीका छात्राहरूले सप्तरंगी टीका लगाएर नेपाली शैलीको सगुन पस्केका थिए ।
उनीहरूले फेरि फेरि पनि नेपाल आउँदा भाइटीकामा सहभागी हुने वचन दिएका थिए । लेकसाइड स्ट्रिट नम्बर ११ मा रहेको उक्त एकेडेमी कमला गिरी र निशा बुढाले संचालन गरेका हुन् ।