लमजुङ । लमजुङको दुराडाँडामा खुला भजन र चुट्काका अलग अलग प्रतियोगितामा सम्पन्न भएको छ । ऐतिहासिक बीर पुरुष खजे दुराको ४९ औं स्मृती दिवशका अवसरमा खजे दुरा पार्क संरक्षण समितिले सो प्रतियोगिता आयोजना गरेको हो ।
खुला भजन प्रतियोगितामा सुन्दरबजार नगरपालिका– १० को कोइरालाफाँट युवा क्लबको भजन मण्डली समूह पहिलो भएको छ । त्यस्तै सोही नगरपालिका– ४ को कछारथोक भजन समुह दोस्रा भएको छ । यसैगरी, दुरा सेवा समाज कास्की समुह तेस्रो भएको आयोजकको भनाइ छ ।
चुट्का तर्फ सुन्दरबजार नगरपालिका– ३ को रोटेपानी चुट्का समुह पहिलो भएको छ भने सुन्दरबजार नगरपालिका–५ को कालिका मिलन क्लब दोस्रो तथा सुन्दरबजार नगरपालिका– ७ को सुन्दरबजार चुट्का समूह तृतीय र दुरा सेवा समाज कास्की समुहले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा भजन र चुट्का दुबै तर्फ पहिलो हुने समुहलाई १०–१० हजार, दोस्रो हुने समूललाई ७–७ हजार, तेस्रो स्थान हासिल गर्ने समूहलाई ५–५ हजार तथा सान्त्वना स्थान हासिल गर्ने समूहलाई ३–३ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका अध्यक्ष देवीजङ दुराले बताए । उनका अनुसार समितिले स्थापनाकालदेखि नै मौलिक संस्कृति र परम्पराको संरक्षणमा जोड दिदै विविध कार्यक्रम गरी आएको छ ।
‘मौलिक परम्परागत संस्कृति जोगाउन चुनौति खडा भएको स्थिति छ ।’ दुरा सेवा समाजका केन्द्रीय अध्यक्ष सुरेश दुराले भने । उनका अनुसार त्यसतर्फ प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस किसिमका प्रतियोगिता आयोजना गरेको हो ।
उनका अनुसार प्रतियोगिताको भजनतर्फको पहिलो पुरस्कार दुरा सेवा समाज खजे गाउँ ईकाइ समिति, दोस्रो पुरस्कार पिपलडाली तुर्लुङकोट आमा समुह र कालिका मिलन युवा क्लब, तेस्रो पुरस्कार मिलन बस्ती समुहले प्रायोजन गरेका हुन् । यसैगरी, ‘चुट्कातर्फ पहिलो पुरस्कार कुन्छा रोटेपानी आमा समुह, दोस्रो पुरस्कार खजे गाउँ आमा समुह, तेस्रो पुरस्कार चौतारी आमा समुह खजे गाउँले प्रायोजन गरेका हुन् ।’ उनले भने ।
प्रतियोगिता संचालनको लागि सुन्दरबजार नगरपालिका– ३ र ११ को कार्यालयले समेत नगद दश÷दश हजार रुपैया सहयोग गरेको वडानं– ११ का अध्यक्ष समेत रहेका कार्यक्रमका सञ्चालक ओम शिरिस दुराले जानकारी दिए ।
आयोजकले मौलिक लोक संस्कृतीको संरक्षणको लागि यस्ता प्रतियोगिताको आयोजना गरिए पनि हिजोआज पश्चिमा संस्कृतितर्फ रमाउने प्रवृत्ती बढेका कारण प्रतियोगितामा भाग लिने टिमको संख्या न्युन हुने गरेको आयोजक समितिका अध्यक्ष दुराको भनाइ छ ।
खजे दुरा र शताब्दीऔैं अघि उनले मुलुकलाई दिएको योगदानलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउने र सोही अनुरुप उनलाई सम्मान दिलाउने उद्देश्यले वर्षेनी उनको स्मृतिमा इतिहासिक थलो दुराडाँडामा दिवस मनाईदै आएको छ । उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
दुरा सन्ततिले खजे दुरालाई ऐतिहासिक बीर पुरुषको सम्मान दिँदै स्मरण गर्दै आएका छन् । दुरा र उनको समूहले विक्रम सम्वत १५५० को असार १५ गते रविबारका दिन पाल्पाबाट कास्की हुँदै लमजुङ ल्याए जशमू शाहलाई राजगद्दी गराएको इतिहास पाइन्छ ।
खजेपार्क संरक्षण समितिको अध्यक्ष देवीजङ दुराको अध्यक्षतामा भएको कार्यक्रममा दुरा सेवा समाजका केन्द्रीय अध्यक्ष सुरेश दुरा, जन प्रतिनिधिहरू, पार्टीका प्रमुख तथा प्रतिनिधिहरू, स्थानीय संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, लगायत बिभिन्न ठाउँबाट आएका दुरा जातिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन सुन्दरबजार नगरपालिका– ११ का वडाध्यक्ष तथा दुरा सेवा समाजका जिल्ला सचिव ओमशिरिष दुराले गरेका थिए ।