काठमाडौं । आफ्नो पछिल्लो चलचित्र इसारामा १२ वर्ष अघि अभिनय गरेका अभिनेता उत्तम प्रधान त्यसपछि सिक्किममै आफ्नो व्यबसायमा व्यस्त भए । सात वर्ष अघि चलचित्र दर्पण छायाँ २ मा केमियो (अतिथि) कलाकारका रुपमा देखिएका यिनै अभिनेता अब मुख्य भूमिकामार्फत नेपाली दर्शकमाझ आउँदैछन् ।
बुधबार नयाँ चलचित्र ‘कल्ली’को मुख्य चरित्रमा अनुबन्धित भएपछि राजधानीसँग फोनामा कुरागर्दै उत्तमले भने,‘१२ वर्षमा खोला फर्कन्छ भन्छन्, म पनि १२ वर्षपछि चलचित्र कल्लीमार्फत नेपाली दर्शकमाझ फेरी आउने भएँनी । नेपालबाट आउनु भएका निर्माता किरण नेपालीज्यू र निर्देशक लक्ष्मण सुनारज्यूको चलचित्र कल्लीमा भर्खर अनुबन्धित भएँ ।’
२३ वर्ष अघि चलचित्र दर्पण छायाँबाट अभिनेताको रुपमा नेपाली चलचित्र उधोगमा डेब्यु गरेका उत्तमले त्यसपछि एक दशकपछि एक दर्जन भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरे । त्यसपछि सिक्किम सरकारबाट त्यहाँको चलचित्र विकाश बोर्डको अध्यक्षको जिम्मेवारी पाएर उनी सिक्किम फर्किएका थिए । अध्यक्षको कार्यकाल सकिएपछि सिक्किममै व्यबसाय गर्दै आएका उत्तमले अब नेपाली चलचित्रलाई निरन्तता दिने राजधानीलाई बताए ।
निरुता सिंहसँग गत महिना एउटा म्युजिक भिडियोको रिलिजका लागि नेपाल आएका उत्तमले आफुलाई राम्रो भूमिकामा प्रस्ताव आए चलचित्रमा काम गर्ने सञ्चारकर्मीलाई बताएका थिए । उनको सोही अन्तरवार्ता हेरेर किरण र लक्ष्मणले सिक्किम पुगेर उत्तमलाई कल्लीमा अनुबन्धित गरेका रहेछन् । तिहारपछि छायाँकनमा जाने भनिएको यो चलचित्रमा सबै कलाकार अनुबन्धित भएकाले अब आफुहरु अर्को साता छायाँकनको लागि कर्णाली जाने निर्माता किरणले राजधानीलाई बताए । कल्लीको छायाँकनको लागि उत्तम पनि सिक्किमबाट नेपाल आउने भएका छन् ।
रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने कल्लीको छायाँकन दशैं अघि ने गर्ने भनिए पनि चलचित्रबाट पल शाहलाई हटाएर सौगात मल्ललाई राखेपछि यसको छायाँकन मिति सरेको हो ।अब यो चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, उत्तम प्रधान, अर्पण थापा, बुद्धि तामाङ, कमलमणि नेपाल हुनेछन् ।