धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ४६६ मृतकका आफन्तलाई २३ लाख ३० हजार रुपैयाँ दाहसंस्कार खर्चबापत उपलब्ध गराएको छ । उपमहानगरपालिकाले विपन्न परिवारलाई हालसम्म सो रकम दाहसंस्कार बापत उपलब्ध गारएको हो ।
धनगढीमा कुनै नगरवासीको मृत्यु हुँदा आर्थिक अभावमा दाहसंस्कार गर्न समस्या नहोस् भनेर उपमहानगरपालिकाले मृतकको घरैमा नगर प्रहरी पठाएर आफन्तलाई दाहसंस्कार गर्न नगद पाँच हजार दिने गरेको छ ।
२०८० असोज १ गतेबाट सुरु भएको यो सेवाबाट हालसम्म ४६६ परिवार लाभान्वित भएका छन् । उपमहानगरपालिकाले एक वर्षमा २३ लाख ३० हजार रुपैयाँ दाहसंस्कारमा दाउरा खर्चका लागि मृतकका परिवारलाई वितरण गरेको जनाएको छ । दुईजना नगर प्रहरी मृतकको घरमै गएर रकम हस्तान्तरण गर्ने र उपमहानगरपालिकाको झण्डा ओढाएर सलामी दिने गरेका छन् ।
धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक पदमबहादुर गैरेले प्रतिमृतकका परिवारलाई पाँच हजारका दरले दाउरा खर्च दिने गरिएको बताए । उनले भने, ‘दाहासंस्कार धनगढीका १९ वटा वडाहरुमा मात्र हो । टायरमा जलाउन नपरोस भनेर दिने गरेका छौ । केहीलाई सलामी मात्र दिने गरेका छौ ।’
त्यस्तै धनगढी उपमहानगरपालिकाले घर तथा अस्पतालबाट घाटसम्म तथा अस्पतालबाट घरसम्म शव लैजान निःशुल्क शववाहन सेवा उपलब्ध गराउँदै आएको छ । २०८० पुस ९ गतेदेखि निःशुल्क रुपमा शव चिस्यान सेवा सुरु गरेको थियो ।
उपमहानगरभित्र कुनै नागरिकको निधन भएमा प्रदान गरिदै आएको सेवा छिमेकी पालिकाहरुमासमेत विस्तार गरिएको छ । उपमहानगरभित्र कार्यरत नगर प्रहरीले कैलालीको कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर र पुनर्वास नगरपालिकाका नागरिकलाई शव चिस्यान सेवा उपलब्ध गराउँदै आएको छ ।
उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक गैरेले कन्ट्रोलमा खबर आएपछि यस्तो सेवा दिने गरेको बताए । उनले भने, ‘हाम्रो कन्ट्रोलमा फोन आउने गरेको छ । फोन आएपछि हामीले निःशुल्क शव चिस्यान सेवा दिने गरेका छौ ।’ उपमहानगरपालिकाले हालसम्म १९५ मृतकका परिवारलाई यस्तो सेवा उपलब्ध गराइसकेको छ ।
नगर प्रहरीले १९५ मृतक शरिरलाई उनीहरुका सन्तान तथा आफन्तको प्रतिक्षाका लागि शव चिस्यान यन्त्रमा राखेको छ । कसैको मृत्यु भएपछि टाढा रहेका आफन्त आइपुग्न ढिलो हुने भएपछि शवलाई चिस्यान केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ । मृतकका आफन्त काम विशेषले घरबाहिर भएका र उनीहरु नआउन्जेलसम्म शवलाई सुरक्षित राख्न निःशुल्करुपमा शव चिस्यान सेवाको उपयोग गर्दै आएका छन् ।
उपमहानगरले विद्युतबाट सञ्चालन हुने पाँचवटा शव चिस्यान मेसिन खरिद गरेको छ । तीनवटा धनगढीबासीका लागि तथा दुईवटा चिस्यान मेसिन छिमेकी पालिकालाई उपलब्ध गराउने गरिएको छ ।