अमेरिका बसाइ नयाँ स्थानको नयाँ अनुुभवसँगै बितिरहेको छ । यहाँ आएदेखि घुम्नुु नै पहिलो काम भएको छ । छोरीज्वाइँलाई फुर्सद हुनेबित्तिकै नयाँ स्थान घुम्न जाने साइत जुरिहाल्छ । त्यसमाथि यहाँ आएपछि नयाँ किसिमका सम्बन्धहरू पनि विकास भइरहेका छन् । ती सम्बन्धले पनि विभिन्न स्थान घुम्न सघाइरहेका छन् । यस ’roundका पार्क, सपिङ सेन्टर, हिस्टोरिकल प्लेस, ब्रिच तथा थिएटरहरू भ्रमणका गन्तव्य बनिरहेका छन् । टेक्सासको उत्तरमा रहेको डालस इतिहास र संस्कृतिका दृष्टिले निकै प्रसिद्ध छ ।
उपनिवेशवादीहरूले १८औं शताब्दीमा टेक्सास क्षेत्रलाई नयाँ स्पेनको भाइसरोभल्टीको दाबी गरेका थिए । स्पेनीहरूले टेक्सासको तटलाई नक्सांकन गरेका थिए । सन् १८१० मा मेक्सिको र स्पेनका बीच विद्रोह भयो । त्यस विद्रोहपश्चात् मेक्सिको टेक्सास क्षेत्रलाई कब्जा गर्न सफल भयो । पछि फ्रान्सले पनि यस क्षेत्रको दाबी गरेको थियो । सन् १८१९ मा संयुक्त राज्य अमेरिका र स्पेनबीच एडम्स ओनिस सन्धि भएको थियो । त्यस क्षेत्रमा सन् १८२१ सम्म स्पेनिसहरूले शासन गरे ।
जब, मेक्सिकोले स्पेनबाट स्वतन्त्र भएको घोषणा ग¥यो, त्यसपछि त्यस क्षेत्र मेक्सिकोका कोहुइला राज्यका हिस्सा मानियो । सन् १८३२ र १८३३ मा टेक्सासमा दुईवटा निर्वाचन भयो । त्यतिखेरै स्थानीयले टेक्सास छुट्टै राज्य बनाउनका लागि माग गरेका थिए । सन् १८४१ मा यस क्षेत्रलाई डालस नामक स्थायी बस्तीका रूपमा विकास गरियो । सन् १८४० को दशकमा मेक्सिको र अमेरिकाबीच द्वन्द्व चलेको थियो । त्यस द्वन्द्वपछि संयुक्त राज्य अमेरिकाद्वारा सन् १८४५ मा टेक्सासलाई आफ्नो कब्जामा लिई आफ्नो मुलुकमा गाभिएको घोषणा गरेको थियो ।
डालसलाई दक्षिणी संयुक्त राज्य अमेरिकाको ठूलो महानगरीय क्षेत्रको मुख्य केन्द्र र ठूलो अन्तरदेशीय महानगरी क्षेत्र पनि हो । फोर्ट वर्थपछिको सबैभन्दा ठूलो जनसंख्या डालसमा रहेको छ । कोलिन, डेन्टल, काउफम्यान र रकवाल काउन्टीहरूमा फैलिएको डालस प्रमुख रेलमार्ग र अन्तर्राष्ट्रिय विमानस्थलको एक बलियो औद्योगिक क्षेत्र, वित्तीय केन्द्र र प्रमुख अन्तरदेशीय बन्दरगाहका रूपमा विकास भएको छ । उत्तर र पूर्वी टेक्सासको डालस प्रारम्भिक दिनमा कपास, गाईबस्तु र तेल उत्पादनमा चर्चित थियो भने भौतिक विकासका क्रममा प्रमुख रेलमार्गहरूको निर्माण यस क्षेत्रको महत्वपूर्ण उपलब्धि बनेको थियो । हाल डालसमा उद्योग कलकारखाना, वित्तीय संघसंस्था, ठूला कम्पनीहरू, कलेज तथा विश्वविद्यालयहरू छन् । त्यहाँस्थित अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकाकै व्यस्त विमानस्थलमध्येमा पर्ने गर्छ ।
डालसको डेली प्लाजामा छैंठो तला संग्रहालयदेखि प्रकृति र विज्ञानको आधुनिक संग्रहालयका साथै विभिन्न सांस्कृतिक सम्पदाहरूको दृश्यावलोकन गर्न सकिन्छ । डेली प्लाजा डालसको महत्वपूर्ण स्थान हो । ३० मिटर अग्लो भवन सात तलाको छ । भवनमा प्रयोग गरिएका झ्यालहरू पुरातात्विक छन् । यस भवनको भूमि सारा होर्टन ककरेल भन्ने एक नागरिकले दान गरेका रहेछन् । यस प्लाजाको नाम जर्ज ब्यानरम्यान केली नामबाट राखिएको हो । उनी नागरिकद्वारा रुचाइएका एक नेता थिए । यस क्षेत्रको पुनः उत्थानका लागि उनले सशक्त अभियान चलाएका थिए । अमेरिकाका ३५औं राष्ट्रपति जोन एफ केनेडीको हत्यापछि भवनको छैटौं तलामा स्नाइपरको पर्च र राइफल भेटिएको थियो । संग्रहालय सोमबार र मंगलबार बन्द रहनेछ भने अन्य बार बिहान १०ः०० बजेबाट खुला रहनेछ । संग्रहालय अवलोकन गर्न टिकट अग्रीम बुकिङ गर्नुपर्ने हुन्छ । टिकटको शुल्क वयस्कलाई २२, वरिष्ठलाई २० र युवालाई १८ यूएस डलर लाग्छ । संग्रहालय जान लिफ्टका साथै भ¥याङको पनि व्यवस्था छ । संग्रहालयका प्रवेशद्वारमा सेनिटाइजर राखिएको छ । आगन्तुक सबैले हातमा सेनिटाइजर प्रयोग गर्नुपर्ने हुन्छ । प्रत्येक २÷२ घन्टाको अवधिमा सरसफाइ गरिन्छ ।
ऐतिहासिक फोटो, भिडियोका साथै विभिन्न संस्कृति झल्कने फोटा तथा मूर्तिहरू त्यहाँ हेर्न पाइन्छ । त्यहाँ फोटो खिच्नका लागि स्वीकृत लिनुपर्ने रहेछ । छैठांै तलाको प्रदर्शनी कक्षमा आगन्तुकहरू घन्टौं समय लगाउँछन् । डालस काउन्टी ऐतिहासिक फाउन्डेसनद्वारा संग्रहालय सञ्चालनमा आएको छ । यो संस्था गैरनाफामूलक संस्था रहेछ । स्वेच्छाले यहाँ जिन्सी र नगद पनि सहयोग गर्न सकिँदो हरेछ । सन् १९६३ मा प्लाजाको छैटौं तलामा तत्कालीन राष्ट्रपति केनेडीमाथि गोली प्रहार भएको थियो र उनको त्यहीँ निधन भएको थियो । केनेडीको सम्मानमा त्यहाँ स्मारकसमेत बनाइएको छ । डालसको काउन्टी प्रशासन रहेको यस भवनको मर्मत कार्य गर्न काउन्टीले ७ लाख डलर खर्च गरिसकेको रहेछ ।
डालसको डाउन टाउन क्षेत्र पनि हेर्न लायक छ । यहाँ मेट्रो गाडी, रेल गाडी सञ्चालन हँुदै आइरहेको छ । नेपालको ठमेलजस्तै यहाँ व्यापारिक केन्द्र छ । ठुुल्ठुुला अर्थात् ५०÷५५ तलाका व्यावसायिक भवनहरू छन् । सडक छेउछाउमा होटल, रेस्टुरेन्टका साथै बाटोका वरिपरि कपडा पसलहरू छन् । पार्किङ क्षेत्रलाई व्यवस्थित गर्न भुइँतलादेखि १०औं तलासम्म सःशुल्क पार्किङ क्षेत्र बनाइएका छन् । बिदाका समयमा युवापुस्ताको जमघट यहाँ बाक्लै हुने गर्छ । त्यसबेला फुुड फेस्टिबलजस्तै खानेकुराहरू सडकमा खरिद बिक्री गरिन्छन् । पश्चिमेली गीतसंगीतका ठुल्ठुला आवाज यत्रतत्र घन्किरहेका हुन्छन् । नाचगान पनि हुने गर्छ । चाडपर्वहरूमा प्रत्यक्ष सांगीतिक कार्यक्रम पनि हुने रहेछ । तसर्थ, डालसको डाउन टाउन क्षेत्र व्यापारिक र मनोरञ्जन थलोका रूपमा चिनिन्छ ।
एटी एन्ड टी स्टेडियम डालसको अलिंगनमा रहेको छ । यो अलिंगन सहरको स्वामित्वमा छ । अमेरिकामा फिफा सन् २०२६ मा विश्वकप फुटबल आयोजनाका लागि बनाइएका ११ वटा स्टेडियममध्ये यो एक हो । सन् २००९ मा निर्माण कार्य सम्पन्न भएको स्टेडियमको नाम राख्ने क्रममा धेरै चर्चा, परिचर्चा भए । सो स्टेडियमलाई प्रशंसकहरूले विभिन्न उपनाम दिए । जस्तै ः जेरी वल्र्ड, डेथ स्टार, काउवाय कैथेड्रल, जोरसिक पार्क आदि । तर, अन्ततः अहिलेकै नाम छनोट भयो । ९१ मिटर अग्लो स्टेडियम सबैभन्दा ठूलो गुम्बज संरचनामा बनेको छ । यो काउवायजको घर मात्र होइन, मनोरञ्जन र खेलकुदका लागि पनि प्रयोग हुन्छ । यहाँ विशेषगरी फुटबल, सांगीतिक कन्सर्ट, बास्केटबल आदि कार्यक्रम हुने गर्छ । खेल मैदान उत्तर–दक्षिण दिशातर्फ फर्काएर बनाइएको छ । जसले गर्दा सूूर्यको प्रकाश खेलाडीको आँखामा सिधै पर्दैन । ८० हजार दर्शक अट्नसक्ने स्टेडियममा दुईवटा ठूला भिडियो बोर्ड राखिएको छ ।
विशाल खेल मैदानमा छत राख्न र झिक्न मिल्ने व्यवस्था गरिएको छ । छत राख्न र झिक्न १० मिनेटको समय लाग्ने रहेछ । यसको डिजाइन इन्जिनियरिङ फर्म वाल्टर पी मुरले गरेका हुन् भने फुटबल मैदान भने हेलास कन्स्ट्रक्सनले निर्माण गरेको रहेछ । विभिन्न खेल तथा कार्यक्रम हुँदा टिकटको व्यवस्था गरिएको हुुन्छ । यो स्टेडियम बनाउन १ दशमलव १५ बिलियम डलर खर्च भएको रहेछ । सन् २०२६ मा हुने फिफा विश्वकप खेलमध्ये ११ खेल अर्थात् समूूह चरणका ५ राउन्ड अफ ३२ का दुई खेल, राउन्ड अफ १६ खेल र एक सेमिफाइनल खेल यसै स्टेडियममा हुनेछन् ।
डाउन टाउनभित्र कुले भार्डमा अवस्थित रियुनियम टावर डालसको प्रतीकका रूपमा रहेको छ । यस भेगको मुटुमा रहेको टावरले सहरकै सुुन्दरता बढाएको छ । गोलाकारमा निर्माण भएका टावरको उचाइ १ सय ७१ मिटरको छ । १९औं शताब्दीको कम्युन ला रियनियनको नाममा स्थापित यो टावर आर्किटेक्चलर फर्म बेल्टन बेकेट एन्ड एसोसिट्सद्वारा डिजाइन गरिएको हो । टावरमा जानका लागि लिफ्टको व्यवस्था गरिएको छ । २ सय ५० वटाभन्दा बढी रंगीन बत्तीहरू राखिएको टावरमा भ्रमण गर्नका लागि टिकट काट्नुपर्ने रहेछ । टिकटको दर ठूलालाई २४ र सानालाई १४ यूएस डलर लिइँदो रहेछ । यस टावरलाई ‘द बल’ भनेर पनि चिनिन्छ । टावरको माथिल्लो भागबाट डेली प्लाजाका अलावा सहरका सबैजसो ठाउँ स्पष्ट देखिन्छ । सूर्यास्त भएपछि रातको समयमा टावरमा चम्किरहेको बत्तीको आकर्षणले भ्रमणकर्ताको मन खिच्छ ।
अमेरिकाको पुरानो सामुदायिक थिएटरका रूपमा टेक्सासको ओकक्लिपमा रहेको थिएटरलाई लिइन्छ । स्थानीय एक विलक्षण अर्बपति होवर्ड ह्याजिलद्वारा २१ अप्रिल १९३१ मा यो थिएटर खोलिएको हो । ली हार्व ओसवाल्डलाई डालस प्रहरी अधिकृत जेडी टिपिट र राष्ट्रपति जोन एफ केनेडीको हत्या गरिएको ठाउँमा स्थापना गरिएको मानिने रहेछ । सन् १९६३ मा यस थिएटरले ऐतिहासिक महत्व पायो । प्रिमियम अडियो भिजुअल टेक्नोलोजी प्रयोग गरेर खोलिएको थिएटर भव्य दुई तलाको छ । सन् २०२२ मा यसको पुनर्निर्माण र पुनःस्थापना गरिएको रहेछ ।
प्राकृतिक ध्वनिलाई प्राथमिकतामा राखेर निर्माण गरिएको यस थिएटरको भित्री भाग वायुमण्डलीय शैलीमा व्यवस्थापन गरिएको छ । यो थिएटर जसरी पृथ्वीमा दिन र रात हुन्छ, त्यसै अनुरूपको दृश्य मिलाउन मिल्ने बनाइएको छ । तल्लो तलामा ६ सय ७० र बालकोनीमा १ सय ६५ सिट रहेको थिएटर सबै दिन खुला रहन्छ । यहाँ चलचित्र, साना नाटक, प्रहसनजस्ता अनेक कार्यक्रमका साथै हास्य कलाकारका प्रदर्शनी अनि प्रत्यक्ष सांगीतिक कार्यक्रम पनि हुने गर्छ । यस थिएटरमा लियोन रसेल, मारेन मेरिसा, ज्याक इन्ग्राम, ल्यारी जो टेलर, कुडर ग्रा, रस्टी वेयर, एली याङ्ग ब्यान्ड, टमी अल्भरसन, ¥यान्डी रोजर्स ब्यान्ड, तेजस ब्रदर्श र ग्यारी पी ननजस्ता लाइभ एल्बमको रेकर्ड पनि गरिएको रहेछ ।
टेक्सासमा बसोबास गर्ने नेपालीहरूको संख्या धेरै नै छ । यहाँ नेपालीहरूको संख्या लाखको हाराहारीमा रहेको अनुमान गरिएको छ । नेपालको राजदूतावास वासिङ्टन डीसीमा रहेको छ । पासपोर्ट नवीकरण, गैरआवासीय नेपाली कार्ड, भिसा सेवा, ट्राभल डकुमेन्ट बनाउनका लागि त्यहाँ जानुपर्ने हुन्छ । त्यहाँसम्म यात्रा गर्न कठिनाइ र आर्थिक बोझसमेत पर्न जान्छ । डालसमा काउन्सुलर कार्यालय स्थापना गर्न यहाँका नेपाली नागरिकले नेपाल सरकारलाई अनुरोध गर्दै आइरहेको कुरा यहाँ आएपछि बुझियो । यदि, यहाँ काउन्सुलर कार्यालयको स्थापना गरेको खण्डमा टेक्सासका साथै अन्य राज्यमा बसोबास गर्ने नेपाली नागरिकले पनि सहज रूपमा सुविधा पाउने कुरामा टेक्सासमा ८ वर्ष अघिदेखि बसोबास गर्दै आएका काठमाडौं निवासी राहुल रिजालको छ ।
सन् १९९२ मा डालसमा स्थापना भएको वल्र्ड एक्येरियम (चिडियाघर) निकै प्रसिद्ध छ । एउटै ढुंगामा बनाइएको चिडियाघरको विशालता तारिफयोग्य छ । तीन तहमा बनेको चिडियाघर चाखलाग्दो पनि छ । ४० फिट लामो गिलास इन टनेलबाट बनाइएको सो चिडियाघरमा घुमघाम गर्दा जंगल र नदीमा सफर गरेको भान हुन्छ । हाइब्रिड चिडियाघरमा वन्यजन्तु र वनस्पतिहरूको संयोजनले आनन्दित तुल्याउँछ, त्यहाँ पुग्नेहरूलाई । पशुपक्षी र वनस्पतिप्रेमीहरूका लागि अवलोकन गर्न उपयुुक्त गन्तव्यका रूपमा यसलाई लिने गरेको पाइन्छ । पहिलो तहमा छेपारो, सर्प, चमेरो, स्टिग्रे र समुद्री जीवहरू छन् ।
दोस्रो तलामा स्कालेटे मकाउ, विभिन्न प्रजातिका हामिङ वर्ड र पेलिकनहरू छन् । कक्स अफ द रकजस्ता नयाँ चरा पनि छन् । विश्वबाटै लोपोन्मुख आयुरामी जीव पनि यहाँ रहेको छ । नियोट्रोपिक चिलहरू, मुफोनिया, ट्यानेजर, हामिङ वर्ड, स्टङ्ग्रे, पिरान्हा, इलेक्ट्रिक इलपोइजन डार्ट, भ्यागुता, गोही, वन बिरालो, माछा, छेपारो, सर्प आदि प्रत्यक्ष हेर्न सकिन्छ । तेस्रो तलामा विशाल पोखरीमा सामुुद्रिक जीवहरू राखिएको छ । पोखरीका बीचमा सुरुङ बनाइएको छ । विभिन्न प्रजातिका माछा पौडिरहेको दृश्य मनमोहक लाग्छ । चिडियाघरभित्रै शौचालय, रेन्टुरेन्ट र विभिन्न पसल पनि राखिएको छ । हामी लामो समयसम्म त्यस चिडियाघरमा घुम्यौं तर समय गएको पत्तै भएन ।
फोर्ट वर्थ क्षेत्रको उत्तरी सिमानामा रहेको ग्रेपवाइन लेक समय बिताउन र आनन्द लिनका लागि उत्कृष्ट गन्तव्यमध्येको एउटा स्थल हो । डालसमा रहेको लेकमध्ये यो ठूलो र आनन्दायी छ । सन् १९४५ मा यूएस कंग्रेसले नदी र बन्दरगाह ऐन अनुमोदन गरेको रहेछ । सन् १९४८ मा यो लेक निर्माण गर्न सुरु गरिएको थियोे । डेन्टल क्रिकमा अवस्थित ट्रिनिटी नदीको एल्म फोर्कको सहायक नदीबाट बनेको यो लेक मानव निर्मित हो । यो परियोजना ट्यारान्ट र डेन्टन काउन्टीहरू दुवैमा फैलिएको छ । सन् १९५२ मा परियोजना सम्पन्न भएको हो । समुद्री सतहबाट ५ सय ६० फिट उचाइमा रहेको यो लेक घुमाउरो प्रकृतिको छ ।
४२ मिटर बाँध, २८ फिट मोटो, ९७ किलोमिटर किनार र १२ हजार ८ सय ५० फिटमा फैलिएको लेकको पानी ग्रेपवाइन, डालस र काउन्टी आदि सहरमा लगिएको छ । संयुक्त राज्य सरकारको स्वामित्वमा रहेको यस लेकको बाढी नियन्त्रण र पानी संरक्षणको जिम्मा सेनाका इन्जिनियरहरूको फोर्ट वर्थले लिएको छ । नेपालको फेवा तालमा जस्तै इलेक्ट्रिक डुंगाहरू सयौंको संख्यामा लेकको किनारामा राखिएको छ । भाडामा पाइने ती डुंगामा चालकसहित पाँच जना अट्ने ठाउँ छ । नौ माइलसम्म डुंगाद्वारा सफर गर्न सकिन्छ । लेकमा विभिन्न प्रजातिका माछा पाइन्छन् । माछाको प्रकार अनुसारले सःशुल्क माछा मार्न पनि पाइन्छ । लेकको वरिपरि धेरै पार्क छन् । पार्क स्थानीय समुदाय र इन्जिनियरहरूको नियन्त्रणमा हुने रहेछ । लेकसँगै रहेका पार्कहरूमध्ये सिटी अफ ग्रेपमिनले, लेकभ्यु, ओक ग्रोभ र बुड्स पार्क आदि नाम चलेका हुन् । यी सार्वजनिक पार्क पनि सःशुल्क सञ्चालित छन् । लेकको छेउछाउमा पिकनिक स्थलहरू पनि छन् । पारिवारिक र साथीभाइ जमघट हुनका लागि यसलाई निकै मानिसले गन्तव्य बनाउँदा रहेछन् । त्यस्तै, लेकमा समुद्र तटहरू पनि छन् । सूर्यास्तका बेला मनोरञ्जनका अनेक गतिविधि निकै आकर्षक लाग्छन्, नयाँ जाने पर्यटकहरूका लागि ।
ग्रान्ड प्रेरी सहर डालस, टारेन्ट र एलिस काउन्टीहरूमा रहेको छ । फोर्ट वर्थ मेट्रोप्लेक्सको मध्य सहरमा रहेको ग्रान्ड प्रेरी सन् १९४९ मा सहरका रूपमा विकसित भएको हो । यो सहर जनसंख्याका हिसाबले टेक्सास राज्यको १५औं स्थानमा रहेको छ । यो सहर पूर्वमा डालस, दक्षिणमा देवदार हिल र मिडलोथियन, दक्षिणमा म्यानफिल्ड, पश्चिममा फोर्ट वर्थ र उत्तरमा इरभिङको सिमानासम्म फैलिएको छ । ग्रान्ड प्रेरीको आफ्नै इतिहास छ । सन् १८६३ मा अलेकज्यान्डर म्याकेर डैचम्यानद्वारा यस ठाउँको नामकरण भएको हो । त्यसबेला डैचम्यानले गाईगोरुको व्यापार गर्थे । गृहयुद्ध हुनुअगावै उनी सपरिवार वर्ड भिलमा बसाइँ सरेका थिए । अमेरिकामा पहिला हुलाक कार्यालय डैचम्यान नामकरण गरी खोलिएको थियो । यसरी ग्रान्ड पे्ररीको रक्षा र उड्डयान उद्योगसँग लामो इतिहास जोडिएको छ ।
सुविधायुक्त पाँचतारे होटेलदेखि अनेकौं रेस्टुरेन्ट रहेको यस भूमिमा स्थायी र अस्थायी बसोबास गर्नेहरूको भ्रमण दिन प्रतिदिन बढ्दो छ । ती जमातमा हामी पनि मिसिएका छौं । एक साँझ होटट होस्टनको नजिकै रहेको नाइट लाइफ कार्यक्रममा हामी पनि गएका थियौं । ठूलो पोखरीको बीचमा लाइट जडान गरेका पाइपहरू राखिएका छन् । पोखरीका वरिपरि रेस्टुरेन्टहरू छन् । पोखरी डिलमै मान्छेहरू पलेंटी कसेर बसेका छन् । ठुुल्ठुुला स्पिकरमा अंग्रेजी गीत बजाइएको छ । गीतको धुनसँगै पोखरीको बीच भागमा रहेको पाइपबाट पानीको फोहरामा रंगीचंगी बत्ती बलिएको छ । चारैतिरबाट फोकसिङ लाइट बलिरहेको छ । विभिन्न आकारमा रंगीन पानीहरूको दृश्य पनि निकै मनमोहक देखिन्छ । सयौं संख्यामा भेला भएका मान्छेहरू नाचेर, गाएर, थपडी बजाएर मनोरञ्जन लिइरहेका छन् । रातको साढे १० बजे सो मनोरम कार्यक्रम सकियो । मनोरञ्जनका हिसाबले नाइट लाइफ कार्यक्रमले भरमग्दुर आनन्दित तुल्यायो । ग्रान्ड प्रेरीबाट युलेससम्म सवारीसाधनमा सवारी गर्दा बाटोमा देखिएका कीरासरी सवारीसाधनको भीडभाड तर कहीँ कतै जाम नभएको दृश्यले नेपालको वर्तमान गञ्जागोल बाटो आँखामा ऐना बनी तेर्सिरहेको छ अहिले पनि ।