पोखरा । पोखरामा शनिबार तेस्रो संस्करणको ‘पोखरा अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिता’ सम्पन्न भएको छ । विभिन्न ४ इभेन्टमा भएको प्रतियोगितामा नेपाल र चीनका धावक गरी कुल १२ सय जनाले भाग लिएका थिए । फेवाताल किनार वाराहीघाटबाट टिम समूह दौड, च्यालेन्ज इन्डिभिजुअल दौड, विद्यार्थी दौड र ह्याप्पी रन विधामा दौड भएको आयोजक हिमालयन टुरिजम फोरमका मिडिया संयोजक प्रतीकराज पहारीले बताए ।
उनका अनुसार टिम समूह दौडमा नेपाली टिमले वर्चश्व रहेको छ । सुशील कुमार शाही, सिर्जना पाण्डे, श्रीकाशी रावलको टिम प्रथम भयो । उक्त टिमले निर्धारित दुरी ४ घण्टा २० मिनेट ४ सेकेण्डमा दौड पूरा गरेको हो । ५० किमीको टिम समूहमा दुरीमा ट्रेल रनिङ, साइकलिङ र रोइङ गर्नुपथ्र्यो । नेपाली १७ र चिनियाँ ४ गरी २१ वटा टिम दर्ता भएका थिए । प्रत्येक टिममा एक महिलासहित ३ जनाको दरले ६३ जना खेलाडीले भाग लिएका थिए ।
नेपाल आर्मीको करन रावल, नरेन्द्रसिंह रावत र निर्मला राई सम्मिलित टिम दोस्रो भयो । उसले निर्धारित दुरी ४ घण्टा २२ मिनेट २९ सेकेण्डमा पूरा गरेको हो । तेस्रो एपिएफको टिम भयो । लक्ष्मण मल्ल, निरोज भट्ट क्षत्री र पुष्प भण्डारीको टिमले ४ घण्टा २३ मिनेट ८ सेकेण्डमा निर्धारित दुरी पूरा गरेको हो । कोशी प्रदेशको विशाल राई, रमेश लिम्बु र इन्द्रकला नेम्वाङ सहभागी टिम चौंथो र नेपाल आर्मीको खड्गबहादुर खड्का, राजन रोकाया र पूर्णलक्ष्मी न्यौपानेको टिम पाँचौं भयो ।
५० किमीको च्यालेन्ज इन्डिभिजुअल पुरुषमा चिनियाँ याङ जिनल्यान प्रथम भए । उनले निर्धारित दुरी ३ घण्टा ४४ मिनेट १२ सेकेण्डमा पूरा गरेका हुन् । नेपाल आर्मीका कुलबहादुर बस्नेतले उक्त दुरुी ३ घण्टा ४८ मिनेट २ सेकण्ड लगाउँदै दोस्रोमा सीमित भए । नेपाल आर्मीकै होमलाल श्रेष्ठ तेस्रो, गोपाल तामाङ चौंथो र तीलक सुनुवार पाँचौं भए ।
त्यस्तै, क्रमशः आर्मीका गोविन्द कार्की, एपिएफका राजेन्द्र तामाङ, कर्णाली क्लबका दलबहादुर कुँवर, आर्मीका गजेन्द्र राई र सुवास कार्की अन्तिम १० भित्र परे ।
५० किमीको च्यालेन्ज इन्डिभिजुअल महिलामा चिनियाँ धावक जेङ वेन रोङ च्याम्पियन भइन् । उनले निर्धारित दुरी ४ घण्टा १४ मिनेट ४८ सेकेण्डमा पूरा गरेकी हुन् । नेपालकी कल्पना बुढा दोस्रो भइन् । उनले ४ घण्टा ५० मिनेटमा उक्त दुरी पूरा गरिन् । नेपाल पुलिसका राममाया बुढार लाक्पा निङ्मा शेर्पा क्रमशः तेस्रो र चौथो भए । क्रमशः मिनु बढुवा, छोकी शेर्पा, नीतु तामाङ, आश्मा बिक, यु योई क्वी (चिनियाँ), ज्ञानु चौधरी अन्तिम १० भित्र परे ।
सँस्कति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले उक्त दौडको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
च्यालेन्ज इन्डिभिजुअलमा १ सय जना नेपाली र ५२ जना चिनियाँ खेलाडीले भाग लिएका थिए । विद्यार्थी दौड ५ किमी र ह्याप्पी रन २ किमीको दुरीको थियो । हृयाप्पी रनमा प्रमुख अतिथि, विशिष्ट अतिथि एवम् अन्य अतिथिको समेत दौडिदा वातावरण गुलजार बनेको थियो ।
विजेतालाई शनिबार साँझ आयोजित समारोहमा पुरस्कार वितरण गरिएको छ ।
यसैबीच, शुक्रबार बसुन्धरा पार्कमा स्प्रिङ सिटीको अनावरण र अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा युनानका पर्वतीय वस्तु तथा स्रोतसम्बन्धी फोटो प्रदर्शनी भएको हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।
दौडका लागि बिहीबार १ सय ३४ सदस्यीय चिनियाँ टोली लिएर चीनको कुनमिङबाट सिचुवान एयरलायन्सको न्यारोबडी एयरबस–३१९ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।