काठमाडौं । अडिसनको तयारी सुरु हुनै लाग्दा गायन सम्बन्धि फ्रेन्चाईज रियालिटी शो ‘भ्वाइस अफ नेपाल सिजन’ छैटौं सिजनको कोच (निर्णायक)को सूची आयोजक पक्षले सार्वजनिक गरेका छ ।
यो सूची अनुसार बिगत ५ सिजनदेखि भ्वाईस अफ नेपालमा नियमित रहेका गायक प्रमोद र पछिल्लो दुई सिजनमा नियमित रहेका अर्का गायक राजेश पायल राई यसपटकको सिजनबाट बाहिरिएका छन् ।
छैटौं सिजनको कोचमा यसपटक चयन नहुने जानकारी पाएपछि गायक प्रमोद खरेल अहिले बिदेश साँगीतिक यात्रामा निक्लेका छन् । उनले अष्ट्रेलिया, अमेरिकासहित युरोपका विभिन्न देशमा यो वर्ष साँगीतिक यात्रा गर्दैछन् । अर्का गायक राजेश पायल राईले भने विदेशमा नियमित कन्सर्टका कारण कोचमा समय दिन नसक्ने बताउँदै उनी कोचबाट बाहिरिएका हुन् ।
अघिल्ला दुई सिजनमा नअटाएका मँगोलियन हार्टका गायक राजु लामा यो सिजनमा फेरी कोचमा अनुबन्धित भएका छन । यस्तै कोचको रुपमा गायक उदय सोताङको पनि भ्वाईस अफ नेपाल ६ मा पुनरागमन भएको छ ।
बिगतमा भ्वाईस अफ नेपालमा निर्णायक रहेकी गायिक मिलन नेवारको ठाउँमा यसपटक नयाँ कोचको रुपमा गायिका मेलिना राई प्रवेश भएकी छिन् । यसअघि मिलन राई ‘भ्वाइस किड्स’को कोचमा थिईन् । किडमा उनको कोच राम्रो भएको भन्दै आयोजकले उनलाई भ्वाईस अफ नेपालमै अनुबन्धित गरेको छ ।
पाचौं सिजनसम्म भ्वाईसमा लोक दोहोरी क्षेत्रका कलाकारलाई कोचको रुपमा नसमेटेको आयोजक टिमले. यसपटक लोकदोहोरी गायक खेम सेन्चुरीलाई नयाँ कोचको रुपमा अनुबन्धित गरेको छ । लोक दोहोरी क्षेत्रका दर्शक र प्रतियोगीलाई पनि भ्वाईसमा आकर्षण गर्नको लागि उनीहरले खेमलाई पनि अनुबन्धित गरेका हुन् । यसरी अब भ्वाईस अफ नेपाल छैटौं सिजनमा कोचको जिम्मेवारी उदय सोताङ, राजु लामा, खेम सेन्चुरी र मेलिना राईले गर्ने भएका छन् ।
यसरी शनिबारसम्म चारैजना कोचको टुँगो लागेकाले लक्ष्मण पौडेलको निर्देशनमा भ्वाइस अफ नेपाल छैटौं सिजनको आइतबारदेखि ब्लाइन्ड अडिसन सुरु हुने भएको छ । यसपटक ब्याईन्ड अडिसनका लािग १२० जना प्रतिस्पर्धीले चयन भएका छन् । ब्लाईन्ड अडिसनको छायाँकन सकेर बल्ल हिमालय टिभीबाट यो कार्यक्रम आगामी मँसिर अन्तिमदेखि प्रशारण सुरु हुने भएको छ ।