सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा आईतवार शिक्षक र कर्मचारीहरुले तालाबन्दी गरेका छन ।
दिउँसो ३ बजे शिक्षक तथा कर्मचारीहरुद्वारा गठित आन्दोलन परिचालन समितिका संयोजक अशोक कुमार यादवको अगुवाइमा तालाबन्दी गरिएको हो । आन्दोलनकारी शिक्षक र कर्मचारीले नगरपालिकाको मुल गेट मै तालाबन्दी गरेपछी नगरपालिकाको सम्पुर्ण सेवा ठप्प भएको हो । दशै खर्च सहित विगत ५ महिनाको तलब नपाएको भन्दै शिक्षक र कर्मचारीले संघर्ष समिती नै गठन गरी गत कार्तिक ६ गते देखी कार्यालय अगाडी धर्ना दिदै आएका थिए ।
तलबका लागी पटक पटक नगर प्रमुख विरेन्द्र माझीलाई लिखित र मौखिक आग्रह गर्दा पनि आश्वासन बाहेक केही नपाइएकाले बाध्य भई तालाबन्दी गर्नू परेको आन्दोलन परिचालन समितीका संयोजक यादवले बताए ।
उनले माग पुरा नभए सम्म तालबन्दी जारी राख्ने र काममा नफर्कने अडान समेत राखेका छन ।
तलब माग्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिका कार्यालयमा तालबन्दी
शिक्षिका प्रियंका झाले चाडपर्वको वेला समेत तलब पाउन नसक्दा जीवनयापन धान्ने र दैनिकी काम गर्न समस्या भएको बताईन । पालिकाले परिषद हुन नसकेको कारण देखाई गत साउन देखी हाल सम्मको तलब उपलब्ध नगराएको उनको गुनासो छ ।
शिक्षक तथा मानवश्रोत विकास केन्द्रले देशभरीका पालिकाकालाई पटक पटक निर्देशन तथा पत्राचार गरेर शिक्षकहरुलाई नियमितरुपमा तलब दिनु भने पनि यस पालिकामा कुनै वास्ता न गरिएको उनको कथन छ ।
हनुमाननगर कंकालिनी नगरपालिका मातहतमा ३० वटा सामुदायीक विद्यालय छन । जसमा ७ हजार ८ सय ७३ बालबालिका अध्यनरत छन । शिक्षकहरु विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएपछी उनीहरुको पठन पाठन समेत ठप्प भएको छ ।
उक्त पालिकामा २ सय २५ शिक्षक र विभिन्न पदका ५ सय गरी ७ सय कर्मचारी छन । ती सबैले २०८१ साउन देखी तलब पाउन सकेका छैनन । नगर प्रमुख माझीले केही विषयमा विवाद सृजना भई समय मै नगरसभा हुन नसकेकाले तलब खुवाउन समस्या भएको बताएका छन ।
उनले उक्त समस्या समाधानका लागी आफुले पहल गरिरहेको दाबी समेत गरे । बाढी पिडीतको रकम वितरण अनियमितता भएको भन्दै १५ दिन अघि स्थानीयले उक्त पालिकाको ५ वटा वडा कार्यालयमा गरेको तालाबन्दी जारी नै रहेका बेला पालिकामा समेत तालाबन्दी हुदा सेवाग्राही समेत समस्यामा परेका छन ।