काठमाडौं । यतिवेला दर्शकको सर्वाधिक साथ पाईरहेको नेपाली चलचित्र पूर्णबहादुरको सारंगीको कथा मौलिक भएको दर्शकको कथन थियो । तर यो मौलिक नभएर एउटा उपन्यासबाट चोरिएको आरोप लागेको छ ।
कावासोतीबाट प्रकाशित हुने दाउन्ने साप्ताहिकका संस्थापक सम्पादक डा. शिवशंकर बस्यालले चलचित्र पूर्णबहादुरको सारंगीको कथा आफ्नो उपन्यास ‘संग्रामपुर’को कथाबाट हुवहु चोरीएको आरोप लगाएका छन् ।
लेखक साहित्यकार एवम् पत्रकार डा. शिवशंकर बस्याल कम्युनिष्ट विचारमा क्रान्तिकारी धारका लेखक हुन् । २५६ पृष्ठको सँग्रामपुर उपन्यास उनले चार वर्षअघि कोरोनाकालमा लेखेर प्रकाशन गरेका थिए । यिनै उपन्यासकारले चलचित्र पूर्णबहादुरको सारंगी र आफ्नो उपन्यासको सुरु देखि अन्त्यसम्मको प्लट मिलेको भन्दै शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
पाठकहरुले आफ्नो उपन्यासको कथा हुवहु पूर्णबहादुरको सारँगीमा मिलेको खबर गरेपछि आफुले बिरामी अबस्थामै हलमा पुगेर यो चलचित्र हेरेको र आफ्नो उपन्यासको कथा यसमा पाउँदा छक्क परेको पनि उनले बताएका छन्,‘चलचित्र हेरेपछि पूर्णबहादुरको सारंगीलाई एकपटक सँग्रामपुर उपन्याससँग जुधाएँ । चलचित्रको मूल कथाको स्वरूपमा सँग्रामपुर उपन्यासका मूल प्रसँग मिलेको पाएँ ।’ चलचित्र र उपन्यासको कथा मिलेको ९ वटा प्लट पनि उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
यसरी मिलेको नौ वाटा प्लटमा पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूलपात्र हुन भने सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर भएको, पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसँग संग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसँग जस्तै रहस्यमयी भएको डा. बस्यालले उल्लेख गरेका छन् । यस्तै छोराको पालनपोषणमा दिलोज्यान मरिमेट्ने पूर्णबहादुरको शैली रुपमान सङ मिल्दो भएको, आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समिरले निरन्तर सोधिरहने प्रसङ मिल्दो भएको पनि डा. बस्यालले उल्लेख गरेका छन् ।
‘जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यँग्य गरेका छन, समिर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन । पूर्णबहादुरको सारँगीको कमल पनि सँग्रामपुर उपन्यासको समिर जस्तै टप विद्यार्थी हुनु ।’ डा. बस्यालले लेखेका छन्, त्यही टप भएको खबर सँग्रामपुर उपन्यासको समिरकै शैलीमा दौडिदै पूर्णबहादुरको सारँगीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु । सँग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारँगीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।’ यो कुरा संयोग नभएर हुवहु मिलेको पनि उपन्यासकार बस्यालको दाबी छ ।
यस्तै ‘बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सँग्रामपुर उपन्यासको समिरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु । रुपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु ।’ जस्ता कुरा पनि संयोग नभएर हुवहु देखिएकाले उपन्यासबाट कथा लिईएको श्रष्टा बस्यालले दाबी गरेका छन् ।
बजारमा मन जितिरहेको पूर्णबहादुरको सारँगीलाई उनले सफलताको शुभकामना पनि दिएका छन् । यी बाहेक सूक्ष्म ढँगले सँग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइएको पनि बस्यालले बताएका छन् । पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाचित्रसँग मिल्ने पनि उनले बताएका छन् ।
तथापि चलचित्र र उपन्यासमा केही कुरा नमिलेको पनि उनले उल्लेख गरेका छन् । उपन्यासर चलचित्रको कथामा नमिलेको कुरा यस्तो रहेको उनले लेखेका छन्,‘केही प्रसँगहरू बिल्कुल विपरीत रुपमा प्रयोग गरिएका छन् । पुर्णबहादुरको सारँगीमा पूर्णबहादुर गन्धर्व छ , सँग्रामपुर उपन्यासमा रूपमान भरिया । सँग्रामपुर उपन्यासमा बाबु छोराको प्रेमसहित समिर सहरबाट फर्केपछि क्रान्तिकारी काममा लाग्छ । पूर्णबहादुरको सारँगीमा क्रान्तिका कुरा गर्छ,तर क्रान्तिलाई नफरत गर्छ ।’
डा. बस्यालले माथिका मूल बुँदाहरू नै पूर्णबहादुरको सारँगीको मूल कथा भएको र आफुले यसलाई साहित्यिक रूप मात्र प्रस्तुत गरेको तर चलचित्रमा यो भन्दा अरु कथामा नौलो नभेटिएको पनि जिकिर गरेका छन्, तसर्थ यो संयोग होइन,यो नियोजित हो। एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्ति विरोधी कार्यमा लगाउने प्रपञ्च ।’
आफुले कुनै लोभ लालच प्रपञ्चले यसो नभनेको र एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरँग मिल्दा बोल्ने नैतिक दायित्व भएकाले आफ्नो आवाज उठाएको उनले बताएका छन् ।
यता चलचित्र पूर्णबहादुरको सारंगीको कथा सो चलचित्रका निर्देशक सरोज पौडेलले लेखेका हुन् । यसको पटकथा सम्वाद महेश दवाडीको हो । कोरोना कालमा आफ्नो वुवाको देहान्त हुँदा १३ दिनको क्रिया बस्ने क्रममा यो कथा लेखेको सरोजले राजधानीलाई बताए,‘कथा मिल्न गयो भन्दा मलाई अचम्मै लाग्यो । वुवाले मेरोलागि गर्नु भएको योगदानलाई सम्झेर उहाँको देहान्तहुँदा १३ दिन कोराबस्ने क्रममा मैले यो कथा लेखेको थिएँ ।’ कथाकार तथा निर्देशक सरोजले भने,‘काल्पनिक र सामाजिक घटनाहरु केही मिल्न सक्छन्, यदि हुवहु मिलेको रहेछ भने हामी क्षतीपूर्ति व्यहोर्न तयार छौं । तर हुवहु नमिलेर कथा प्रस्तुतिमा फरक छ भने डा.बस्यालको कारण हामीमा पर्न गएको घाटाको हामी उहाँलाई क्षतिपूर्ति तिराउने छौं ।’
आफुले उपन्यास सँग्रामपुर छ भन्ने जानकारी नपाएको र अहिलेसम्म नपढेको पनि उनले दाबी गरेका छन् । आफुले यतिबेला आफ्नो चलचित्र अत्याधिक चलिरहेको बेला चलचित्रको व्यापारलाई असरपार्न यस्ता कुरा आउने गरेको पनि निर्देशक पौडेलले बताएका छन् ।