काठमाडौं । हाल सञ्चालमा रहेका दुईवटा ब्रोकर एशोसिएनहरु स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालबीच एकआपसमा गाभिएर मर्जर प्रक्रिया सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
व्यवसायी र लगानीकर्ताको हकअधिकारमा कामगर्दै अघिबढ्ने प्रतिवद्धता
राजधानीमा आयोजित विशेष कार्यक्रममा बुधबारदेखि नै यि दुईवटा एसोसिएसन एकअर्कामा गाभिएर एउटै भएको घोषणा गर्दै दुईवटै एसोसिएसनका अध्यक्षहरुद्वारा सो सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । सो सम्झौतापत्रमा स्टक ब्रोकर्श एशोसिएनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्श एशोसिएनका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका हुन् । अब यि दुइ संस्था एकआपसमा मर्जरभएसँगै स्टक ब्रोकर्श एशोसिएनको नामबाट सञ्चालमा आउने भएको छ ।
धितोपत्र ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले पछिल्लो समय मुलुकको सेयर बजारमा देखिएको विविध समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्दै यस क्षेत्रमा देखिएका विकृति र विसंगतिलाई हटाउँदै बजारको विकास र विस्तार गर्नका लागि दुई संस्थाहरु एकभएर अघि बढ्नुपरेको जानकारी दिए ।
‘२०७९ सालमा नयाँ धितोपत्र व्यवसायीलाई अनुमतिपत्र दिएसँगै जुन किसिमको धु्रविकरण नयाँ र पुरानाबीच देखिएको थियो त्यो ध्रुबीकरण आजको यस ऐतिहासिक समझदारीसँगै समाप्त भएको छ,’ ढकालले भने, ‘यसले पक्कै पनि देशको पूँजीबजारलाई र यस बजारका प्रमुख साझेदार धितोपत्र व्यवसायीहरुलाई नयाँ दिशा निर्देश गर्नेछ ।’ उनले यस ऐतिहासिक साझेदारीको अवसरले आफुहरुलाई अझै व्यवसायिकता अभिवृद्धि गर्दै यस क्षेत्रका हकहित संरक्षणमा एकिकृत भई कामगर्ने वातावरणको सिर्जना हुने अपेक्षा गरिएको बताए ।
उनले आगामी दिनमा संयुक्त रुपमा एउटै संस्थाको रुपमा अगाडि बढ्दै पूँजी बजारको विकास, विस्तार र कारोबार सुरक्षा एवं लगानीकर्ताको हित संरक्षणका लागि एक ढिंक्का भएर अघि बढन् सबैले प्रतिवद्ध हुने सहमती गरेको बताए ।
यसअघि गरिएका आफुहरुको अनेक प्रयासले नै करिब २३ वर्षपछि पहिलोपटक धितोपत्र ऐन संशोधनको क्रममा रहेको जानकारी गराउँदै उनले सो ऐनलाई व्यवसाय र लगानी तथा व्यवसायी मैत्री बनाउन मर्जर पछि एकभएको संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताए ।
वर्तमान अवस्थामा सञ्चालित पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि अझै धेरै सुधारात्मक काम आवश्यक भएको बताउँदै उनले यस किसिमका व्यवस्थाहरु समावेश गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिए । उनले यस्ता ऐनहरु क्रमिक रुपमा समयक्रममा निरन्तर संशोधन हुँदै जानुपर्ने भएपनि यतिलामो समयपछि बल्ल संशोधनमा आउँदै गर्दा पनि धेरै कुराहरु अझै समावेश गर्न छुटेकाले सरोकारवाला सबैलाई यो विषयमा आवश्यक छलफल गराई सो ऐनलाई अगाडि बढाउन आगामी दिनमा यस संस्थाले एकिकृत रुपमा आफुनो गतिविधी अगाडी बढाउनुपर्ने धारणा राखे ।
अझै धितोपत्र बजारमा सेटलमेन्ट ग्यारेन्टी फण्डलाई कार्यविधि नभएकै आधारमा लामो समयदेखि सञ्चालनमा ल्याउन नसकिएको र धितोपत्र व्यवसायीको मर्जर कार्यविधि बन्न नसकेको अवस्था’bout चिन्ता व्यक्त गर्दै उनले मार्जिन लेण्डिङ्ग लाइसेन्स पाइसकेका धितोपत्र व्यवसायीले अस्पष्ट नीति र पूर्वाधार अभावका कारण अझै पनि मार्जिन लेण्डिङ्गको काम गर्न नसकिरहेको परिस्थिति’bout पनि जानकारी गराए ।
स्टक बोकर्स एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाललाई एकीकरण गरी सम्पूर्ण धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुको बृहत्तर हितका लागि साझा व्यावसायिक संघ निर्माण गर्न स्टक बोक्स एसोसिएसन अफ नेपालको तर्फबाट निवर्तमान अध्यक्ष सन्तोस मैनालीको संयोजकत्वमा कोषाध्यक्ष मदन पौडेल र सचिव सुयोग अधिकारी सम्मिलित तीनसदस्यीय समिति गठन भएको थियो ।
यसैगरी, धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालको तर्फबाट महासचिव कृष्ण गिरीको संयोजकत्वमा कोषाध्यक्ष सुमनकुमार मल्ल तथा सदस्य सन्दिप विक्रम राणा सहितको तीन सदस्यीय समितिबीच विभिन्न चरणमा छलफल भई कायम गरिएका विविध सम्झौताहरुलाई कार्यान्वयन गरि सो कार्यक्रम सम्पन्न गरिएको एकभएको एसोसियसनले जनाएको छ ।
औपचारिक रुपमा दुई संस्था एकआपसमा मर्ज भएको सो कार्यक्रममा ३१ वर्षको लामो इतिहास बोकेको स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाललाई सम्पूर्ण धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुको साझा व्यावसायिक संघको रुपमा निरन्तरता दिइने सहमती भएको छ ।
अब धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालमा सदस्य रहेका सबै धितोपत्र दलाल व्यवसायीलाई स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले एकमुष्ट रुपमा सदस्यता प्रदान गर्ने छ । धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाललाई संस्थागत समाजिक उत्तरदायित्व र लगानीकर्ता शिक्षा तथा सचेतना अन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने अंगको रूपमा अगाडि बढाइनेछ ।
यसैगरी, दुवै एसोसिएसनमा हाल सदस्य नभएका धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुलाई पनि स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सदस्यता लिन आह्वान तथा सहजीकरण गरिने सो एसोसिएसनले जनाएको छ ।