पाँचथर । १७ वर्षीया किशोरी पुनम चेम्जोङ राष्ट्रिय महिला फुटबलमा पाँचथरबाट प्रतिनिधित्व गर्ने एक्लो सदस्य हुन् । उनले उमेर समूहका चार प्रतियोगिता खेलिसकेकी छिन् । उनै पुनम देशको जर्सी लगाएर अन्तर्राष्ट्रिय फुटल खेल्ने पाँचथरकी पहिलो महिला फुटबलर बन्न सफल भएको पाँचथरका फुटबल प्रशिक्षक पासाङ तामाङले बताए ।
सन् २०२२ नोभेम्बरमा बंगलादेशमा भएको यू–१५ साफ च्याम्पियनसिप नेपालले जित्दा पुनम टोलीको एक महत्वपूर्ण सदस्य थिइन् । उमेर समूहमा राष्ट्रिय टोलीका लागि डेब्यू प्रतियोगितामै देशलाई ऐतिहासिक उपाधि दिलाउन पुनमले योगदान गरिन् । त्यसअघि उमेर समूहमा सन् २०१४ मा श्रीलंकामा भएको यू–१४ रिजन प्रतियोगितामा नेपालले उपाधि जितेको थियो । पुनम सम्मिलित टोलीको त्यो उपाधि उमेर समूहमा नेपाली महिला टोलीको दोस्रो उपाधि थियो र यू–१५ साफमा पहिलो ।
नेपालको सिनियर महिला टोली धेरैपल्ट फाइनल पुगेर पनि उपाधि रक्षा गर्नबाट चुक्दा यू–१५ टोलीले दिलाएको त्यो उपाधि नेपालका लागि सान्त्वना बनेको थियो । त्यो जीतको हकदार आफू पनि हुन पाउँदा धेरै खुसी लागेको पुनमले सुनाइन् । बीएसएसएसएमके रंगाशालामा घरेलु टोली टोली बंगलादेशविरुद्धको फाइनल खेलमा अन्तिम ह्वीसेलपछि विजयको खुसी मनाउँदाको त्यो क्षण सम्झिँदा पुनम आज पनि रोमाञ्चित हुन्छिन् ।
त्यसपछि पुनमले सन् २०२३ मा बंगलादेशमै भएको यू–१७ साफ, सोही वर्ष जोर्डनमा भएको यू–१७ एएफसी कप र सन् २०२४ मा बंगलादेशमा भएको यू–१९ साफ च्याम्पियनसिपमा पनि नेपालका लागि खेलिन् । मिडफिल्डमा खेल्ने उनी रहेक खेलमा आफूले सक्दो मिहिनेत गर्दै आएको बताउँछिन् । जारी एन्फा वुमेन्स लिग संकटा क्लवबाट खेलेकी उनी जहाँसम्म पुगिन्छ, निरन्तर मिहेनत गर्दै जाने बताउाछिन् । ‘धेरै मिहेनत गर्नुछ, जहाँसम्म पुग्छु, त्यसैमा सन्तुष्ट हुन्छु,’ उनले सुनाइन् ।
पूर्वी पहाडी जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपमा जन्मिएकी पुनमले आठ वर्षको उमेरदेखि नै फुटबल खेल्न थालेकी हुन् । गाउँको धुले मैदानमा झुम्राको गोल खाली खुट्टा खेलेर उनले आफ्नो फुटबल यात्रा प्रारम्भ गरेकी थिइन् । ‘गाउँमा दिदीबहिनीहरुसँग मिलेर भाले गेम, स–साना प्रतियोगिता खेल्ने क्रममा गाउँका अग्रज र घरपरिवारबाट मेरो खेलको तारिफ हुन थाल्यो,’ पुनम आफ्नो विगत सम्झिँदै भन्छिन् ‘त्यसपछि भने व्यवसायिक रुपमै फुटबल खेल्ने सोच भयो र अहिले यहाँसम्म पुगेको छु, अझै अघि बढ्ने कोसिसमा छु ।’
हाल काठमाडौंको चक्रपथ बस्दै आएकी पुनम धुम्बाराहीस्थित इन्साइट भिजन स्कुलमा कक्षा–१२ मा अध्ययनरत छिन् । यू–१७ एफसी कपको तयारीका लागि क्लोज क्याम्पमा बस्नु पर्दा कक्षा–११ को फाइनल परीक्षा समेत छुटाएकी उनी आगामी दिनमा खेलसँगै पढाइलाई पनि एकसाथ अघि बढाउने बताउँछिन् ।
गाउँमा स्कुल र घरको कामबाट बचेको समय मात्र फुटबल खेल्न पाइन्थ्यो । त्यही गाउँमा हुर्केकी पुनमको फुटबल मोह अचम्मकै थियो । उनी सुनाउँछिन्, ‘बिना प्रशिक्षक गाउँका दाजुभाइहरुसँग मिलेर ट्रेनिङ गथ्र्यौं । फुटबल खेल्नको लागि पानीझरी, भोको पेट, फाटेको जुत्ता, जर्सी केहीले पनि रोकेन । कोही नहुँदा एक्लै भए पनि आँगनमा फुटवल खेलाइरहन्थेँ ।’
जारी एन्फा वुमेन्स लिगमा सुपर फाइभमा पर्न सफल कोशी प्रदेश टोलीका सहायक प्रशिक्षकसमेत रहेका पाँचथरका फुटवल प्रशिक्षक पासाङ तामाङको नजरमा पुनम आसलाग्दी खेलाडी हुन् । ‘निरन्तर मिहेनत गरे उनबाट धेरै अपेक्षा गर्न सकिन्छ,’ उनले भने ।