काठमाडौं । २०८० सालको सर्वोत्कृष्ट राष्ट्रिय चलचित्रको पुरस्कार बुलाकीले पाएको छ । विभिन्न तीन विधामा पुरस्कार जित्दै यो चलचित्र सर्वोत्कृष्ट भएको हो । चलचित्र बुलाकीबाटै सर्वोत्कृष्ट लेखनको पुरस्कार राजबहादुर सानेलाई र सर्वोत्कृष्ट छायाँकारको पुरस्कार शिव ढकाललाई प्रदान गरियो ।
चलचित्र विकास बोर्डद्धारा बुधबार साँझ राष्ट्रपति कार्यालय सितल निवासमा आयोजना गरिएको ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८०’ समारोहमा विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । समारोहमा सर्वाेत्कृष्ट अभिनेताको पुरस्कार चलचित्र प्रसाद २ बाट विपिन कार्कीलाई प्रदान गरियो । यस्तै सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार चलचित्र दिमाग खराबबाट स्वस्तिमा खड्काले हाँसिल गरिन् । चलचित्र दिमाग खराबबाटै सर्वोत्कृृष्ट निर्देशकको पुरस्कार निश्चल बस्नेतलाई प्रदान गरियो ।
सर्वोत्कृष्ट चलचित्र सम्पादनको पुरस्कार चलचित्र महाजात्राबाट मित्र डी गुरुङलाई दिईयो । उनीहरुलाई ट्रफी र प्रमाणपत्र सहित पुरस्कार स्वरुप नगद पनि प्रदान गरियो । राष्ट्रपति रामचन्द्र पौडेलले समारोहमा पुरस्कृत एवम् सम्मानितहरुलाई सम्मान तथा अवार्ड प्रदान गरेका थिए ।
समारोहमा जुरी पुरस्कारबाट अभिनेत्री तर्फ टुल्कीबाट स्वस्तिमा कार्कीलाई र व्यबसायिक चलचित्र तर्फको पुरस्कार चलचित्र जारीलाई प्रदान गरियो । यसैगरी २०८० सालको विशेष चलचित्र पुरस्कारबाट लक्ष्मण सुवेदी निर्देशित चलचित्र सतीदेवीलाई पुरस्कृत गरियो ।
यसैगरी २०८० सालको सर्वोत्कृष्ट आदिवासी मातृभाषी चलचित्रको पुरस्कार सागर सुब्बा निर्देशित लिम्बु भाषाको चलचित्र लोजिमालाई प्रदान गरियो । आदिबासी जनजाति तर्फ नै विशेष चलचित्र पुरस्कार लिम्बु भाषाको चलचित्र सुगुप र गुरुङ भाषाको चलचित्र मार्कलीलाई दिईयो ।
समारोहमा दीर्घ साधना सम्मानबाट प्रथम नेपाली रंगिन चलचित्र कुमारीकी अभिनेत्री चैतेदेवी सिंहलाई सम्मानित गरियो । नेपाली चलचित्र उधोगमा स्थापना कालदेखि लामो समयसम्म निरन्तर योगदान दिएको भन्दै सो सम्मान प्रदान गरिएको आयोजक पक्षले जनायो ।
यसैगरी सो समारोहमा विशेष योगदान सम्म्मान २०८० बाट अभिनेताद्धय तैयव शाह र बुद्धी तामाङ, कलाकार विधा कार्की, सविता गुरुङ, द्वन्द्व निर्देशक नारायण प्रधान, प्रदर्शक कृष्ण प्रसाद रायमाझी, नरेन्द्र महर्जन, ध्रुब कुमार श्रेष्ठ, चलचित्र निर्माता तथा कलाकार नन्द किशोर प्रसाद श्रीवास्तव, संगीत संयोजक अमुल कार्की ढली र चलचित्र निर्माता भोज बहादुर गुरुङलाई सम्मानित गरियो ।
समारोहमा स्वागत मन्तव्य राख्दै चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले २०८० सालमा रिलिज भएका चलचित्रहरुबाट जुरीहरुको निर्णयको आधारमा यी चलचित्रकर्मीलाई पुरस्कृत गरिएको बताए । उनले चलचित्र विकाश बोर्डमा रहेर आफुले गर्ने भावी योजना’bout पनि प्रकाश पारे ।
आफ्नो कार्यालयमा चलचित्रकर्मीहरुलाई स्वागत गर्दै पुरस्कार तथा सम्मानबाट सम्मानित गर्न पाउँदा खुसी लागेको राष्ट्रपति पौडेलले बताए । सम्मानित र पुरस्कृतिलाई बधाई दिँदै पछिल्लो समय नेपाली चलचित्रको बजार निकै राम्रो हुनु नेपालीहरुकै लागि गौरवको कुरा भएको पौडेलले बताए । मौलिक नेपाली चलचित्रहरुले नेपालमा राम्रो व्यापार गरेको भन्दै राष्ट्रपति पौडेलले मौलिक चलचित्र बनाउन चलचित्रकर्मीहरुलाई सुझाब दिए ।
सो समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पनि पुरस्कृत र सम्मानितलाई बधाई ज्ञापन गरे । उनले चाँडै नै राष्ट्रिय चलचित्र ऐन ल्याउने जिकिर गर्दै चलचित्रको छायाँकन स्टुडियो निर्माणलाई चाँडो भन्दा चाँडो अघि बढाउने पनि प्रतिवद्धता जनाए ।