वालिङ । शिक्षक सरुवाको बिषयमा विवादमा परेको वालिङ नगरपालिकाले बल्ल शिक्षक सरुवा निर्देशिका अनुसार काम गर्न थालेको छ । राजधानी दैनिकले कानुन विपरीत शिक्षक सरुवा भन्ने शिर्षकमा समाचार प्रकाशित गरेपछि वालिङ नगरपालिकाले शिक्षक सरुवा निर्देशिका अनुसार काम गर्न थालेको हो ।
यसअघि पहुँचका आधारमा शिक्षक सरुवा गर्ने र पहुँचका आधारमा शिक्षक नियुक्ति गर्ने प्रचलन वालिङ नगरपालिकामा रहेको थियो । शिक्षक सरुवा निर्देशिका वालिङ नगरपालिकाले अवलम्वन गर्न थालेपछि पहुँच नभएका शिक्षकका लागि यो विधि र प्रक्रियाले फाइदा पुगेको छ ।
गत असोजमा वालिङ नगर शिक्षा समितिले विधि र कानुन विपरीत यहाँको रणविर जनहित मावि र महेन्द्र माविका दुई शिक्षकको दरवन्दी मिलानको नाममा सरुवा गरेको थियो । कानुन मिचेर सरुवा गरिएको भन्दै रणविर जनहित माध्यमिक विद्यालयका बहुमत विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले सरुवा बदर गर्न नगरपालिकामा निवेदन दिएका थिए ।
अभिभावकको अनुरोधलाई नगरपालिकाले सुनुवाई नगरेपछि न्याय माग्दै अभिभावकहरु उच्च अदालतको ढोकामा पुग्न बाध्य भएका थिए । शिक्षक सरुवाको बिषय न्यायलयमा पुगेपछि बल्ल वालिङ नगरपालिकाको शिक्षा शाखाले शिक्षक सरुवा निर्देशिकाको पूर्ण रुपमा अवलम्बन गर्न थालेको देखिन्छ ।
अहिले वालिङ नगरपालिकाको वेभसाइड र फेसबुक पेजमा रिक्त पदमा स्थायी शिक्षक सम्वन्धी सरुवा पत्र देखिन थालेका छन् । यो शिक्षक सरुवा सम्वन्धी पत्र देखिनुले नगरपालिकाले शिक्षक सरुवा निर्देशिका अवलम्वन गर्न थालेछ भनेर प्रष्ट भन्न सकिने शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले बताए ।
अहिले वालिङ्मा धमाधम शिक्षक सरुवाका नोटिसहरु आइरहेका छन् शिक्षा समन्वय अधिकारी आचार्यले भने, ‘शिक्षक सरुवा प्रणालीमा विश्वासयोग्य काम भएको छ ।’ यो विधि र प्रक्रिया अबलम्वन गर्दा कुनै शिक्षकले सरुवाका लागि कसैको ढोका कुर्नुपर्दैन र न्यायोचित तवरबाट कार्यसम्पादन हुनेछ, आचार्यले भने । शिक्षक सरुवा निर्देशिका अनुसार चल्ने हो भने कुनै शिक्षकले सरुवामा दुख नपाउने आचार्यको भनाई छ ।
वालिङ नगरपालिकाले शिक्षक सरुवाको विवाद न्यायलयमा पुगेपछि पहिलो पटक कार्तिक २५ गते वालिङ ९ भुम्रे माविका लागि रिक्त रहेको प्राथमिक तहको स्थायी शिक्षक सरुवा सम्वन्धी सूचना प्रकाशित गरेको थियो । डेढ महिनाको अवधीमा वालिङमा रिक्त रहेका ४ शिक्षकको बिषयमा क्रमश नगरपालिकाले शिक्षक सरुवा निर्देशिका अनुसार सूचना प्रकाशन गरेको देखिन्छ ।
जसमा मंसिर ६ गते वालिङ १३ को सरस्वती माविका लागि निमावि तहको स्थायी विज्ञान शिक्षक, मंसिर ९ गते वालिङ ७ गुहेश्वरी आधारभुत विद्यालयका लागि प्रावि स्थायी शिक्षक र मंसिर ११ गते वालिङ ७ कै बालतपस आधारभुत विद्यालयका लागि प्रावि स्थायी शिक्षक सरुवाका लागि सूचना प्रकाशन गरेको छ ।
धमाधम शिक्षक सरुवा सम्वन्धी सूचना सार्वजनिक गर्न थालेपछि वालिङ नगरपालिका अब कानुनको बाटोमा जान लागेको प्रष्ट भएको छ । शिक्षक सरुवाको विवाद न्यायलयमा नपुगेको भए विद्यालय र नगरपालिका मिलेर करारमा शिक्षक नियुक्ति गर्न सक्ने थिए ।
बाहिरी जिल्ला वा अन्य पालिकामा सेवा दिदै आएका वालिङवासी शिक्षकले नगरभित्र आउने मौका पाउने थिएनन् । अब शिक्षक सरुवा निर्देशिका बमोजिम काम गर्न थालेपछि त्यस्ता शिक्षकहरुलाई यो प्रणालीले फाइदा पुग्ने देखिन्छ । यस्ता गृहकार्यले आफुलाई शिक्षकका नेता भन्नेहरु पनि नियमानुसार काम गर्न बाध्य हुनेछन् ।
शिक्षकका नेताकै कारण पहुँच नपुगेका धेरै शिक्षकहरु आफ्नै जिल्ला र आफ्नै पालिकामा आउन बन्चित भएका थिए । शिक्षकहरु सरुवामा कसैको ढोका ढक्ढक्याउन र चाकडी गर्न नपरोस भनेर नेपाल सरकारको शिक्षा मन्त्रालयले शिक्षक सरुवा निर्देशिका बनाएको छ । उक्त निर्देशिकाले अत्यन्तै सजिलो बाटो हुनेगरी सरुवाको नियम बनाइदिएको छ । तर कानुन कार्यान्वयन गर्ने निकायका अधिकारीहरु नै शिक्षकका नेताहरुको छायाँमा पर्दा पहुँच नपुगेका शिक्षकहरु सरुवा हुनबाट बन्चित हुदै आएका छन् ।
यो प्रणालीलाई लागु गर्दा वालिङ नगरपालिका भन्दा बाहिर रहेका शिक्षकहरुले आफ्नै घरदैलोमा काम गर्ने अवसर पाउने वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले बताए । कानुन अनुसार सबैले काम गर्ने हो भने कसैले दुख नपाउने उनले बताए । जिल्लाका ११ ओटा पालिकाले शिक्षक सरुवा निर्देशिका अनुसार काम नगरि कहिलेकाही बेइमानी गर्दै आएको देखिएको छ ।