रविको म्याद मिलान

पोखरा । पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने गत महिना सहकारीको रकम अपचलन अभियोगमा पक्राउ पर्दा केही दिनमै छुट्छन् भन्नेमा अधिकांश आशावादी थिए ।

किनकि सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनमा कुनै पनि सहकारीको रकम गोर्खा मिडियामा लैजानुमा लामिछानेको प्रत्यक्ष संलग्नता नभएको उल्लेख थियो । तसर्थ सिंगो रास्वपा पार्टी तथा लामिछाने शुभचिन्तक सभापति लामिछाने तत्काल हाजिरी जमानीमा छुट्लान् भन्नेमा पूर्ण विश्वास हुनु स्वभाविकै थियो ।

तर, लामिछाने एक दिन, दुई दिन गर्दै करिब ४० दिनसम्म न्यायिक हिरासतमा बसिसकेका छन् । सहकारी ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धानका लागि गत २ कात्तिकमा काठमाडौं वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की ल्याइएका उनी करिब ४० दिन (रुपन्देहीसमेत) हिरासत बसेर थप बयानका लागि फेरि काठमाडौं फर्काइएका छन् ।

स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम ठगी’bout थप अनुसन्धान गर्न बिहीबार साँझ बुद्ध एयरमार्फत उनलाई काठमाडौं लगिएको हो । पोखराको सूर्यदर्शन सहकारी झैं बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम समेत गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा लामिछाने यतिखेर मुद्दाको चाङले थिचिएका छन् । लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले बताए ।

गोर्खा मिडियामा प्रबन्ध निर्देशक छँदा लामिछानेका अर्का साझेदार छविलाल जोशी पनि कास्की प्रहरी हिरासतमै छन् । गत ६ असोजमा काठमाडौंबाट पक्राउ गरी कास्की ल्याइएका उनीमाथि लामिछानेलाई झैं तीन वटै मुद्दामा अनुसन्धान भइरहेको छ । उनले बिहीबार (१३ मंसिर) सम्म ६७ दिन हिरासत जीवन काटिसकेका छन् । कानूनतः सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिनभित्र अनुसन्धान कार्य सकेर अदालतमा अभियोग दायर गरिसक्नुपर्छ ।

लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको अभियोगमा जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेपछि गत २७ कात्तिकमा त्यहाँ बयान लिई ३ दिनपछि पोखरा फर्काइएको थियो । उनीविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी झैं चितवनको साहारा सहकारीको रकम अपचलन गरेको अभियोगमा पक्राउ पूर्जी जारी भएको थियो । अब लामिछानेलाई काठमाडौंमा जिल्ला सहकारी वकिलको उपस्थितिमा प्रहरीले सम्भवतः शुक्रबारदेखि बयान लिन थाल्नेछ । त्यसपछि चितवनमा पनि बयानपछि पोखरा ल्याइने प्रहरीको तयारी छ ।

६ असोजदेखि नै गणना
लामिछानेमाथि पोखरामा जिल्ला सरकारी वकिल कार्यालयले सुरुको बयान पूरा गरिसकेको जनाएको छ । यदि थप प्रमाण भेटिए फेरि बयान हुन सक्ने जनाइएको छ । लामिछानेलाई समेत छवि पक्राउ गरेको ६ असोज पहिलो दिन मानेर म्याद मिलान भएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् । यो अनुसार लामिछाने, ओझासमेत ६७ दिन हिरासतमा छन् । अब ३ साताभित्र अभियोगपत्र अदालतमा पेस भइसक्नुपर्नेछ ।

न्यायाधिवक्ता काफ्लेले भनिन्, ‘उहाँ (लामिछाने) माथि सुरुको बयान सकिएको हो । नयाँ प्रमाण भेटियो भने मात्र थप बयान हुन सक्छ । ९० दिनभन्दा बढी थुन्न पाइँदैन । हामीलाई अधिकार पनि छैन । अनुसन्धान कम्प्लिट भयो भने त्यसअघि नै प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा पेस गर्नेछ ।’ उनका अनुसार प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययनमा करिब एक साता लाग्न सक्ने र अध्ययनपछि अदालतमा अभियोगपत्र पेस गरिनेछ ।

लामिछानेलाई पछिल्लो समय गत आइतबार पाँचौंपल्ट १५ दिनको म्याद थप भएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्वासेको इजलासले लामिछानेसहित चार जनामाथि अनुसन्धान गर्न कास्की प्रहरीलाई १५ दिनको म्याद थपको आदेश दिएको हो । लामिछानेसहित गोर्खा मिडियाका पूर्व संचालक एवं पूर्व डिआईजी छविलाल जोशी, जीवी राईका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लीला पछाईंलाई १५ दिन म्याद थपको अनुमति दिएको हो । योसँगै उनीहरु कम्तीमा २३ मंसिरसम्म प्रहरी हिरासतमा रहने छन् ।

सहकारी ठगी गरी सम्पत्ति शुद्धीकरण गरेको सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा पेस गरिएका प्रतिवादीको हकमा केहीको बयान बाँकी रहेको तथा अनुसन्धान प्रक्रिया बाँकी रहेको भन्दै जिल्ला सरकारी वकिलले भने २५ दिन हिरासतमा राख्नुपर्ने जिकिर गरेका थिए । तर, अदालतले १५ दिन म्याद थपको अनुमति दिएको थियो ।

‘….पक्राउ परेका केही प्रतिवादीको बयान कार्य बाँकी रहसेको, बयान गरेका प्रतिवादीहरुको हकमा थप प्रमाण खुली आएको तथ्यमा पूरक बयान गर्न बाँकी रहसेको, हस्ताक्षर परीक्षण गर्न पठाइएकोमा निवेदन प्राप्त हुन बाँकी रहसेको, प्रतिवादीहरुको कारोबार रहेको घरजग्गा खरिद बिक्रीको लिखत सम्बन्धित कागज प्रमाण प्राप्त भइनसकेको,’ आदेशमा भनिएको थियो, ‘कल डिटेल तथा मोबाइल परीक्षण प्रतिवेदन प्राप्त हुन बाँकी रहसेको भन्ने समेत प्रयोजन खुलाई म्याद थप माग भएको देखिँदा प्रतिवादीहरु चारैजनाको हकमा थुनामा राख्ने म्याद थप गर्न मनासिव देखिएबाट सम्पत्ति शुद्धीकरण निवारण २०६४, को दफा १७(४) बमोजिम थुनामा राखी अनुसन्धान गर्ने गरी मिति २०८१।८।८ देखि लागु हुने गरी दिन १५ थुनामा राख्ने गरी अनुमति दिइएको छ ।’

लामिछानेको पक्राउ ‘राजनीतिक प्रतिशोध’ भएको भन्दै उनको पार्टी रास्वपाको सिंगो पदाधिकारी एवं उनका शुभचिन्तक पोखरामा आएर सुरुको एकसाता आन्दोलन चर्काएका थिए । पछिल्लोपटक काठमाडौं केन्द्रित आन्दोलन गरे पनि अहिले रास्वपा सडकमा प्रदर्शनमा छैन । उनका सभापतिलाई पहिलोपटक ६, दोस्रोपटक ७ दिन र तेस्रोपटक १० दिन र चौंथोपटक १३ दिन र पाँचौपल्ट १५ दिन गर्दै अनुसन्धानका लागि म्याद थप भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 775 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा तीन दलीय गठबन्धन, ७ पालिका कांग्रेसलाई, चार माओवादी र दुई एसलाई