काठमाडौं । नेपालको अहिलेसम्मकै सबैभन्दा बढी भिएफएक्स गरिने भनिएको चलचित्र डोरीको निर्माण सुरु भएको छ । यो चलचित्रको बिहिबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै शुभसाईत सम्पन्न गरियो ।
यो चलचित्रमा प्रवीण खतिवडा, अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, कविता आले, सजन श्रेष्ठ र नूतनलगायतका कलाकारहरूको अभिनय छ । मुहुर्त समारोहमा यी मध्य अधिकाँस कलाकारहरु उपस्थित थिए ।
बिहिबार शुभ साईत गरिएको भए पनि चलचित्रको छायाँकन आइतबारदेखि हुने यसको निर्माण पक्षले जनाएको छ । यो चलचित्रले नेपाली चलचित्रमा नयाँ कथा र शैली पस्कने पनि निर्माण पक्षको दाबी छ । चलचित्रलाई काठमाडौं आशपासमा खिचिने भएको छ ।
चलचित्र डोरीलाई अरुण लामाले निर्देशन गर्दैछन् । निर्देशक लामाले चलचित्रको ’bout भने, ‘डोरीले नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई जनाउने छ । कोही जिम्मेवारीको डोरीले, कोही समस्याको डोरीले, र कोही मायाको डोरीले बाँधिएको कथा हामीले यसमा प्रस्तुत गर्ने छौं ।’
अभिनेता प्रवीण खतिवडाले पनि डोरी भिन्न श्रेणीको चलचित्र भएको बताए,‘यस चलचित्रमा रहस्यमय कथा, सामाजिक यथार्थवाद, र सस्पेन्स क्राइमको संयोजन गरिएको छ । चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिने छ ।’ उनले भने ।
पूर्णबहादुरको सारंगीसहित लगातार तीनवटा सफल चलचित्र दिएकी अञ्जना बराईलीले यो चलचित्रको कथा केही फरक र आफ्नो भूमिका ससक्त भएकोले डोरीमा जोडीएको बताईन् । यसको कार्यकारी निर्माता राज थापा, छायाँकार सौरभ लामा र संगीतकार राजनराज सिवाकोटी रहेका छन् ।