पोखरा । समाजसेवी गिभिना मगरमाथि अहिले बज्रपात परेको छ । उनले आफूलाई जन्मदिने आमालाई शुक्रबार सधैंका लागि गुमाइन् भने भाइले आत्महत्या गरे । अनपेक्षित यी शृंखलाबद्ध अप्रिय खबरले २७ वर्षीया गिभिनालाई कमजोर बनाएको छ ।
गिभिनामाथि बज्रपात
गिभिना गत साता मात्र विवाह बन्धनमा बाँधिएकी थिइन् । नयाँ जीवनको हनिमुनमा रहेकी उनीमाथि फ्यानको शुभेक्षाबीच पारिवारिक वियोग परेको हो ।
काठमाडौंमा रहेकी उनी पोखरामा रहेकी आमा एक्कासि सडक दुर्घटनामा परेर अचेत रहेको अप्रिय खबरले सहयोगको बिलौना गर्दै सामाजिक सञ्जालमार्फत लाइभ आइन् । आफ्ना शुभचिन्तक तथा आफन्तलाई यदि नजिकै भए पोखराको अस्पताल गइदिएर सहयोग गरिदिन अनुनय विनय गरिन् । तर, दैवको लीला उनकी आमा धनकुमारीको उपचारका क्रममा निधन भयो ।
आमाको निधनले विक्षिप्त छोरा (गिभिनाका कान्छा भाइ)ले पनि शनिबार घरमै आत्महत्या गरेका छन् । शुक्रबार साँझ पोखरा–२५ हेमजामा जेब्राक्रसबाट सडक पार गर्दै गर्दा ५५ वर्षीया आमा धनकुमारीलाई ट्रकले ठक्कर दिएको हो । धनकुमारी आफ्ना पति गणेश मगरसँगै थिइन् । सो दुर्घटनाको सीसीटिभी फुटेज हेर्दा पतिभन्दा एक–दुई कदम उनी अगाडि देखिन्छिन् । उनी अघि बढ्न लागेको दृश्य देखिन्छ । यत्तिकैमा पोखरातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिएको छ । दुर्घटनामा रगताम्य उनलाई तत्काल मणिपाल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको वडाध्यक्ष मोतीलाल तिम्सिनाले बताए ।
पोखरा–बागलुङ राजमार्गअन्तर्गत हेमजा याम्दीको क्रान्तिटोलमा शुक्रबार साँझ साढे ७ बजे सो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनामा संलग्न ग२ख १४६० नम्बरको ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
गिभिनाका नातेदार भाइ महिनले नसोचेको घटना भएको भन्दै दुःख व्यक्त गरे । उनले आफूहरू घटनाको छानबिन गरी दोषीलाई कारबाही माग गरिपाऊँ भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिने तयारीमा रहेको बताए । गिभिना परिवारकी जेठी छोरी हुन् । उनका दुई जना भाइ हुन् ।
पोखरा महानगरका प्रवक्तासमेत रहेका वडाध्यक्ष तिम्सिनाले टिकटक अभियानमार्फत सबैको सेवा गर्दै आएकी गिभिनाको घरमा एकैपटक दुई घटना हुन पुगेकामा निकै चिन्तित बनाएको बताए । उनका अनुसार त्यस दिन छोरा (गिभिनाका भाइ)ले बाबुआमालाई छाडेर घर फर्किएका रहेछन् । आमाको सडक दुर्घटनामा मृत्युपछि सहन नसकी सुसाइड गरेको पाइयो ।
उनले अगाडि भने, ‘घटना सुनेपछि म पनि बिहान गिभिनाको घर गई परिवारका सदस्य र आफन्तलाई सान्त्वना दिएर फर्किएको हुँ ।’ गिभिनाका भाइ शनिबार बिहान घरमै झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
दाङको मगर परिवार लामो समयदेखि पोखरा आएर बसेको हो । गिभिना ७ वर्षको उमेरमा दाङदेखि आएर हेमजाको याम्दीमा बस्दै आएकी थिइन् । दीनदुःखीको सेवामा सधैं लागिपर्ने गिभिना केही वर्षयता टिकटकमार्पmत चर्चित बनेकी हुन् । उनका लाखौं फ्यान छन् । सानैदेखि सामाजिक कार्यमा रुची राख्ने गिभिनाले गत ८ मंसिरमा धरानका किरण लिम्बुसँग लगनगाँठो कसेकी हुन् ।
पोखराकै कालिका क्याम्पसबाट बीएड गरेकी यी अभियन्ता पछिल्लो समय पोखराको कुमुदिनी होम्सकी शिक्षिका थिइन् । वैदेशिक रोजगारीमा रहेका धरानका किरणसँग साधारण ढंगले विवाह गरेकी गिभिनालाई उनका फ्यानले विभिन्न माध्यमबाट प्रेमपूर्वक शुभकामना दिइरहेका थिए । तर, विवाहको एक साता नबित्दै चोटमाथि चोटले सबैलाई दुःखी बनाएको छ । गिभिना विमानमार्फत शनिबार राति नै पोखरा आएकी छन् ।
उनले असहाय, गरिब, निमुखाको सेवा गर्दै आएकी छन् । उनले सडकमा कयौं असहायलाई उद्धार गरी मानव सेवा आश्रम तथा वृद्धाश्रममा लगेकी छन् । सहयोग कार्यमा आफूलाई सन्तुष्टि मिल्ने गरेको उनी बताउँछिन् । युवाका लागिसमेत प्रेरणा बनेकी गिभिनाले गरेका सयौं सहयोगका क्रियाकलाप सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्ट्राग्रामलगायतमा पेजमा भेट्न सकिन्छ । २ वर्षअघि उनलाई स्टार्स फाउन्डेसन कास्की नेपालले वर्ष स्टार्स समाजसेवी पुरस्कार प्रदान गरेको थियो ।