प्रधानमन्त्री ओलीको पार्टी फुटाउने योजना असफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसवादी पार्टी फुटाउन ल्याएको अध्यादेश असफल भएको छ । पार्टी फुटाउनकै लागि सरकारले गत सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको थियो ।

तत्कालीन समाजवादी पार्टीका महासचिव रामसहाय यादवले प्रधानमन्त्रीको योजना फेल भएको बताए । समाजवादी पार्टी फुटाउनकै लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर सो कानुन खुकुलो बनाएको भए पनि अन्ततः योजना फेल भएको यादवले टिप्पणी गरे ।

‘हाम्रो पार्टी फुटाउनकै लागि राजनीतिक दलसम्बन्धीको कानुन खुकुलो बनाउन अध्यादेश ल्याउने काम भएको थियो,’ यादवले भने, ‘तर त्यो अध्यादेश फुट्नुभन्दा एकीकरण गर्न सहयोग सिद्ध भएको छ ।’

सरकारले राजनीतिक दलसम्बन्धी कानुनमा संशोधन गर्दै पार्टी फुट्ने गरी अध्यादेश ल्याएको थियो । केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत संख्याको ठाउँमा दुवैमध्ये एकमा ४० प्रतिशत भए पनि नयाँ पार्टी गठन गर्न मिल्ने व्यवस्था अध्यादेशमार्फत सरकारले संशोधन गरेको थियो ।

पार्टी फुटाउनकै लागि प्रधानमन्त्री ओलीले आफ्ना सांसदको अपहरण गरेको आरोप समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लगाइसकेका छन् ।

बुधबार साँझ भट्टराईले सञ्चारकर्मीलाई सन्देश पठाउँदै भनेका छन्, ‘आज वैशाख १० गते साँझ साढे पाँच बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं लगेको छ ।’

तर, प्रधानमन्त्री ओलीले जति प्र्रयास गरे पनि उनको योजना सफल हुन नसकेको भट्टराईले बताएका छन् । पार्टी फुटाउने ओलीको हरेक योजना असफल भएको बताउँदै उनले एकीककृत जनता समाजवादी पार्टी नेपालले सरकारको गलत कामको दरो रूपमा विरोध गर्ने बताए ।

सरकारले राजनीतिक दलसम्बन्धी कानुन खुकुलो बनाएपछि तत्कालीन समाजवादी पार्टीका उपाध्यक्ष रेणु यादवले छुट्टै दल दर्ता गरी सरकारमा सहभागी हुने तयारी गरेकी थिइन् । तर, हिजोदेखि समाजवादी पार्टीका नेता भट्टराईसहित अध्यक्ष उपेन्द्र यादवको प्रयासले पार्टीलाई जोगाइएको छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समेत सो अध्यादेशको खुलेर विरोध गरेका थिए । सरकारले पार्टी फोड्ने प्रयास गरे पनि राजपा र समाजवादी नफुटी एकीकरण गरिने खुला चुनौती ओलीलाई महतोले दिएका थिए ।

राजपा र समाजवादीका नेताले रातारात पार्टी एकीकरणको घोषणा गर्दै ओलीको अध्यादेश मिसनलाई असफल बनाएको चर्चा मधेसको गाउँघरमा अहिले भइरहेको छ । प्रधानमन्त्री ओलीलाई महन्थ ठाकुर, भट्टराई, महतो, उपेन्द्र लगायतका नेताले सो अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए । उनीहरूको आग्रह ओलीले नसुनेपछि उनको योजना नै फेल गराउने काम मधेसवादी दलका नेताले गरिसकेको बुझाइ अहिले चर्चाको विषय बनेको छ ।

दर्ता नं. १३८८
जनता समाजवादी पार्टी नेपाल पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । बिहीबार पार्टीका शीर्ष नेता आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच बुधबार राति पार्टी एकीकरणको घोषणा भएको थियो । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दल दर्ताका लागि आयोगमा निवेदन दर्ता गराएको जानकारी दिए ।

‘दुई पार्टीबीच हामीले एकीकरण गरिसकेपछि दल दर्ताका लागि निर्वाचन आयोगमा आज निवेदन दिएका छौं,’ महतोले भने, ‘आवश्यक कागजातसहित निवेदन दिएका छौं । आयोगले थप केही कागजात माग्यो भने हामी दिन्छौं ।’

समाजवादी पार्टीका नेता केशव झाले एकीकृत पार्टीको घोषणा पत्र, निवेदनलगायतका कागजातसहित आयोगमा निवेदन दर्ता गराएको बताए । १३८८ दर्ता नम्बर रहेको उनीहरूको निवेदनउपर कानुनअनुसार प्रक्रिया पु¥याएर आयोगले दल दर्ता भएको जानकारी दिनेछ ।

दल दर्ताका लागि तत्कालीन समाजवादीका अध्यक्ष उपेन्द्र यादव र राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीसहित राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, केशव झा लगायत नेता आयोग पुगेका थिए ।

यस्तै, संसद् सचिवालयमा समेत दल एकीकरणको जानकारी गराइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार