काठमाडौं । ट्रक साहित्य र कलामाथि तस्बिर खिचेर प्रदर्शनसमेत गरेका फोटोपत्रकार सुदर्शन कार्कीले ट्रक कला तथा साहित्यलाई जोडेर बृत्तचित्र पनि बनाएका छन् । उनले ट्याटु ट्रक अफ नेपाल वृत्तचित्र निर्माण गरेका हुन् । यिनै श्रष्टाले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा ट्रक साहित्य’bout निकै रमाईला अनुभव सुनाएका छन् ।
अन्तरक्रियाको क्रममा उनले ट्रक आर्ट तथा साहित्यलाई जोडेर निर्माण गरिएको ट्याटु ट्रक अफ नेपाल वृत्तचित्र प्रदर्शन पनि गरेका छन् । उनको बृत्तचित्र निकै रोचक बनेको थियो ।
गम्भिर देखि रमाईला सायरी तथा कविता समेटिएका ट्रक साहित्यको सृजना बृत्तचित्रमा हेरेर अतिथिहरु निकै रमाए । उनीहरुको बृत्तचित्रको खुलेर प्रसँसा समेत गरे । साहित्यमात्र हैन, ट्रकमा सृजना गरिएका विभिन्न चित्रकलाहरुलाई पनि सो बृत्तचित्रमा रोचक रुपमा समेटिएको थियो ।
सो बृत्तचित्र हेरेपछि ट्रकमा गरिने आर्टलाई पनि ग्राफिक आर्ट र क्यालीग्राफी आर्टअन्तर्गत राखेर हेरिनुपर्ने समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए । उनले ट्रक कला र साहित्यलाई एउटै दृष्टिकोणबाट हेरेर मूल्याङ्कन गर्न नहुनेमा जोड दिए ।
सो कार्यक्रमको आयोजक वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभागका प्रमुख सौरगंगा दर्शनधारीले कार्यक्रममा भने,‘प्रतिष्ठानले यस कला क्षेत्रलाई समेटेर पहिलो पटक कार्यक्रम गरेको हो र कार्यक्रम रमाईलो पनि भयो । यस कलाको पनि पृथक स्थान रहेको कुरा आज धेरैले जानकारी पाउनु पनि कार्यक्रमका प्रतिफल हो ।’ ट्रक कलाको संरक्षणमा आफुहरुको ध्यानाकर्षण भएको पनि उनले बताए ।
समारोहमा सो प्रतिष्ठानका उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्राज्ञपरिषद् सदस्यहरु पाल्साङ्मो लामा, प्रदिप अधिकारी, दिनेश्वर महतो, संजय वान्तवा राई, अरुणा हिङमाङ, प्राज्ञसभा सदस्य बासुदेव श्रेष्ठ, चन्द्रकुमार राईलगायतले कार्कीसँग ट्रकमा सृजना गरिएका कला र साहित्य’bout जिज्ञासा राखेका थिए ।
कार्यक्रममा यी वक्ताहरूले ट्रक आर्टले समेटेको धार्मिक, आध्यात्मिक, देशभक्ति, सांस्कृतिक, माया प्रेम, बिछोडलगायतका विषय समेटिएका ट्रक कला तथा साहित्यलाई सङ्कुचित नबनाई परिस्कृत एवम समाजोपयोगी बनाउनुपर्ने बताए ।
उनीहरुको जिज्ञासाको जवाफ दिँदै फोटो पत्रकार सुदर्शन कार्कीले ट्रकमा कला सृजना गर्ने कार्यलाई निरन्तरता दिने कलाकारहरू अहिले निकै कम भएको सुनाए । उनले ट्रक कला र यस्ता कला सर्जकको सँरक्षणमा ध्यान दिन सो प्रतिष्ठानका पदाधिकारीहरुलाई अनुरोध गरे । ट्रक साहित्य र कला समेटेर कार्यक्रम गरिएकोमा प्रतिष्ठानलाई धन्यवाद दिँदै उनले यस्ता कार्यक्रमले उनीहरुलाई थप प्रोत्साहन मिल्ने पनि बताए ।