डडेल्धुरा । जिल्ला सदरमुकाम बागबजारमा पहिलो व्यवसायीक भवन निर्माण गरिदै छ । जिल्ला सदरमुकामको बागबजार क्षेत्र रहेको अमरगढी नगरपालिका ५ बसपार्क छेउमा बहुउद्देशीय व्यवसायीक भवन निर्माणको काम अघि बढाईएको छ ।
जिल्लाका सात वटा स्थानीय तहसंगै सुदूरपश्चिमका सात पहाडी जिल्लाको व्यवसायीक हबका रुपमा जिल्ला सदरमुकाम डडेल्धुरा रहेको छ । तर यहाँ सरकारी एवं सामुदायिक स्तरबाट अहिलेसम्म व्यवसायीक भवन बनेका थिएनन् ।
बागबजार क्षेत्रमा व्यवसायीक भवन नहुदा व्यापारीहरुले घरधनीलाई एक सटर भाडामा लिन ४० लाख रुपियाँ अग्रिम बुझाई मासिक ४० हजार रुपियाँसम्म भाडा तिर्दै आईरहेका छन । तर अमरगढी नगरपालिकामा भने बहाल कर छली हुन्छ । मासिक दुई हजार रुपियाँमा सटर भाडामा लिएको, दिएको भनी बहालकर छली हुदै आएको छ ।
जिल्ला सदरमुकाम बागबजार देखी उग्रतारा मन्दिर जाने बाटो डकलेसम्म करिब ४ किलोमिटर सडक ३० मिटर चौडा पारि विस्तार गर्न सरकारले मुआब्जा बाँडेपछि बजारमा सटरको भाडा निकै मनोमानी ढंगले बढाईएको छ । ४० लाख रुपियाँ अग्रिम बुझाउदा पनि सडक नपाईने स्थिती सिर्जना भएको छ ।
स्थानीय र व्यापारीहरुको रोजाईमा परेको बागबजारमा बहुउद्देशीय भवन निर्माण गर्न सरकारले यस वर्ष साढे चार करोड रकम लागतमा चार तले भवन निर्माण गर्न बहुवर्षीय टेण्डर आह्वान गरेको थियो ।
बसपार्क छेउमा रहेको तत्कालिन जिल्ला विकास समितिको गेष्टहाउस रहेको स्थानमा बहुउद्देशीय भवन निर्माण गर्न सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले बोलपत्र आह्वान गरेको थियो ।
चार करोड ५० लाखको लागत स्टिमेट तयार पार्दै ठेक्का आह्वान भएकोमा घटाघटीमा दुई करोड ७० लाख रुपियाँमा ठेक्का स्विकृत भएको शहरी विकास तथा भवन निर्माण विभाग कैलालीका प्राबिधि दिपक ओझाले जानकारी दिए । उनका अनुसार १८ महिनामा काम सम्पन्न गर्ने गरि सरस्वती सागर एनएमबि जेभि धनगढीसंग गत असोग महिनामा ठेक्का सम्झौता भएको छ ।
निर्माण स्थलमा अहिले धमाधम काम भईरहेको उनले बताए । जिल्ला विकास समितिको जिर्ण अवस्थामा रहेको गेष्ट हाउसको संरचना हटाई जमिन सम्याई अहिले जग हाल्ने काम भईरहेको उनले जानकारी दिए । उनका अनुसार आउदो आर्थिक वर्ष २०८२÷८३ भित्रै भवन सम्पन्न भई हस्तान्तरण हुने छ ।
२२ मिटिर लम्बाई र १२ मिटर चौडाई भएको क्षेत्रफलमा निर्माण गरिन लागेको बहुउद्देशीय भवनको डिजायन चार तले गरिएको छ । हाल भने तीन तलाको निर्माण गर्न काम सुरु गरिएको छ । भवनको ग्राउन्ड फ्लोरमा १२ वटा सदर हुने छन । दोस्रो, तेस्रो तलाहरुमा भने सपिंग कम्लेक्स, बैंक, हलहरुको व्यवस्थापन हुने गरि डिजायन ईष्टिमेट गरिएको उनले बताए ।