धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले नयाँ प्रविधिको प्रयोग गरेर खोलाको क्षेत्राधिकार खाली गर्ने कार्य अघि बढाएको छ । उपमहानगरपालिकाले बजार क्षेत्रमा अतिक्रमणमा परेका खोलाको क्षेत्राधिकार खाली गर्न र अतिक्रमण हुन नदिन नयाँ प्रविधिको प्रयोग गरेको हो ।
उपमहानगरपालिकाले त्यसका लागि खोलाको किनारामा पोलहरू गाड्न थालिएको छ । पोलहरू सारेको खण्डमा तथा खोलाले बगाएमा स्याटेलाइट प्रविधिबाट हेरचाह गर्न सकिने गरी प्रबन्ध गरिएको छ । नदी तथा खोलाको किनारामा पोल गाडिने भएकाले सम्वन्धित जग्गाधनीलाई पनि सहज हुने उपमहानगरपालिकाको तर्क छ ।
चालु आर्थिक वर्षमा ५० किलोमिटर खोला किनारमा सीमाङ्कन, रेखाङ्कन तथा पोलहरू गाड्ने काम हुने उपमहानगरले जनाएको छ । वडा नम्बर १ र ५ को सीमा क्षेत्रमा पर्ने सुकुटी नालाबाट बुधवारदेखि यस्तो अभियानको सुरुवात गरिएको छ । नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बुधवारबाट उक्त कार्यक्रमको सुरुवात गरेकी हुन् । कित्तामा खोला परेको खण्डमा सूचना सार्वजनिक गर्ने उपमहानगरको तयारी छ ।
नगर उपप्रमुख रानाले खोलाको क्षेत्राधिकार खाली गर्न दुईवटा प्रविधिको प्रयोग गरिएको बताइन् । उनले भनिन- ‘हामीले खोलाको क्षेत्राधिकार छुट्याएका छौं । खोला अतिक्रमण गर्न हुँदैन भन्ने हो ।’ खोला किनारमा रहेका भौतिक संरचना सीमाङ्कन गरेर हटाउने सूचना सार्वजनिक गर्ने उपहानगरपालिकाले जनाएको छ ।
उपप्रमुख रानाले भनिन- ‘प्रविधिको माध्यमबाट सीमाङ्कन गर्दै छौँ । यसका लागि स्याटेलाइट प्रविधिको प्रयोग गरेका छौँ । यसको माध्यमबाट पुरानो अतिक्रमण हटाउन पनि सहज हुन्छ ।’
अहिलेसम्म उपमहानगरपालिकाले पाँच किलोमिटर खोलाको अतिक्रमण खाली गरिसकेको छ । धनगढी उपमहानगरपालिकाका भूमि व्यवस्थापन शाखाका इन्जिनियर नरेन्द्र भट्टले खोलाको क्षेत्राधिकारमा संरचनाहरू निर्माण नगर्न आग्रह गर्ने र खाली गर्न सूचना सार्वजनिक गर्ने बताए । धनगढीका मुख्य खोलाको ५० किलोमिटरमा सीमाङ्कन, रेखाङ्कन र क्षेत्राधिकार खाली गर्ने काम थालिएको उनले बताए ।
उपमहानगरपालिकाले बुधवारदेखि धनगढी वडा नम्बर १ र ५ भएर बग्ने सुकुटी नालामा पिलर गाडेर डिजिपिएस राखेर यस्तो कामको सुरुवात गरेको छ । नदी तथा खोलाको सीमाङ्कन गर्न खोलानालाको सिमाना प्रस्ट हुने गरि पिल्लर गाडीर सो बिन्दुहरूको जिआइएस नक्सांनकन गर्ने र डिजिपिएस र स्याटेलाइट तस्विर प्रयोग गरी खोलाको सीमाङ्कन निगरानीको काम थालिएको छ ।