काठमाडौं । दिपेन्द्र गौचन निर्देशित चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ले नयाँ प्रदर्शन मिती बिहिबार सार्वजनिक गरेको छ । अब यो चलचित्र आगामी ११ माघमा रिलिज गरिने निर्देशक गौचनले बताएका छन् ।
यो चलचित्र यस अघि ३० कात्तिकमा रिलिजको घोषणा गरिएको थियो । तर त्यतिबेला नेपाली चलचित्र पूर्णबहादुरको सारंगीका कारण हल खाली नभएपछि प्रदर्शन स्थगित गरिएको थियो ।
अब भने यो चलचित्र ११ माघमा रिलिज हुने भएको छ । यो चलचित्रमा नाजिर हुसेन, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्र अमितेष शाह विशेष भूमिका छन् ।
दुई मुख्य पात्रको प्रेममा आरोह अवरोहको कथालाई यो चलचित्रमा समेटिएको यसका निर्देशक गौचनले जानकारी गराए । चलचित्रमा करिब ९० प्रतिसत भूमिका दुई मुख्य पात्रकै रहेको पनि उनले बताए । ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’ निर्देशन गरेर चर्चामा आएका गौचनले यो चलचित्र पनि फरक जनराको रहेको दाबी गरेका छन् । चलचित्रको स्कृप्ट पनि दीपेन्द्रकै हो ।
यो चलचित्रमा नकिम उद्दिन कार्यकारी निर्माता रहेको यो चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता रहेका छन् ।
मिसिङः केटी हराएको सूचनामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको गीत राजीव कर्णको कोरियोग्राफी र अरुण रेग्मीको निर्माण नियन्त्रण रहेको छ । यो चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।