बारा । विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलामा पञ्चबली दिएसँगै विधिवत रूपमा बलीको सुरुवात भएको छ । विधिवत रूपमा तान्त्रिक विधिअनुसार ब्रहमस्थानमा पुजा गरी पञ्चबली दिइने गरेको छ ।
पञ्चबली अगावै गढीमाई मन्दिरका मुल पुजारी मंगल चौधरीका वंशले आफ्नो शरिरको जिब्रो,घाटी,छाती,जाङ्घ लगायत पाँच भागको पाँच थोपा रगत दिएपछि पंचबली दिने गरेको परम्परा रहेको छ ।
पञ्चबलीमा जंगली मुसा, हाँस, परेवा, सुँगुर र कुखुराको बलि दिने गरेको मन्दिरका मुल पुजारी मंगल चौधरीले जानकारी गराएका छन् ।आफ्नो पुस्ता हत्या आरोपमा जेल मुक्त भए देखि माताले आफ्नो गाउँ लिएर जान भनेपछि गाउँमा माताको त्रिशुल गाडेदेखि नै आफनो पुस्ताले माता गढीमाईको पुजा र बली दिदै आएको चौधरीले सुनाए ।
बलीलाई व्यवस्थित गर्न बधशालाको लागि करिब २ बिघा क्षेत्रफलमा पर्खाल १२ फिटको उचाइमा बनाइएको मेला व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र प्रसाद यादवले जानकारी गराएका छन् । बली दिने बेला बधशालाको फोटो खिच्न प्रतिबन्ध लगाउने हिसाबले पर्खालको उचाइ बढाएको यादवले बताए ।
गत वर्ष १० हजार भन्दा बढी राँगाको बलि दिइएको तथ्याङ्क रहेको उनले बताए । त्यस्तै भाकल गरेकाहरु मन्दिरको सिमाना कटाई असङख्य खसी, बोका, परेवा, हाँसको बलि दिने गरेको उनले बताए । बलीको लागि दुई सयको हराहरीमा आफ्नो हतियार नदेख्ने गरि खटाइएको मेला व्यवस्थापन समितिका अध्यक्ष यादवले बताए ।
गढीमाई मेलामा देश, विदेश लगायत छिमेकी भारतको बिहार, झारखण्ड, उत्तराखण्ड, उत्तरप्रदेश, मुम्बई, दिल्ली पञ्जाब, हरियाणा, पश्चिम बंगालबाट करोडौ दर्शनार्थीहरू गढीमाईको दर्शन गर्न आउने गरेको मेला व्यवस्थापन समितिका प्रवक्ता परमहश यादवले बताए ।
शनिवार राती सम्म वधशाला भित्र पाँच हजारको हराहरीमा राँगा भित्रिएको मेला समितीले जनाएको छ । आइतवार दिन भरी बली भित्रिने उनले बताए । छिमेकी राष्ट्रबाट बलीको रूपमा आउने राँगालाई नाकाहरूमा भारतीय एसएसबीले रोके पछि बली पुर्ण रूपमा आउन नसकेको मेला समितिले जनाएको छ ।
मधेस प्रदेश सरकारले बलिका दिन प्रदेश भरि सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री सतिश सिहले पर्यटन प्रवर्द्धनको लागि भए पनि मधेश प्रदेश सरकारले बिदा दिएको बताए । विश्व कै नजर गढीमाई मेला प्रती रहेकोले आफुहरू कुनै तवरले नचुक्ने उनले प्रतिवद्धता गरेका छन् ।