धनगढी । सुदूरपश्चिम प्रदेशको कैलारी गाउँपालिका तथा डोटी जोरायल गाउँपालिका विभिन्न सुन्दर क्षेत्रलाई दुई वटा भिडियोमा समेटिएको छ । सो क्षेत्रको पर्यटन प्रवर्धनको लागि त्यहाँका सुन्दर ठाउँ दुई वटा भिडियोमा समेटिएको अभिनेता सनम कठायतले बताएका छन् ।
‘दृष्यमा सुदुरपश्चिम’ परियोजना अन्तर्गत हरेक जिल्लाको सुन्दर ठाउँलाई उनले बृत्तचित्र तथा म्युजिक भिडियोमा उतार्दे आएका छन् । सो परियोजना अन्तर्गत तयार गरिएको यी दुबै भिडियोलाई धनगढीमा औपचारिक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । एभरेष्ट ग्यालरीको आयोजनामा दृश्यमा सुदूरपश्चिम सार्वजनिक गरिएको हो । सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहीले दुबै भिडियो लोकार्पण गर्दै त्यहाँको सुन्दरताले आफुलाई लोभ्याएको बताए । आगामी वर्षबाट यो परियोजनालाई उनले बजेटमै पार्ने पनि बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टि एन जोशीले दृष्यमा सुदूरपश्चिम परियोजना अन्तर्गत केही वर्षदेखि सनम कठायतले उनको टिमले सुदुरपश्चिमलाई भिडियोमार्फत विश्वभर पु-याएको बताए ।
सामाजिक विकास मन्त्री मेघराज खड्का, आन्तरिक मामिला मन्त्री हिरा सार्की, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी, प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, प्रदेश सभा सदस्य शिव सि ओलीलगायतले पनि सुदुरपश्चिमको विभिन्न स्थानलाई चलचित्र, बृत्तचित्र तथा म्युजिक भिडियोमा समेटेर बाहिर ल्याउन आफुहरुले सहयोग गर्ने बताए ।
कार्यक्रममा केही श्रष्टाहरुलाई एभरेष्ट प्रादेशिक सम्मानबाट सम्मानित गरियो । साहित्यकार निर्मल कुमार भण्डारी, खप्तड छान्ना गाउँ पालिका अध्यक्ष उत्तम रोकाया, देउडा गायक भुवन प्रसाद दाहाल, पर्यटन प्रवर्धक मायाप्रकाश भट्ट ,पत्रकार चित्राङ थापा, उद्यमी किरण मल्ल, शिक्षासेवी योगेन्द्र हमाल, कृषी व्यबसायी खड्क मल्ल र भरत विक्रम शाह कार्यक्रममा सम्मानित भए ।
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्धनको लागि त्यहाँको कथा सुन्दर दृष्य समेटेर तयार गरिएको भुल्नै गाह्रो भो…गीतको भिडियो र अर्को एउटा पर्यटन प्रवर्धन भिडियो सो कार्यक्रममा सार्वजनिक गरिएको हो । सनम कठायत र पवित्रा शाखीको अभिनय रहेको यो म्युजिक भिडियोमा जोरायल गाउँपालिका अध्यक्ष दुर्गा ओझालगायत स्थानीय कलाकारहरुले समेत अभिनय गरेका छन् ।
भिडियोले जोरायल गाउँपालिका आसपासका क्षेत्रको प्रवर्धन गर्ने विश्वास अध्यक्ष ओझाले सो कार्यक्रममा व्यक्त गरे । भिडियोमा दिपक गिरीले त्यहांको सुन्दरतालाई लोभलाग्दो गरी उतारेको पनि अध्यक्ष ओझाले बताए । अमृत चापागाईंको सम्पादन रहेको भिडियोलाई जनक सिंहले निर्देशन गरेका हुन् । सो गीतमा गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वर रहेको छ । यस्तै सोही कार्यक्रममा सार्वजनिक गरिएको अर्को भिडियो त्यहाँको स्थान परिचय र पर्यटन प्रवर्धनमा केन्द्रित थियो ।