काठमाडौं । नेपाली चलचित्र बम बहादुरको भारतको दार्जिलिङमा प्रिमियर गरिएको छ ।सञ्जीव सार्कीले निर्माण गरेको यो चलचित्रलाई जोन राईले निर्देशन गरेका हुन् ।
आफ्नो चलचित्रले प्रिमियरमा दार्जिलिङका दर्शकहरूबाट प्रशंसा पाएको निर्देशक राईले बताएका छन् । नेपाल र भारतमा एकसाथ यो चलचित्र आगामी ५ पुसबाट रिलिज हुने भएको छ ।
ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा यस चलचित्रको प्रिमियर शो आयोजना गरेको थियो । सो प्रिमियरमा चलचित्रका कलाकार र प्राविधिकलाई सम्मान गर्दै बाँकी पारिश्रमिक पनि प्रदान गरिएको निर्देशक राईले जानकारी गराए ।
यो चलचित्रमा सौगात मल्ल, अनिशा रसाइली, अजय प्रधान, शान्तिला तामाङ, बाल कलाकार वशिस्ट कार्की, प्रभात पाख्रिन, बादल क्षेत्रीलगायतको अभिनय छ । छायांकनमा व्यस्तताका कारण सौगात भने प्रिमियरको लागि दार्जिलिङ जान सकेनन् ।
बम बहादुरले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षको कथा बोकेको निर्देशक राईको कथन छ । सन १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहहरूलाई यो चलचित्रमा समेटिएको पनि उनले बताएका छन् ।