लमजुङ । बाजा र नाच भन्ने बित्तिकै कस्को मन रोमाञ्चित नहोला र ! मनोरञ्जन र स्वरोजगार समेत हुने भएपछि यहाँका महिलाहरू पञ्चैबाजा बजाउँदै रमाउन थालेका छन् । २०७४ सालदेखि सूर्योदय गाउँबेसी आमा समूह खोलेर गाउँका विभिन्न सामाजिक कार्यमा सरिक हुँदै आएका महिलाहरू गत असोजमा मात्र पञ्चैबाजाको तालिम लिएर यो काममा अग्रसर भएका हुन् ।
पहाडी भेगका हुने प्रायः सबै प्रकारका जातजाति समावेश रहेको सूर्योदय गाउँबेसी आमा समूहमा हाल ६९ जना सदस्य आवद्ध रहेको पञ्चैबाजा समूहकी अध्यक्ष तथा आमा समूहकी सचिव विष्णु थापाले बताइन् । उनका अनुसार लमजुङको सुन्दरबजार नगरपालिका– २ को सीमाक्षेत्रमा रहेको तनहुँको भानु नगरपालिका– ११ को टुहुरेपसलका स्थानीयबासी सूर्यनाथ अधिकारीलाई अनुरोध गरेपछि बाजाको सेट उपलब्ध गराइदिनु भएको हो । उनले भनिन्, ‘एफएसआई यूएसए संस्थामार्फत स्थानीयबासी सूर्यनाथ अधिकारीले एक लाख २० हजार रुपैयाँमा खदिर गरी दिनु भएपछि हाम्रो चाहना पुरा भएको हो ।’
गत असोज ४ गतेदेखि १५ दिने तालिम लिएर यो काममा सरिक हुन थालेको सहनाई बजाउने रुविना श्रेष्ठले बताईन् । उनले भनिन्, ‘सानैदेखि नाच गान गर्न मन थियो, एले २– ४ पैसा कमाई समेत हुने भएको हुँदा बाजा बजाउन सिकेका हौं ।’
त्यो टोलीले विवाह पञ्चमीका दिन सुन्दरबजार नगरपालिकाको रामजानकी मन्दिरमा आयोजित विवाह पञ्चमीको मेलामा बाजा बजाएर दर्शक एवम् भक्तजनहरूको मन जित्न सफल भएका थिए । ‘महिलाहरूलाई प्रोत्साहन गरौं भनेर बाजा बजाउन बोलाएको त सिकिसकेका रहेछन्, राम्रो बजाए’ सयपत्री आमाविका प्रिन्सिपल ज्ञानेन्द्र शर्माले भने ।
पञ्चैबाजामा मनिषा गुरुङ र शोभा भुजेलले नरसिंगा, रुविना श्रेष्ठ र मीना थापा, झ्याली नानीमाया कार्की, दमाहा बजाउने शिशु थापा र सरस्वती भुजेल, ढलकी बजाउने बिना केसी सिरक भएका छन् । यसैगरी, टेम्को बजाउनेमा लक्ष्मी तामाङ छन् भने नाच्नेमा दीपा गुरुङ र गीत गाउनेमा विष्णु थापा रहेको पञ्चैबाजा समूहकी अध्यक्ष विष्णु थापाले जानकारी दिइन् । उनका अनुसार सेपा बगैंचाका रामचन्द्र सेवाले आएर आमा समूहको भवनमा तालिम दिएका हुन् । हामीले बाजा बजाउने समय र दुरी अनुसार पारिश्रमिक लिने गरेका छन् । सामान्यतः एक दिनको हाम्रो टिमका लागि ५० हजार रुपैयाँका दरले पारिश्रमिक लिन्छौं सो आमा समूहकी अध्यक्ष कृष्ण गुरुङले जानकारी दिइन् । उनका अनुसार बाजा किन्दा तथा तालिम लिदाको सबै खर्च एक लाख ७५ हजार रुपैयाँ पुगेको छ ।
कमाई भएको २० प्रतिशत आमा समूहको कोषमा दिने र बाँकी पारिश्रमिकका रुपमा आफूहरू बीचमा भाग लगाएर लिने गरेको नरसिंगा बजाउने रुविना श्रेष्ठले बताइन् । नरसिंगा बजाउन गाह्रो हुन्छ यो नै किन रोज्नु भो ? भन्ने जिज्ञासामा मलाई सानैदेखि नरसिंगाको धुन मनपर्ने हुँदा यही बजाउन सिकेँ उनले भनिन् । तालिमका दिनमा एक मिनेटसम्म पनि नरसिंगा फुक्न कठिन थियो तर ऐले तीन मिनेटसम्म फुक्न सक्ने भएकी छु उनले गर्वका साथ सुनाइन् । उनी भन्छिन्, ‘भोलि भोलिका दिनमा अभ्यास गर्दै जाँदा पाँच सात मिनेट बजाउन सक्छु भन्ने लागेको छ ।’ यसै प्रसङ्गमा आफूलाई आफ्ना बाबाले तीन दशक अघि आफ्नो जवानीका बेलामा लमजुङकै दुराडाँडाका चतुर्भुज दमैले आधा घण्टासम्म उढेर, बसेर, सुतेर पनि नरसिंग बजाउने र फरि उठ्ने गर्थे रे ! भन्ने सुन्दा कसरी त्यस्तो गर्न सके होलान् ? भन्ने लाग्छ उनले सुनाइन् ।
गाउन बजाउन पाउँदा रमाइलो पनि हुने र धेर थोर पारिश्रमिक पनि पाउने हुँदा हामी निकै खुशी छौं ढलकी बजाउने बिना केसीले बताइन् । उनले गर्विलो स्वरमा भनिन् ‘अब हाम्रो जागिर नै यही काम हो ।’