इलाम । इलाम सदरमुकाममा अवस्थित ठुलो टुँडिखेलमा जारी दोस्रो संस्करणको इलाम गोल्ड कपको अन्तिम क्वाटर फाईनलबाट रेड स्टार झापा अन्तिम चारमा आफूलाई सुरक्षित गरेको छ । मङ्गलवार भएको खेलमा रेड स्टार झापाले मचिन्द्र फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गरे सँगै सेमिफाइनल समीकरण पुरा भएको छ ।
पहिलो हाफको सुरुवातीदेखि दबाबमा राखेको रेड स्टारले खेलको ३५ औ मिनेटमा आदित्य शाक्यले गोल गर्दे टिमलाई अग्रता दिलाएका थिए । खेलको ७० औ मिनेटमा मचिन्द्रका देवेन्द्र तामाङले गोल गर्दे खेललाई बराबरी बनाए । त्यसको ११ मिनट बित्दा नबित्दै रेड स्टार झापाका पोकु हेङ्ग्रीको फ्री किक प्रहारलाई नीरज कार्कीले जाली चुमाउँदै खेललाई अग्रता बनाए । उक्त गोल नै सेमिफाइनल यात्रा कोलागि निर्णायक बन्यो ।
सुरु देखिनै मचिन्द्रलाई दबाबमा राखेको रेड स्टारले खेलको तेस्रो मिनेटमा विदेशी खेलाडी पोकु ह्याङ्रीको प्रहार मचिन्द्रका गोल रक्षक विशाल श्रेष्ठले बचाउ गरे । चार मिनेटमा आशिष् चापागाईँको प्रहार गोल पोस्टमाथिबाट बाहिरियो । ११ औ मिनेटमा आशिष्कै प्रहार सदुपयोग हुन सकेन । १५ औ मिनेटमा पुकु हेङ्ग्रीको फितलो प्रहार गोल किपर विशाल श्रेष्ठले सहजै रोक्न सफल भए । खेलको २४ औ मिनेटमा कप्तान खमिर गिल्सन कन्दङ्वाको क्रस पासलाई विशाल दर्जीले गोल पोस्टको दिशा दिन सकेनन् । ३४ औ मिनेटमा कप्तानकै पास आशिष् चापागाईँले सदुपयोग गर्न चुके । त्यसको एक मिनेट नबित्दै डि बक्स एरिया नजिकै बाट पाएको फ्री किकलाई सदुपयोग गर्दे नीराजनले जाली चुमाए । ४१ औ मिनेटमा आदित्यको प्रहार गोल पोस्ट माथि पुग्यो ।
५९ औ मिनेटमा आशिष्को राम्रो पासलाई कप्तान खमिर गिल्सनले नभेट्दा टिमलाई अग्रता दिलाउन चुके । ६६ औ मिनेटमा पाएको फ्री किक कप्तानकै प्रहार गोल हुन चुक्यो । डिफेन्सलाईनबाट अघि बढेका बिदेसी खेलाडी रोबट कोविनले ७६ औ मिनेटमा पाएको निकै राम्रो अवसरलाई सदुपयोग गर्न सकेनन् । ८२ औ मिनेटमा निराज कार्कीले पाएको अवसर किपर विशालको हातमा पुग्यो । ८४ औ मिनेटमा आदित्यको गोल गर्ने अवसर पोस्ट माथिबाट बाहिरियो । ८९ औ मिनेटमा निराज कार्कीको प्रहार फितलो बन्दा विशालले सहज रूपमा आफ्नो कब्जामा राखे ।
यता मचिन्द्र क्लबले छ मिनेटमा पाएको अवसरलाई अविशेक बरालले बाहिर पठाइदिए । १२ औ मिनेटमा बिजु भुजेलले पाएको प्रहार फितलो बन्यो । १६ औ मिनेटमा सौरव सुब्बा र मनिस डाँगीको अवसर सदुपयोग गर्न चुक्यो । २६ औ मिनेटमा सौरवले पाएको निकै राम्रो अवसर गोल पोस्ट माथिबाट बाहिर गयो । ३० औ मिनेटमा सौरबकै प्रहार बारमा ठोकिन पुग्यो । ३९ औ मिनेटमा सौरबको सासलाई बिजु भुजेलले गरेको सुट फितलो बन्यो । ४४ औ मिनेटमा बिजुले क्रसबाट निकालेको अवसर सौरबले सदुपयोग गर्न सकेनन् । ५७ औ मिनेटमा मनिस डाँगीको प्रहारले जाली चुम्न सकेन । ६७ औ मिनेटमा सौरबको सुनौलो अवसर गोल किपरले सहजै सम्हालिदिए । ७६ औ मिनेटमा मचिन्द्रका खेलाडीले डिबक्समा पाएको बल प्रहार गर्न चुक्दा क्वाटर फाइनलबाटै घर फर्किनु प-यो ।
मचिन्द्रका कोच सन्तोष न्यौपानेले प्रतिस्पर्धी टिमको खेल राम्रो भएको र आफ्नो टिममा तालमेल नबन्दा हार बेहोर्न परेको बताए । यता रेड स्टार झापाका कोच सचिन्द्र धिमालले अहिलेको टिम खेलमा फिट हुन नसकेको कारण सोचेअनुसार नभए पनि खेल राम्रो भएको बताए । मङ्सिर २९ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुनेछन् ।