लमजुङ । लमजुङको ग्रामीण क्षेत्रका महिला लाजले आजका दिनमा पनि रोग पालेर बस्ने तर कसैलाई नभन्ने स्थिति फेला परेको छ । लमजुङको सुन्दरबजार नगरपालिका– ६ मा सञ्चालन गरिएको निःशुल्क दुई दिने क्यान्सर स्क्रिनिङ र आँखाको शिविरका क्रममा उपचारमा आएका महिलामा त्यस्तो समस्या देखिएको हो ।
वरिष्ठ स्त्री एवम् क्यान्सर रोग विशेषज्ञ डा. सुशीला वैद्यले त्यस्तो जानकारी दिएकी हुन् । नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा लमजुङको आयोजना, लायन्स इन्टरनेशनल ३२५– ई काठमाडौंको प्राविधिक एवम् औषधि सहयोग तथा एचडिसिएस नमूना सामुदायिक अस्पतालको व्यवस्थापन सहयोगमा सो निःशुल्क दुई दिने शिविर सुन्दरबजार स्थित एचडिसिएस नमूना सामुदायिक अस्पतालमा सञ्चालन गरिएको हो । दुई दिनमा गाइनोको समस्या लिएर आउने महिलाको संख्या २४५ रहेको डा. वैद्यले बताइन् ।
उनका अनुसार केही महिलामा आजका दिनमा पनि लाजले आफ्नो समस्या लुकाएर बस्ने तर नभन्ने रहेको पाएँ । ‘त्यसमध्ये एक जना दुर्गम गाउँ दोर्दीबाट आएको करिब ६० वर्ष उमेरकी महिलाको पाठेघर खसेर हिड्न पनि नसक्ने अवस्था रहेछ ।’ उनले भनिन्, ‘सुरुमा उनले मलाई पनि भन्न लजाइन्, उनको अप्ठेरो मैले बुझी हालेँ । पाप लाग्छ भन्दै थिइन्, उनलाई सम्झाई बुझाई गरेर रिङ राखेर पठाइदिएँ ।’
ती महिलाको मुत्रासयमा रिङ राख्नका लागि समाजसेवी एवम् अनुसन्धानकर्मी विन्दू शर्माले आर्थिक सहयोग गरेको आयोजक अर्बुद रोग निवारण संस्थाका कोषाध्यक्ष तैमाया गुरुङले बताइन् । उनले भनिन्, ‘अझै पनि दुर्गम गाउँघरका पत्यारै नलाग्ने खालाको महिलाहरूले पनि रोग पालेर बसेको देखियो ।’ त्यसैले पनि यस्तो शिविरमा महिला डाक्टर नै चाहिन्छ भनेर हामीले जोड गरेका थियौं, भयो नै यस्तो सेवाको काम गर्न पाउँदा जिन्दगीमा थोरै मात्रामा मिल्ने खुशी धेरै लागेको कोषाध्यक्ष गुरुङ भन्छिन् ।
लेजरथेरापिष्ट एवम् नेशनल क्यान्सर हस्पिटल जावलाखेलका संस्थापक निर्देशक डा. सुशीला वैद्यले १७ जनाको पोलिप अर्थात पाठेघरमा मासु पलाएको फेला परेको बताइन् । उनीहरूलाई थप उपचारका लागि छिट्टै थप जाँच गर्न सल्लाह दिइएको छ । उनका अनुसार गाउँघरमा आँग खस्ने समस्याले ग्रस्त भएका १० जना महिलाहरू उपचारका लागि आएका थिए ।
सो शिविरमा २ सय ४५ जनाको क्यान्सर स्क्रिनिङ र ४ सय ९ जनाको आँखाको उपचार गरिएको अर्बुद रोग निवारण संस्थाका सल्लाहकार एवम् उक्त शिविरको काठमाडौंमा व्यवस्थापन कार्य गर्ने रामबाबु अधिकारीले बताए । उनका अनुसार शिविरमा आँखाका ’boutमा नेत्ररोग विशेषज्ञ विनयकुमार घिमिरे र नेत्र सहायक अर्जुन गुरुङले आँखा परीक्षण एवम् उपचार सेवा दिएका थिए । उनले भने, ‘उक्त शिविरमा बिरामीहरुलाई आबश्यक औषधि र चश्मा निःशुल्क वितरण गरिएको थियो ।’ नेत्ररोग विशेषज्ञ घिमिरेले आँखा उपचारका लागि आएका ४ सय ९ जनामध्ये २३ जनाको मोतियाविन्दूको शल्यक्रिया गर्नु पर्ने देखिएको बताए ।
उनीहरूको काठमाडौंमा शल्यक्रियाका लागि निःशुल्क प्रवन्ध गरिएको संस्गाका उपाध्यक्ष शोभा ठकुरीले जानकारी दिइन् । उनका अनुसार लमजुङमा २५ वर्षपछि पहिलो पटक क्यान्सरको स्क्रिनिङ विशिर सञ्चालन गरिएको हो ।