काठमाडौं । चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ)को घोषणा गरिएको छ । आयोजक सेलिब्रेटी नेपालले एक पत्रकार भेटघाटको आयोजना गर्दै चौथो नेपाल ग्रामीण चलचित्र महोत्सबको घोषणा गरिएको हो । महोत्सवको उद्देश्य पर्यटन प्रव्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पु¥याउनु रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले सञ्चारकर्मीलाई जानकारी गराएका छन् । उनका अनुसार महोत्सवमा चलचित्र विकास बोर्डको सहकार्य रहने छ ।
पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेश्रो पटक रामेछाप बजारमा आयोजना गरिएको थियो । यसपटकको लागि महोत्सब गर्न नयाँ ठाउँको खोजी भईरहेको पनि सापकोटाले जानकारी गराए । उनका अनुसार नुवाकोटसहित र अन्य जिल्लाबाट महोत्सबको लागि प्रस्ताव आएको छ ।
आयोजक सापकोटाका अनुसार ‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा तथा लामा चलचित्र, बृत्तचित्र समावेश गरिने छ ।
अध्यक्ष सापकोटाले महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गरिने पनि जानकारी गराए । महोत्सवको लागि चलचित्र दर्ता आह्वान गरिएको पनि उनले बताए । महोत्सवमा चलचित्र, लघु चलचित्र, आदिबासी एवम् भाषाभाषी चलचित्र र लघु चलचित्र समावेश गरिने पनि उनले जानकारी गराए ।
महोत्सबका लागि दर्ता भएका चलचित्रहरु मध्यबाट प्रारम्भिक निर्णायक टोलीले चयन गरेका चलचित्रलाई महोत्सबमा प्रदर्शन गरिने भएको छ । अध्यक्ष सापकोटाका अनुसार महोत्सबमा चयन भएका चलचित्रहरूलाई अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गरेर र उत्कृष्ट चलचित्र, लघु चलचित्र एवम् बृत्तचित्र र कलाकार तथा प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ ।
विगत चार वर्षदेखि आयोजना हुँदै आइरहेको यो महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका चलचित्रमात्र समावेश गरिने छ । महोत्सवमा चलचित्र प्रदर्शनसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता चलचित्र निर्माण गर्ने र कस्ता चलचित्रले दर्शकको साथ पाउने छ भन्ने विषयमा कार्यशाला गोष्ठीहरु पनि आयोजना गरिने भएको छ ।
शहर केन्द्रित नेपाली चलचित्रलाई गाउँ गाउँमा पु¥याएर त्यहाँका दर्शक्लाई चलचित्र हेर्ने बानी बसाल्नु, ग्रामीण कथामा बनेका चलचित्रलाई विश्वमाझ पु¥याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको पनि सापकोटाले बताए ।