काठमाडौं । अभिनेता सलोन बस्नेतले आफ्नो नयाँ चलचित्र ‘रंगी’को रिलिज घोषणा गरेका छन् । उनी यो चलचित्रबाट पहिलो पटक निर्माणमा उत्रिएका हुन् । अब यो चलचित्रलाई आगामी २ फागुनमा रिलिज गर्ने उनले बताए ।
सलोनले यो चलचित्रको रिलिज मितिसहित फस्ट लुक्स (पोस्टर) र मोसन पोस्टर पनि बुधबार सार्वजनिक गरेका छन् । २ फागुनमा यस अघि दीपेन्द्र लामाले आफ्नो नयाँ चलचित्र दुःखी आत्माको रिलिजको घोषणा गरेका थिए । अब यो मितिमा चलचित्र रंगी पनि थपिएको छ ।
प्रणय दीवसको अबसर पारेर आफुले यो चलचित्र रिलिज गर्न लागेको सलोनले बताए । चाडपर्वमा दुईवटा सम्म नेपाली चलचित्र बिगतमा पनि प्रदर्शन हुँदै आएकाले यो मितिमा सलोनले आफ्नो चलचित्र रिलिज गर्न लागेको पनि प्रस्ट्याए ।
बुधबार सार्वजनिक गरिएको रंगीको पोस्टरमा अभिनेता सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई स्थान दिइएको छ । ग्रामीण बजारलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा आयुषी र सलोनलाई गम्भीर भावमा देखाइएको छ ।
यसैगरी यो चलचित्रको मोसन पोस्टरमा सलोन, आयुषी र नव नायिका नम्रता श्रेष्ठलाई समेटिएको छ । नम्रता मिस वल्र्ड नेपाल २०२०की विजेता हुन् ।
सुरेश न्यौपानेको निर्देशन रहेको यो चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठसंगै दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको मुख्य भूमिका रहेको छ ।
सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको यो चलचित्रमा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको गीत रहेको छ ।
चलचित्रमा बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन डिजाईन रहेको पनि सलोनले जानकारी गराएका छन् । उनका अनुसार यो चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।