काठमाडौं । प्रदीप खड्का, दयाहाङ र सौगात मल्लजस्ता अभिनेताको शिर्ष भूमिका रहेको चलचित्र पिताम्बरको रिलिज मिति सार्वजनिक गरिएको छ । यो चलचित्र आगामी नयाँ वर्षको अबसर पारेर २९ चैतमा रिलिज गरिने भएको छ । यसको ए महिना अघि प्रदीपको चलचित्र द एक्टर र दयाहाङको चलचित्र अन्जिला आउँदैछ । ती दुई चलचित्र रिलिज भएको महिना दिनै यी दुईको शिर्ष भूमिका रहेको चलचित्र पिताम्बर आउन लागेको हो । यस अघि नै नयाँ वर्षमा चलचित्र बलिदान, कर्मा, कल्ली रिलिजको घोषणा गरिएको छ । यो मितिम कल्ली आउने सम्भावना काम भए पनि बाँकी दुई चलचित्र र पिताम्बरबीच भिडन्त हुने भएको छ ।
यो चलचित्रकी निर्देशक कृषा चौलागाईले शनिबार आफ्नो चलचित्रको फस्ट लुक्स सार्वजनिक गर्दै पिताम्बरको रिलिज मिति घोषणा गरेकी हुन् । ‘दशैंपछि नेपालीहरुले चलचित्र हेर्ने अर्को राम्रो समय भनेको नयाँ वर्ष हो । सोही कारण चलचित्र पिताम्बरको लागि हामीले नयाँ वर्ष २०८२ रोजेका हौं ।’ कृषाले भनिन् ।
पिताम्बर मल्टिकास्ट चलचित्र भएको पनि उनले बताईन । पिताम्बरको विभिन्न सेड्युलमा ७० दिनमा छायांकन सकिएको थियो । यो आफ्नो ड्रिम प्रोजेक्ट भएको पनि निर्देशक कृषाले बताएकी छिन् ।
यो चलचित्रको फस्ट लुक्स (पोस्टर) एक्सन प्रधान देखिएको छ । फस्ट लुक्समा चलचित्रका तीन मुख्य अभिनेता प्रदीप खड्का, सौगात मल्ल र दयाहाङ राईलाई समेटिएको छ । पोष्टरमा अभिनेत्री भने छैनन् । यो चलचित्रमा प्रदीप, दयाहाङ, सौगातसँगै दिव्या रायमाझी, अनुपविक्रम शाही, सुरक्षा पन्त, प्रमोद अग्रहरी, दिव्यदेव, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, गौरव विष्ट, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
केपी फिल्मसले पुरुषोत्तम प्रधान फिल्मससँग सहकार्य गरेको पिताम्बरलाई पुरुषोत्तम प्रधानले खिचेका छन् । यो चलचित्रको निर्मातामा विशाल चौलागाई छन् । प्रदीप भारद्धाजको लेखन र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको यो चलचित्रलाई निर्देशक कृषाले करिब ५ करोडको लगानीमा निर्माण गरिएको बताएकी छिन् ।