काठमाडौं । नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन मानवीय सहायताको क्षेत्रमा काम गर्दै आइरहेको कल्याणकारी संस्था, हेल्प नेपाल नेटवर्कले यही पौष १३ गते शनिबार आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव मनाउन लागेको छ ।
सन् १९९९ मा बेलायतमा स्थापित नेटवर्कका झन्डै एक दर्जन मुलुकमा शाखाहरू रहेका छन् भने नेपालमा केन्द्रीय कार्यालय रहेको छ । “मातृभूमिका लागि महिनामा एक पाउण्ड” भन्ने नारासहित सन् १९९९ मा बेलायतबाट हेल्प नेपाल नेटवर्क स्थापना गरिएको थियो ।
नेटवर्कले नेपालका एक सय बढी स्कुलहरूमा कक्षा कोठा निर्माण तथा झन्डै ५० ओटा इ–लाइब्रेरी स्थापना गर्नुकासाथै सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाहरूमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरूको पुनर्निर्माणमा पनि सघाएको छ ।
नेटवर्कले सन् २००४ मा विकट मुगु जिल्लाको मुर्मामा स्थापना गरेको हेल्प नेपाल हेल्थ पोष्टले स्थानीय समुदाय तथा पदयात्रीहरूलाई गएको २० वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

त्यस्तै सन् २०१४ देखि धुलिखेलमा संचालित हेल्प नेपाल बालगृहमा २३ जना असहाय बालिका बसेर पठनपाठन गरिरहेका छन् । सन् २०१५ को महाभूकम्प, जाजरकोट भूकम्प तथा देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा आगलागी पीडितहरूलाई पनि नेटवर्कले मानवीय सहायता पु-याउँदै आएको छ ।
यही शनिबार अपरान्ह भृकुटी मण्डपस्थित राष्ट्रिय सभागृहमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतको प्रमुख आतिथ्यमा आयोजना गरिने २५औँ वार्षिकोत्सव कार्यक्रममा विशिष्ट समाजसेवीहरू वरिष्ठ हृदयरोग विशेषज्ञ डा. भगवान कोइराला, मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी तथा अटिजम भएका बालबालिको सेवामा समर्पित सविता उप्रेतीलाई अभिनन्दन गरिनुका साथै तथा संस्थाको स्थापनाकालदेखि सघाउने महानुभावहरूलाई सम्मानित गरिने नेटवर्कले जनाएको छ ।
