काठमाडौं । नेपाली गायक गायिकाको कमाई खास्सै हुन्न भन्नेहरु धेरै छन् । तर यहाँ कही कलाकारले सांगीतिक प्रस्तुतिबाट मासिक लाखौं रुपैयाँ कमाउँछन् । अझ विदेशमा सांगीतिक यात्रा लिएर जाने कलाकारहरुले लाखौं लाख रुपैयाँ गीत गाएरै नेपालमा भित्राउने गरेका छन् ।
यसै क्रममा पारिवारिक भेटघाट र सांगीतिक कार्यक्रम लिएर गत दशैं अघि बेलायत गएकी गायिका सत्यकला राईले १०५ दिनको बेलायत बसाईमा १८ वटा कन्सर्ट सम्पन्न गरिन् । उनले यो कन्सर्टबाट त्यहाँका स्थानीय कलाकारलाइ केही रकम दिएतर तथा कार्यक्रमको खर्च काटेर नेपालमा ४० लाख रुपैयाँ भन्दा बढी पैसा भित्राएकी छिन् ।
साँढै तीन महिनाको बसाईमा उनले यसपटक बेलायतको अल्डरसटमा मात्रै पाँच वटा कन्सर्ट गरिन् । यसैगरी बेलायतको आस्फोर्ड, ह्यारो र स्विन्डनमा दुई÷दुई वटा आफ्नो कन्सर्ट आयोजना गरेको पनि गायिका सत्यकलाले राजधानीलाई बताईन् ।
बेलायत बसाईको क्रममा आफुले प्लमस्टेट, गेम्बोलेन, पिटरबोरो, क्यान्टवरीमा, ननिटनलगायतका स्थानमा एक एक वटा सांगीतिक कार्यक्रम प्रस्तुत गरेको पनि गायिका सत्यकलाको कथन छ ।
यी मध्य केही शहरमा त्यहाँका स्थानीय कलाकारलाई पनि उनले आफ्नो प्रस्तुतिमा सहभागी गराएकी थिईन् । तर धेरैजसोमा भने आफ्नो एकल कार्यक्रम रहेको यी गायिकाको कथन छ । गतवर्ष आफ्नै लगानीमा उनले चलचित्र काँडेतार निर्माण गरेकी थिईन् । बेलायतमा सांगीतिक कार्यक्रमबाट भएको कमाईले काँडेतार निर्माण गर्दा लागेको ऋण तिर्न आफु सफल भएको पनि सत्यकलाले बताएकी छिन् ।
बेलायतको यो नै उनको पहिलो कन्सर्ट भने हैन । यि गायिकाले धेरै पटक विदेशमा सांगीतिक प्रस्तुति दिईसकेकी छिन् । उनको विदेशमा सांगीतिक यात्रा २०५९ सालबाट सुरु भएको हो ।
२०५७ सालमा भमरालाई त के छर…गीत आफ्नो स्वरमा रेकर्ड गराएर सत्यकलाले व्यबसायिक गायन यात्रा सुरु गरेकी थिईन् । उनको पहिलो एकल गीतिसंग्रह ‘आईडी काडैले’ थियो । २०५८ सालमा आएको यो गीतिसंग्रहको शिर्ष गीत आईडी काडैले त्यतिवेला सर्वाधिक हिट भएको थियो ।
पहिलो संग्रहको गीत आईडी काडैले हिट भएपछि सोही वर्ष उनी पहिलो कन्सर्ट लिएर हङकङ गएकी थिईन् । त्यो क्रममा हङकङबाट उनले पहिलो कन्सर्ट यात्राबाट पटक २ लाख रुपैयाँ कमाएर नेपाल ल्याएकी थिईन् । त्यतिबेला आफुले एक साताको हङकङ बसाईमा तीनवटा सांगीतिक प्रस्तुति दिएकी उनले राजधानीलाई बताईन् । त्यसपछि यी गायिकाले चार पटक हङकङमा सांगीतिक कार्यक्रम प्रस्तुति गरिसकेकी छिन् ।
यस्तै गायिका सत्यकलाको दोश्रो एकल गीतिसंग्रह इन्टरनेटैमा २०६० सालमा आएको थियो । यो दोश्रो संग्रहको शिर्ष गीत पनि त्यो वर्ष त्यत्तिकै चल्यो । त्यसपछि उनले युरोपका थुप्रै देशहरुमा सांगीतिक कार्यक्रम प्रस्तुत गरिन् । युरोपका जर्मनी, बेल्जियम, लग्जम्बर्ग, अस्ट्रियसहित ८ देशमा यी गायिकाले आफ्नो सांगीतिक प्रस्तुति दिएको बताईन् ।
उनले भारतमा थुप्रै पटक कन्सर्ट गरिसकेकी छिन् भने सांगीतिक यात्राकै क्रममा यस अघि पनि बेलायत र सँयुक्त राज्य अमेरिकाका विभिन्न शहरमा पनि आफ्नो कन्सर्ट गरिसकेकी छिन् । यस्तै युएईको दुवाईमा र कतारमा दुई पटक कन्सर्ट गरिसकेकी यि गायिकाको कथन छ । यस्तै आफुले बु्रनाई, सिंगापुर, कोरियाजस्तमध्यपूर्वी एशियाली देशमा पनि आफ्नो सांगीतिक प्रस्तुति दिईसकेकी उनले बताईन् ।

‘हामीले हाम्रा गीत संगीत र नेपाली संस्कृतिलाई विदेशमा प्रस्तुत त गर्छौं नै, त्यहाँबाट त्यत्तिकै मात्रामा रेमिट्यान्स पनि नेपालमा भित्राउने गरेका छौं ।’ गायिका सत्यकलाले भनिन् । त्यसैले कलाकार भनेका सांस्कृतिकक दुतसंगै आर्थिक रुपमा मुलुकलाई समृद्ध बनाउने अर्थका सम्वाहक पनि भएको यी गायिकाको कथन छ ।
गायन यात्राको यो दुई दशकमा यी गायिकाले करिब एक हजारवटा गीतमा आफ्नो स्वर भरिसकेकी छिन् । २०७२ को भूकम्पपछि छोराछोरी हुर्काउने क्रममा उनले केही वर्ष विदेश यात्रा गर्न पाईनन् । सत्यकला कोभिडपछि बेलायतबाट कार्यक्रमको प्रस्ताव आएको भए पनि बल्ल आफ्नो सांगीतिक कार्यक्रम लिएर यसपटक बेयालत यात्रामा निक्लिएकी हुन् । यस अघि उनी संयुक्त राज्य अमेरिका गएकी थिईन् । अहिले छोरीहरु ठुलाई भईसकेकाले विदेशमा कन्सर्ट गर्नजान सजिलो भएको पनि यी गायिकाले बताएकी छिन् ।
सत्यकला राई, बिदेशसँगै नेपालमा पनि त्यत्तिकै धेरै सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने पूर्वेली गायिकाको रुपमा परिचित छन् । आधा दर्जन भन्दा बढी गीति संग्रह र दर्जन चलचित्रमा गीत गायिसकेकी यी गायिका मंसिरदेखि चैतमा नेपालमा वर्षेनी डेढ दर्जन भन्दा बढी मेला महोत्समा आफ्नो प्रस्तुति दिने गरेको बताउँछिन् ।
‘केही वर्ष यतबाट मेला महोत्सबको क्रम बढेको छ । पूर्वमा हुने अधिकांस महोत्सबमा त निम्त आउँछ नै, पश्चिमदेखि सुदुरपश्चिमसम्मका महोत्सबहरुमा पनि बेला बखतमा गीतसंगीत प्रस्तुत गर्दै आएकी छु,’ यी गायिकाले राजधानीसँग भनिन् ।
गायक गायिकाहरुको लागि मुख्य आम्दानी नै स्टेज कार्यक्रमको सांगीतिक प्रस्तुति हुने गरेको सत्यकलाको भनाई छ । आफुले बिदेशमा सांगीतिक कार्यक्रम गरेर मात्रै अहिलेसम्म डेढ करोड भन्दाबढी रुपैयाँ नेपालमा भित्राईसकेको पनि उनले बताएकी छिन् । एक पटक बिदेशमा प्रस्तुत गरेर आएपछि दुई चार महिना खर्चको अभाव नहुने पनि उनको कथन छ ।