मकवानपुर । बागमती प्रदेश सरकारले चितवन जिल्लामा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि १० करोड रुपैयाँ बजेट दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रंगशाला निर्माणका लागि वार्षिक बजेट कार्यक्रममा समावेश भए अनुसार १० करोड रुपैयाँ बजेटको अख्तियारी दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले अनुसार भरतपुर महानगरपालिका र बागमती सरकारको साझेदारीमा निर्माण भइरहेको उक्त रंगशाला निर्माणका लागि अनुदानका रूपमा १० करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई अख्तियारी दिने निर्णय गरेको हो ।
उक्त रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकारले ७० प्रतिशत र भरतपुरले ३० प्रतिशत लागत साझेदारी गर्ने सहमति २३ माघ २०८० मा बसेको मन्त्री परिषदको बैठकले बजेट स्वीकृत गरेको थियो । सोही अनुसार गत आर्थिक वर्षको २३ असार २०८१ मा १ करोड ८० लाख बजेट प्रदान गरेको थियो । रंगशाला निर्माणमा कुल ८० करोड लागत स्टमेट रहेको छ । जस अनुसार प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि ५२ करोड ५० लाख बजेट प्रदान गर्ने छ ।
रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का आह्वान गर्न स्वीकृति प्रदान गरेको थियो । बागमती प्रदेश सरकार र भरपुर महानगरपालिका चितवनले रंगशाला निर्माण गर्ने गरी २१ कार्तिक २०८० मा सम्झौता गरिएको थियो ।
रंगशाला निर्माण गर्दाको ऋणको जिम्मा भने संघीय सरकारलाई नै छोड्ने गरी प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गरी तत्काल निर्माण गर्ने गरी सम्झौता भएको हो । भरतपुर महानगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ र भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछन् ।
चितवनको भरतपुर नगरपालिकामा रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा रोकिएको थियो ।
मन्त्री परिषदको थप निर्णयः
विहीबार बसेको मन्त्री परिषदको निर्णयले प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सिटीइभिटी) को प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी शान्ति लामालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका–४ की लामालाई प्रदेश सिटीइभिटीको कार्यकारी निर्देशक नियुक्त गरेको हो । प्रमुख कार्यकारी निर्देशकमा नियुक्त भएकी लामा नेपाली कांग्रेस नुवाकोटको महाधिवेशन समिति सदस्य छिन् भने २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले खुल्ला प्रतिस्पर्धा मार्फत दरखास्त आव्हान गरी परीक्षा तथा अन्तरवार्ता समेत सम्पन्न गरेर नियुक्तिका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरेको थियो । मन्त्रालयका सचिव बद्रीनाथ गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले प्रमुख कार्यकारी निर्देशकका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरेको थियो ।
यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख कार्यालयको सबलीकरणका लागि १० लाख रुपैयाँ अख्तियारी दिने निर्णय गरेको छ । यस्तै प्रदेश औद्योगिक तथा व्यवसाय ऐनलाई संशोधन गर्न बनेको विधेयक, प्रादेशिक व्यापार तथा व्यवसाय ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गराउने निर्णय गरेको छ भने अपांगता भएका व्यक्तिहरूको सशक्तीकरणका कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति मापदण्ड, तामिल सञ्चालन कार्यविधि, प्रविधि हस्तान्तरण कार्यविधि, प्रदेश नीति तथा योजना आयोगको वार्षिक आयोजना छनौट कार्यविधि संशोधनका लागि मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयक तर्जमाका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।
मकवानपुरमा हवाइ फायर गरियो
मकवानपुरको हेटौंडामा ५ राउन्ड हवाई फायर गरिएको छ । हेटौंडा–५ र हेटौंडा–८ को सिमानामा गैँडाको खाग तस्करलाई पक्राउ गर्न हवाई फायर गरिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको टोलीले हवाई फायर गरि गैँडाको खाग सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाउको छ । घटनाको विस्तृत विवरण निकुञ्ज मार्फत गर्ने गरी तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विशेष सुराकीको आधारमा तस्कर पक्राउ गर्न २ वटा सवारीमा ७–८ जना सेनाको टोलीले हेटौंडा आएका थिए । तस्कर भाग्न खोज्दा हवाई फायर गरिएको मकवानपुर प्रहरीले बताइएको छ ।