काठमाडौं । आगामी फागुनमा रिलिजको लक्ष्य राखेका निर्देशक सुदीप भुपाल सिंहले आफ्नो नयाँ चलचित्र श्री बुकुरो ः द होम कलिङको टिजर बिहिबार सार्वजनिक गरेका छन् । यो चलचित्रबाट उनी ७ बर्षपछि निर्देशनमा फर्किएका हुन् । यसअघि भुपालले माला र रुद्रप्रिया जस्ता चलचित्रको निर्देशन गरेका थिए ।
यो चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको मुख्य भूमिका रहेको छ । फिल्म रेञ्जको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । अव वितरकसँग सल्लाह गरेको यसै साता चलचित्रको रिलिज मिति घोषणा गर्ने निर्देशक भुपालले बताएका छन् ।
चलचित्रको टिजरमा मुख्य कलाकार लक्ष्मी गिरीको पश्र्व सम्बादबाट कथा प्रस्तुत गरिएको छ । टिजरमा चलचित्रका मुख्य दुई पात्र लक्ष्मी गिरी र आर्शिवाद क्षेत्री गाउँ फर्किरहेको अबस्थालाई दर्शाईएको छ । यो चलचित्रको टिजर हेर्दा एउटा परिवारलाई केन्द्रमा राखेर यसको कथा प्रस्तुत गरिएको छ ।
सञ्जय लामा र राजेश श्रेष्ठले खिचेको यो चलचित्रको मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको हो । चलचित्रको गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत रहेको छ ।
यो चलचित्र पारिवारिक कथामा केन्द्रित रहेको भुपालले बताएका छन् । चलचित्रको कथा निर्देशक सिंह स्वयंले लेखेका हुन् । चलचित्रको निर्मातामा रुबी सेन सिंह रहेका छन् ।