काठमाडौं । अगाामी नयाँ वर्षमा रिलिज गर्ने भन्दै यतिबेला एकपछि अर्को चलचित्रको रिलिज मिति सार्वजनिक गरिएको छ । नयाँ वर्षको अबसर पारेर आगामी २९ चैतमा रिलिज हुने चलचित्रको सूचीमा अर्को नयाँ चलचित्र नरसिंहाः अवतार पनि थपिएको छ ।
आगामी २९ चैतमा रिलिजको घोषणा यस अघि तीन चलचित्रले गरिसकेका छन् । प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र पिताम्बर, समीर भट्टको मुख्य भूमिका रहेको चलचित्र बलिदान र विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र कर्मालाई पनि २९ चैतमै रिलिज गर्ने घोषणा यस अघि गरिएको थियो । यसरी आगामी नयाँ वर्षमा चार वटा नेपाली चलचित्र एकसाथ हलमा रिलिज हुने भएका छन् ।
नरसिंहाः अबतार अभिनेता राजेश हमाल र अभिनेत्री नीति शाहको यो महत्वकाँक्षी चलचित्र हो । यो चलचित्रलाई २९ चैतमा नयाँ वर्षको अवसर पारेर रिलिज गर्ने घोषणा यसका निर्माताले गरेका छन् । २९ चैत्रमा रिलिजको लागि वितरण कम्पनी र निर्माताबीच बुधबार सहमित भएपछि बिहिबार यसको रिलिज मिति सार्वजनिक गरिएको यसका निर्देशक दिवाकर भट्टराईले बताए ।
निर्देशक भट्टराईकै लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रबाट अभिनेता राजेश हमाल चलचित्र उधोगमा ८ वर्षपछि पछि फर्कँदै छन् ।
चलचित्र नरसिंहाः अवतारमा अभिनेता राजेश हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, नीर शाह, सरोज खनाल, राजीव मानन्धर, सुशान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत, प्रकाश कुँवर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ ।
यो चलचित्रको निर्मातामा नेम महर्जन, दीपक शर्मा ढकाल, धु्रव न्यौपाने र नरेन्द्र महर्जन रहेका छन् । यो चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभरका हलमा वितरण गर्दैछन् ।